कोरोना कहर : दाँत ब्रस गर्दा जान्नैपर्ने कुरा
बिरामी १ : डाक्टर’साब ब्रस कसरी गर्ने? मैले त मेसो नै पाउँदिन भन्या, सिकाइदिनुपर्यो लौन।
बिरामी २ : डाक्टर’साब, म दिनको दुईपटक ब्रस गर्छु तैपनि मेरो दाँत जहिले फोहोर नै हुन्छ। आफ्नो सफा दाँत नदेखेको पनि वर्षौं भइसक्यो जस्तो लाग्छ।
बिरामी ३ : अस्ति नै एकजना डाक्टर’साबले गाउँमा आको बेला दिनको दुईपटक दाँत माझ्नुपर्छ भन्नुभाथ्यो, बुरुस त गरियो कि डाक्टर’साब गिजा त भसक्कै तलतिर सरेर हैरान भाछु नि, तातोचिसो केही खान हुन्न।
अहिलेको समयमा त झन् कोरोनाको महामारी चलिरहेको छ। सबैजना बन्दाबन्दीको असरले घरमै थुनिएर बसेका छौं। खानपानमा परिवर्तन भएको छ। हाम्रा बानीबेहोरामा परिवर्तन आएको छ। दैनिकी नै अस्थिर भएको छ। यस्तो बेलामा मुख तथा दाँतको विशेष हेरचाह पुर्याउनु आवश्यक छ।
बिरामी ४ : डाक्टर’साब खाना खाएपछि बिहान बेलुकी १० मिनेट जति लगाएर ब्रस गर्छु तर दाँत सफै हुन्न के भा होला अचम्मै पर्छु भन्या म त!
बिरामी ५ : डाक्टरसाब मन्जन कस्तो प्रयोग गर्ने?
बिरामी ६ : डाक्टर भाइ बुरुस कति रुपियाँ खाले प्रयोग गर्ने भन्देन यार!
यी सबै बिरामीका समस्याहरू काल्पनिक हैनन्। हरेक दिनजसो बिरामीको मुखबाट सुनिने प्रतिनिधि समस्या हुन्। समस्या सुन्छु, एकफेर ब्रस गरेर देखाउन लगाउँछु अनि अचम्म पर्छु। हामी टायल सफा गरेझैं आवाज आउने गरेर पो ब्रस गर्दा रहेछौं। अचम्म छैन त कुरा। आफ्नो स्वास्थ्यको मामलामा हामी किन यति धेरै गैरजिम्मेवार?
अहिलेको समयमा त झन् कोरोनाको महामारी चलिरहेको छ। सबैजना बन्दाबन्दीको असरले घरमै थुनिएर बसेका छौं। खानपानमा परिवर्तन भएको छ। हाम्रा बानीबेहोरामा परिवर्तन आएको छ। दैनिकी नै अस्थिर भएको छ। यस्तो बेलामा मुख तथा दाँतको विशेष हेरचाह पुर्याउनु आवश्यक छ।
त्यसैले आज सिकौं कसरी ब्रस गर्ने, कस्तो टुथपेस्ट अनि कस्तो ब्रसको प्रयोग गर्ने।
राम्रोसँग दाँतमा ब्रस मिलाएर राखिसकेपछि ब्रसको सफा गर्ने भागलाई कम्पन गराउँदै अगाडि पछाडि गर्नुपर्दछ। यो प्रक्रियाका बेलामा सफा गर्ने ब्रसको भागलाई हल्लिन दिनुहुँदैन। कम्पनको सहायताले मात्रै सफा गर्नुपर्दछ। एकपटकमा बढीमा १५-२० कम्पन दिनुपर्दछ। यो भनेको १५-२० सेकेन्ड जति हो।
सामान्यतया सबैजसो बिरामीका लागि काम लाग्ने विधि भनेको बास तरिका (Bass Method) हो। यस विधिलाई प्रयोग गरेर राम्रोसँग ब्रस गरेमा गिजासम्बन्धी समस्याबाट बच्न सकिन्छ।
विधि
१) सबैभन्दा सुरुमा ब्रसको टाउकोलाई दाँतको चपाउने भागको समानान्तर हुने गरेर बाहिरी सतहमा राख्नुपर्दछ।
२) ब्रसको टाउको पट्टीको भागलाई ४५ डिग्रीको कोण बनाएर दाँत र गिजाको भागमा पर्ने गरेर राख्नुपर्दछ। दाँत माझ्नका लागि सुरुवात सबैभन्दा अन्तिमतिरको दाँतबाट गर्नुपर्दछ। एकपटकमा जम्मा ३ वा ४ वटा दाँतसम्म सफा गर्न सकिन्छ।
३) राम्रोसँग दाँतमा ब्रस मिलाएर राखिसकेपछि ब्रसको सफा गर्ने भागलाई कम्पन गराउँदै अगाडि पछाडि गर्नुपर्दछ। यो प्रक्रियाका बेलामा सफा गर्ने ब्रसको भागलाई हल्लिन दिनुहुँदैन। कम्पनको सहायताले मात्रै सफा गर्नुपर्दछ। एकपटकमा बढीमा १५-२० कम्पन दिनुपर्दछ। यो भनेको १५-२० सेकेन्ड जति हो।
४) यही प्रक्रिया अपनाएर सबै भित्री तथा बाहिरी भागमा सफा गर्नुपर्दछ। तलको दाँत सफा गर्दा तलतिर ४५ डिग्रीको कोण बनाउनुपर्दछ।
५) माथि र तलको अगाडिको भित्री भागमा सफा गर्दा छड्के बनाएर ब्रसको सफा गर्ने भागले तलमाथि गर्दै एक एक दाँत सफा गर्न सकिन्छ।
६) अन्तमा दाँतको चपाउने भागको सफाइ गर्नुपर्दछ।
नोट
– सफा गर्ने बेलामा औंलाहरूको बलमात्र ब्रसमा लगाउनुपर्दछ। पाखुराको बल लगाउनुहुँदैन।
– परिमार्जित तरिकाः माथिको विधि अपनाउँदा कम्पनको सहाराले सफा गरिसकेपछि कुचोले बढारेझैं गरेर माथिको दाँत सफा गर्दा तलतिर र तल तिरको दाँत गर्दा माथितिर गर्नुपर्दछ। यसले दाँतको माथिल्लो भाग पनि राम्रोसँग सफा गर्छ।
कति समय लगाएर ब्रस गर्ने?
माथिको विधि प्रयोग गरेर दिनको दुईपटक खाना खाइसकेपछि करिब २-३ मिनेट ब्रस गर्नुपर्दछ। धेरै बल लगाएर धेरैबेरसम्म गर्दा गिजा तलतिर सर्ने सम्भावना हुन्छ। जसले गर्दा पछि दाँतमा झन्झनाहट महसुस हुन थाल्छ साथै तातो-चिसो खान नसकिने हुन्छ।
कस्तो ब्रुस प्रयोग गर्ने?
नरम किसिमको ब्रुस प्रयोग गर्नुपर्दछ। कडा किसिमको ब्रुस प्रयोग गरेर लामो समयसम्म ब्रस गरियो भने दाँत घोटिएर खाल्डो पर्ने र दाँत सिरिङ सिरिङ गर्न थाल्दछ। साथसाथै गिजा तलतिर सर्न पनि थाल्दछ।
मन्जन कस्तो प्रयोग गर्ने?
फ्लोराइड भएको जुनसुकै किसिमको मन्जन प्रयोग गर्न सकिन्छ। तर पाउडर भने प्रयोग गर्नुहुँदैन किनकि पाउडरले दाँत खियाउन सक्छ। त्यसैले फ्लोराइडयुक्त पेस्टको प्रयोग गर्नुपर्छ।
कसले प्रयोग गर्न हुँदैन यो (Bass method) विधि
– भर्खरै गिजासम्बन्धी शल्यक्रिया गरेका बिरामीहरू
– गिजा तलतिर सर्दै गएका मानिसहरू
(किनकि त्यस्तो अवस्थामा अरु नै विधिले ब्रस गर्नुपर्ने हुन्छ)
अन्तमा, उपयुक्त विधिको प्रयोग गरेर दिनको दुईपटक खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्नुपर्दछ। आफ्नो मुखको स्वास्थका लागि जम्मा २-३ मिनेट समय दिन कन्जुस्याइँ गर्नुहुँदैन। यो कुरा सधैं ख्याल राख्नुपर्दछ। मुख स्वस्थ भएमा मात्रै सम्पूर्ण शरीर पनि स्वस्थ हुन्छ। स्वस्थ रहौं, खुसी रहौं र सुखी रहौं।