बुवाआमामा कोरोना छैन, १९ महिने शिशुमा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा कोरोना पोजेटिभ देखियो। ७ जिल्लामध्ये कास्कीको मादी गाउँपालिकाका २ जनामा पनि कोरोना पुष्टि भयो।

२ संक्रमितमध्ये ४१ वर्षे पुरुषको ट्राभल हिस्ट्री भएपनि १९ महिने शिशुको कुनै ट्राभल हिस्ट्री छैन। संक्रमित शिशुका बुवा भने १६ दिन पहिले भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। तर, उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

‘क्वारेन्टाइनमा भेट्न जाँदा सम्पर्कमा आउनुभयो कि भनेर स्वाब लिएका थियौं। त्यसमा आमाबुवाको नेगेटिभ आयो। बच्चामा कोरोना देखियो। यसबारेमा हामी पनि खोजी गरिरहेका छौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायाण प्रसाद सापकोटाले हेल्थपोस्टसँग भने।

संक्रमित शिशुका बुवा कोरोना नेगेटिभ आएपछि शुक्रबार घर फर्किएको उनले जानकारी दिए। सापकोटाका अनुसार संक्रमित शिशुकी आमा पनि लकडाउनपछि पालिकाबाट बाहिर गएकी छैनन्। संक्रमित शिशुको सम्पर्कमा आएकाको कन्ट्याक टे«सिङ गर्ने तयारी भइरहेको उनले बताए।

अर्का ४१ वर्षे संक्रमित पुरुष भारतको बम्बईबाट १९ दिन पहिले आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्। स्वाब पठाएको १२ दिनपछि दुवैमा कोरोना पोजेटिभ देखिएको हो। ४१ वर्षे संक्रमितसँगै आएका अर्का पुरुषमा भने कोरोना नेगेटिभ आएको अधिकृत सापकोटाले बताए।

उनले भने, ‘बम्बईबाट २ जनासँगै आउनुभएको हो। यहाँ पनि सँगै बस्नुभयो। तर अर्का पुरुषको पिसिआर नेगेटिभ आएको छ।’ मादी–९ का दुवै संक्रमितलाई पोखरास्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको अधिकृत सापकोटाले जानकारी दिए। मादी गाउँपालिकाले १२ वटै वडामा क्वारेन्टाइन बनाएको छ। ती क्वारेन्टइनमा अहिले १९ जना बसिरहेको अधिकृत सापकोटाले जानकारी दिए।

कास्कीका २ संक्रमितबाहेक गण्डकी प्रदेशमा शनिबार बिहान तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दी र स्याङ्जामा १÷१ जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितमध्ये बागलुङका १ संक्रमित महिला हुन् भने बाँकी ५६ संक्रमित पुरुष हुन्। गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितमध्ये वालिङका ५८ वर्षे संक्रमितको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय