सुदूरपश्चिमका तीन जिल्लामा थपिए १ सय ३७ कोरोना संक्रमित
सुदूरपश्चिम प्रदेका तीन जिल्लामा थप १ सय ३७ कारोना संक्रमित फेला परेका छन्।
राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा प्रदेशका तीन जिल्लाका थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितहरुमा डडेल्धुराका ८३, अछामका २९ र बैतडीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएका २५ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको बताए। उनका अनुसार दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना, पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको छ।
नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्। योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको कार्यालय प्रमुख भट्टले बताए।
यसै गरी अछाममा २९ जनामा कोराना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका छन्।
डडेल्धुरा जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरीप्रशाद भट्टले बताए। योसँगै जिल्लामा कोरोना संक्रमतिको संख्या एक सय २२ पुगेको छ। सुदूरपश्चिमबाट दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो।