राप्ती प्रतिष्ठानमा पिसिआर मेसीन थपियो, अब दैनिक एक हजार स्वाब परीक्षण हुने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा थप एक पिसिआर परीक्षण मेसीन सञ्चालनमा आएको छ। यससँगै अब प्रतिष्ठानमा दैनिक एक हजार जनासम्मको स्वाव परीक्षण गर्ने भएको छ।

नयाँ मेसिन बुधबार रातिदेखि सञ्चालनमा आएको प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्।

‘प्रतिष्ठानमा सिसिआर मेसिन थप भएको छ, अब सिफ्ट अनुसार मेसिन चलाइने छ,’ रजिष्ट्रार देवले भने, ‘अब दुई वटा मेसिन सञ्चालनमा आएपछि दैनिक ९ सयदेखि एक हजारसम्म स्वाब परीक्षण गरिनेछ।’यस अघिसम्म प्रतिष्ठानमा दैनिक बढिमा चारदेखि पाँच सय नमूना परीक्षण हुँदै आएको थियो।

नयाँ मेसिन जडानसँगै प्रतिष्ठानमा परीक्षणको पर्खाइमा रहेका स्वाब नमुनाहरू चारदिनभित्रै परीक्षण भैसक्ने बताइएको छ। उनका अनुसार प्रतिष्ठानमा करीब ४ हजार नमूना परीक्षण हुन बाँकि रहेको छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, प्युठान, कपिलबस्तु, बाँके, बर्दियासम्मका स्वाबहरू परीक्षणको प्रक्रियामा रहेका रजिष्ट्रार देवले जानकारी दिए।

उनका अनुसार दैनिक करीब ८ सयदेखि एक हजारसम्म व्यक्तिहरूको स्वाब परीक्षणका लागि आउने गरेको छ। एउटै मेसिनबाट परीक्षण गर्दा ढिलाई भएको थियो। जसले गर्दा क्वारेन्टाइनमा सबेका व्यक्तिहरू घर जान थालेका थिए। तर, अब त्यो समस्या जिल्लामा नदेखिने प्रतिष्ठानले जनाएको छ।

‘पहिले परीक्षणका लागि स्वाव धेरै आउने तर परक्षण कम हुदाँ समस्या देखिएको थियो,’ रजिष्ट्रार देवले भने, ‘अब दुई वटा मेसिनबाट स्वाब परीक्षण हुने भएकाले विगतको समस्या दोहोरिने छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय