भदौसम्म ४० हजार संक्रमित पुग्दा कति चाहिन्छ आइसियू र भेन्टिलेटर?

सांकेतिक तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमित संख्या भदौसम्म पुग्दा ४० हजार हाराहारीमा हुनसक्ने प्रक्षेपण गरेको छ।

४० हजार संक्रमितका लागि कसरी स्रोत जुटाउने भन्ने रणनीतिका साथ अगाडि बढिरहेको मन्त्रालयको दाबी छ।

विश्वभर फैलिएको भाइरसको प्रकृति हेर्दा संक्रमण भएकामध्ये २० प्रतिशतमात्र अस्पताल भर्नामा गरेर राख्नुपर्ने र भर्ना भएका बिरामीमध्ये पनि ५ प्रतिशत आइसियुमा राख्नुपर्ने अवस्था आउने आँकलन छ। आइसियुमा भर्ना भएकामध्ये २ प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्ने विज्ञहरूले बताएका छन् ।

त्यसअनुरुप २ हजार बिरामीलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार दिने क्षमता रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीले २ हजार गम्भीर संक्रमितलाई उपचारका लागि स्रोत–साधन भएको दाबी गरे ।
चैत ११ सम्म देशभर ७ सय ७० भेन्टिलेटर र १ हजार ५ सय ५१ आइसियु बेड रहेको मन्त्रालयको तथ्यांक छ।

भाइरसबाट संक्रमण बढ्दै गएपछि उपकरणमा थप गरेको मन्त्रालयका डा. लोहनीले बताए। दुई महिनाको अवधिमा १ सय १९ भेन्टिलेटर, १ सय ५१ आइसियु बेड थप गरेको छ ।

‘यस अवधिमा प्रत्येक प्रदेशका २–२ अस्पतालमा ५ बेड आइसियु र २ वटा भेन्टिलेटर बनाउनका लागि निर्देशन दिएका थियौं,’ डा. लोहनीले भने, ‘त्यसै अनुरुप सबै अस्पतालमा उपकरण थप्ने काम भयो।’

कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ। बढ्दो संक्रमण दरले भोलिका दिनमा भयावह स्थिति आउने विज्ञहरूले औंल्याइरहेका छन्।
हालसम्म आइसोलेसन बेडसंख्या ६ हजार ६ सय ७१, आईसियू बेड संख्या १ हजार ७ सय २ तथा भेन्टिलेटर संख्या ९ सय रहेको छ ।

जनशक्ति अभाव-कन्ट्रयाक ट्रेसिङ हुन सकेन, ५ सय टिम निर्माण

नेपालमा माघ ९ मा पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो । आजसम्मको स्थिति हेर्दा ८ हजार ६ सय ५ जना कोरोना पुष्टि भएको छ।

हालसम्मका संक्रमितमध्ये ९८ प्रतिशतमा लक्षणविहीन पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे बताउँछन् ।
‘१५ देखि ४५ वर्षसम्मका संक्रमण दर बढ्दो रहेको छ,’ डा. पाण्डेले भने, ‘कुल संक्रमितमध्ये ९४ प्रतिशत बाहिरबाट आएकाहरू छन्।’

उनका अनुसार ६ प्रतिशत समुदायमा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमितको कन्ट्रयाक टे«सिङका लागिका देशभर १ हजार ७५ टिम बनाउन निर्देशन भएको डा. पाण्डेले बताए । ‘हालसम्म हेर्दा ५ सय हाराहारीमा टिम बनेको छ,’ डा. पाण्डेले भने, ‘जनशक्ति अभावका कारणले टिमले पूर्णता पाउन सकेको छैन।’

जनशक्ति अभावका कारण संक्रमितको कन्ट्रयाक टे«सिङमा समस्या भएको उनको भनाइ छ।

कोरोनाको परीक्षण बढाउनका लागि असार १५ गतेभित्र प्रत्येक दिन १० हजारका दरले पिसिआर परीक्षण दायरा बढाउने मन्त्रालयले जनाएको छ। निजी क्षेत्रको सहयोगमा दैनिक १० हजार स्वाब परीक्षण गर्न लागेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी गराए।

‘अहिले भएको जनशक्ति थपेर चौबिसै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिन्छ,’ उनले भने।

उनले निजी क्षेत्रबाट प्रतिदिन ३ हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने दाबी गरे।

कति छ स्वास्थ्य सामग्री?

स्वास्थ्य सेवा विभागका अनुसार पीसीआर रि–एजेन्ट ७२ हजार ५००, पीसीआर रि–एजेन्ट पोर्टेबल १हजार ८, आरडीटी ६४ हजार ६०९, आरएनए एक्ट्याक्सन पोर्टेबल १७ हजार ९८०, आरएनए एक्ट्याक्सन किट ३८ हजार ४४० र भीटीएम ३० हजार १४६ थान छ ।

एन ९५ मास्क २ लाख २८ हजार ४६९ थान र सर्जिकल मास्क ३३ लाख ९६ हजार बढी छ।

दैनिक ५ हजार टेष्ट गर्दा आरएनए एक्ट्याक्सन किट १९ दिन,पीसीआर रिएजेन्ट २१ दिनका लागि पुग्ने र भीटीएम १५ दिनका लागि पुग्ने विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिँहले बताए।

पाइप लाइनमा सामाग्रीहरुलाई पनि जोड्ने हो भने आरएनए एक्ट्याक्सन किट ५१, पीसीआर रिएजेन्ट ५५ र भीटीएम ५० दिनका लागि पुग्ने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय