पिसिआर परीक्षणका लागि किट ल्याउदै गरेको गाडी जाममा फस्यो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण रोकिएको छ। करिब ४ हजार जति संकलित स्वाब परीक्षणको काम रोकिएपछि क्वारेन्टाइनमा बसेका नागरीकहरूको पनि स्वाब निकाल्ने काम रोकिएको हो।
‘रिएजेण्ट किटको अभावमा गएरातीदेखि पिसिआर परीक्षण रोकिएको हो, किट नआएसम्म परीक्षण सुरु हुने अवस्था छैन,’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रशासकीय अधिकृत झंकार लामिछाने भने,‘किट नहुँदा समस्या भयो।’
बिहिबार साँझ काठमाडौंबाट हिँडेको सामान अझै आइनपुगेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार राजमार्गमा आएको पहिरोका कारण पिसिआर रिएजेण्ट किट बोकेको गाडी जाममा परेको हो।
संघीय स्वास्थ्य मन्त्रालयले ट्रान्सपोर्टको गाडीमा पठाएको किट सडकमा पहिरो खसेका कारण रोकिएको बताइएको छ। ‘पिसिआर किट जस्तो सामग्रीहरू कार्गो गाडीमा पठाउनु र समयमै आइनपुग्नु अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो, नागरीकको स्वास्थ्यसेवामा खेलवाड हो,’ दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले भने, ‘अत्यावश्यक सामग्री हेलिकोप्टरबाटै पठाएको भए राम्रो हुने थियो।’
काठमाडौंबाट बिहिबार साँझ हिँडेको गाडी मुग्लीन नारायणघाट सडक खण्डको जलवीरेमा खसेको पहिरोले घन्टौं रोकिएको थियो। सयौं अन्य ट्रकहरूबीचको जाममा पहिरो हटाइए पनि एक किलोमिटर अघिसम्म पुग्न करिब तीन घण्टा लागेको किट बोकेर आउँदै गरेको गाडीका चालक विनोद भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार अत्यधिक जामका कारण मुग्लीन नारायणघाट सडक खण्ड पार गर्न करिव १७ घण्टा लागेको थियो।
पिसिआर रिएजेण्ट किट बोकेको गाडी लमहीसम्म आइपुग्ने र लमहीबाट उनले ल्याएका किट बक्स राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिसिभ गर्ने बताइएको छ।