८३ हजार मानिस क्वारेन्टाइनमा, ८ भेन्टिलेटरको भर

सुदूरपश्चिममा भारतबाट १५ दिनमा एक लाख बढी नागरिक भित्रिएका छन्। प्रदशभर निर्माण गरिएका १ हजार ९ सय ९७ क्वारेन्टाइनका ८३ हजार १ सय ९८ वेड भरिभराउ भएका छन्। हेक दिन ५० भन्दा बढी नागरिकमा कोरोना पुष्टि भइरहँदा संक्रमितको उपचारका लागि भने न्युन मात्रै उपकरण रहेका छन्।

हालसम्म सुदूरपश्चिम प्रदेशमा जम्मा ८ वटा भेन्टिलेटर छन्। यस्तै आइसियु वेडको संख्या १४ मात्रै छ। भेन्टिलेटर र आइसियु वेड कैलाली र कञ्चनपुरमा मात्रै रहेका छन्।

पहाडी जिल्लाको हातल उस्तै छ। हालसम्म आइसोलेसन वेडकै भरमा कोरोना संक्रमितको उपचार भइरहेको छ। आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएकालाई महाकाली अस्पताल वा सेती प्रादेशिक अस्पतालमा पठाउनुको विकल्प छैन।

सुदूरपश्चिम प्रदेश स्वास्थय निर्देशनालयको तथ्याङ्क अनुसार हालसम्म सेती प्रादेशिक अस्पतालमा १० वटा आइसियु वेड छन्। यस्तै महाकाली अस्पतालमा ४ वटा आइसियु वेड मात्रै छन्। सेती प्रादेशिक अस्पतालमा जम्मा ६ वटा भेन्टिलेटर रहेकोमा महाकाली अस्पतालमा २ वटा छन्। यस बाहेक सुदूरपश्चिमका कुनै पनि स्वास्थ्य संस्थामा भेन्टिलेटर वा आइसियुको व्यवस्था छैन।

कोरोना महामारी अघी सेती प्रादेशिक अस्पतालमा ५ वेड र महाकाली अस्पतालमा तीन वेड मात्रै आइसियु कक्ष थिए। अन्य अस्पतालमा भने आइसियू वेड उपलब्ध थिएन र अहिले पनि छैन।

स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीका अनुसार कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा थप ५ आइसियु वेड निर्माण गरिएको छ भने महाकाली अस्पतालमा थप दुई वेड निर्माण भएका छन्।

अवस्थीका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेश भर तीन सय ३० आइसोलेसन वार्ड निर्माण गरिएका छन्। जसमध्य सेती प्रादेशिक अस्पतालमा ७४, महाकाली अस्पतालमा ३३, टिकापुर अस्पतालमा २५, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा ४, चौमाला प्राथमिक स्वास्थ्यकेन्द्रमा ५, जिल्ला अस्पताल अछाममा १७ बयलपाटा अस्पताल अछाममा १३, जिल्ला अस्पताल बझाङमा २५, जिल्ला अस्पताल डोटीमा १०, जिल्ला अस्पताल बैतडीमा ८, गोकुलेश्वर अस्पताल दार्चुलामा ४ जिल्ला अस्पताल दार्चुलामा १३, जिल्ला अस्पताल बाजुरामा १२, बाजुरा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २, डडेलधुरा अस्पतालमा ४०, जोगबुडा अस्पताल डडेलधुरामा ८, सुदूरपश्चिम प्रहरी अस्पतालमा तीन र मालाखेती अस्पतालमा २० आइसोलेसन वेड रहेका छन्।

स्वास्थय निर्देशक डाक्टर अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कारोना रोगको उपचारका लागि अवस्था अनुसार स्वास्थ्यकर्मी खटाइने गरेको छ। ‘अस्पतालमा विरामीको चाप कहिल्यै बढ्ने र घट्ने भइरहेको हुन्छ,’ निर्देशक अवस्तीले भने, ‘सम्बन्धित अस्पतालले सोही अनुसार स्वास्थ्यकर्मिको व्यवस्थासमेत गर्ने गरेको छ।’

उनले तत्कालै भेन्टिलेटर र आइसियु वेडको संख्या थप गरी कोरोनाको उपचारमा सहजता ल्याउने योजना रहेको बताए। ‘प्रदेश सरकारले आइसियु र भेन्टिलेटर वार्ड थप गर्नका लागि आवश्यक बजेट विनियोजन समेत गरेको छ,’ अवस्थाले भने, ‘हामीले त्यसको तयारी गर्दै छौं।’ प्रदेशभर हाल उपलब्ध उपकरणबाट भने कोरोनाका विरामीलाई सेवा दिन समस्या भइरहेको उनले बताए।

हाल सम्म सुदूरपश्चिममा सवैभन्दा बढी कैलालीका एक सय ४६, कञ्चनपुरमा ७५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६६, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय