संक्रमितको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई गण्डकी मेडिकल कलेजले क्वारेन्टाइनमा राख्यो

अस्पतालमा उपचार गराउन आएका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पनि कुनै सुरक्षासतर्कता नअपनाएको पोखराको गण्डकी मेडिकल कलेजले आफ्नो गल्ती सच्चाएको छ।

संक्रमितसँग प्राइमेरी कन्ट्याकमा रहेका ४ डाक्टर र ५ नर्सलाई अस्पतालले क्वारेन्टाइनमा राखेको हो। डाक्टरहरू घरमै सेल्फ क्वारेन्टाइनमा र नर्सलाई होस्टेलमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिइन्।

सुरुमा लापरबाही गरेको स्विकार गर्न आनाकानी गरेको अस्पतालले विरोधपछि गल्ती सच्चाएको हो। उपचारका लागि अस्पताल आएका स्याङ्जाका बिरामीमा कोरोना पुष्टि हुँदासमेत अस्पतालले लापरबाही ढाकछोप गरेको थियो।

अहिले इमरजेन्सी वार्ड सफाई गरेर स्यानिटाइज गरिएको अस्पतालका प्रशासन अधिकृत लक्ष्मण शर्माले जानकारी दिए।

‘सुरक्षाका सबै उपाय अपनाएर अस्पतालको इमरजेन्सी वार्ड सुचारु गरेका छौं,’ प्रशासकीय अधिकृत शर्माले भने, ‘यस्तो बेलामा अस्पताल सञ्चालन गर्नु झनै आवश्यक छ। त्यसैले इमरजेन्सी वार्ड राम्रोसँग स्यानिटाइज गरेर सञ्चालनमा ल्याइसकेका छौं ।’ स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्यप्रति अस्पताल प्रशासन गम्भीर रहेको उनले बताए।

मंगलबार साँझ स्याङ्जको हेलुबाट आएका ६३ वर्षे वृद्धमा कोरोना भाइरसका लक्षण थिए । उनलाई सोही दिन राति डिस्चार्ज गरिएको थियो। बुधबार विहान फेरि जिएमसीमा गएका उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको थियो। पिसिआर रिपोर्ट पोजेटिभ आएका ती संक्रमितमा श्वासप्रश्वासको समस्या भएपछि क्षेत्रीय अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय