दमकमा एक महिलामा कोरोना संक्रमण

पहिलो संक्रमित भेटिएको करिब दुई महिनापछि झापा दमककी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्थानीय २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन्।

पहिलो पटक दमकमा वैशाख १२ गते ६२ वर्षीय एक व्यक्तिमा कोरोना संकमण पुष्टि भएको थियो। उनी झापामा कोरोना पुष्टि हुने दोस्रो व्यक्ति थिए। कोरोना संक्रमण पुष्टि भएकी महिला दमककी दोस्रो संक्रमित हुन्। झापामा कोरोना संक्रमित हुने उनी पाँचौं महिला हुन्।

जेठ ३० गते कुवेतबाट नेपाल आएकी उनी ३१ गते दमक आइपुगेकी थिइन्। दमक नगरपालिकाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसार उनी क्वारेन्टाइनमा बसेकी थिइन्।

उनको असार २ गते स्वाब संकलन गरी परीक्षणका लागि बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा लगिएको थियो।

संक्रमित महिलालाई उपचारका लागि बिराटनगरको कोभिड १९ उपचार केन्द्रमा पठाइएको छ।

ति महिला विदेशबाट नेपाल आएर सिधैँ क्वारेन्टाइनमा बसेकाले समुदायले भने आत्तिन नपर्ने दमक नगरपालिकाका स्वास्थ्य अधिकृत बद्री बरालको भनाइ छ।

तर, दमकमा दुई महिनापछि दोस्रो संक्रमण देखिएकाले ढुक्क हुन नसकिने भन्दै स्थानीय देवी भट्टराईले चिन्ता व्यक्त गरे।

योसँगै झापामा संक्रमितको संख्या १८३ पुगेको छ । जिल्लाका थप चारजना संक्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म १३० जना निको भएर घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ४ हजार ६९४ पिसिआर र २ हजार ६९८ आरडिटि परीक्षण गरिएको छ। जसमध्ये तीन सय जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय