भिटिएम अभाव हुँदा तीन दिनदेखि स्वाब संकलन भएन

सुदूरपश्चिम प्रदेशमा भिटिएम अभावका कारण तीन दिनदेखि स्वाब संकलन रोकिएको छ।

कोरोना संक्रमण पुष्टि गर्न संकलन गरिने स्वाब व्यस्थापनका लागि आवश्यक पर्ने भिटिएम किट नभएका कारण तीन दिनदेखि नयाँ व्यक्तिको स्वाब संकलन नगरिएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

स्वाब संकलन भई कोरोना परीक्षण गर्न बाँकी रहेका केही नमूनाको सोमबार र मंगलबार परीक्षण गरिएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘तत्कालै भिटिएम किटको व्यवस्था नभए एक/दुई दिनमै कोरोना परिक्षण बन्द गर्नुपर्ने अवस्था आएको छ।’ भिटिएम अभाव भएको बारेमा प्रदेशको सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयमा जानकारी गराइसकेको उनले बताए।

कोरोना परीक्षणका लागि प्रदेशकै एकमात्र ल्याब पनि बन्द हुने अवस्थामा पुगेपछि सुदूरपश्चिमका ९ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा बसेका नागरिकलाई चेकजाँचबिनै घर पठाउनुपर्ने बाध्यता छ। ‘तत्कालै क्वारेन्टाइनमा रहेका नागरिकको स्वाब संकलन गरी परीक्षण गर्न आग्रह गर्दा कसैले सुन्दैनन्,’ छबीस पाथिभेरा गाउँपालिका बझाङका अध्यक्ष अक्कल धामीले भने, ‘लामो समयसम्म नागरिकलाई क्वारेन्टाइनमा राख्दा व्यवस्थापनमा समस्या हुन थालेपछि परीक्षणबिना नै घर पठाउने गरेका छौं।’

पुरानालाई लामो समयसम्म क्वारेन्टाइनमा राख्दा बाहिरबाट नयाँ आएका नगरिकलाई राख्ने, खुवाउने व्यवस्था गर्न नसकिने अवस्था आएको उनले बताए।

‘सीमित स्राेतसाधनका भरमा हामीले क्वारेन्टाइन निर्माण गरेका छौं,’ उनले भने, ‘त्यस्तो अवस्थामा नागरिकलाई महिनौंसम्म राख्न सकिँदैन’, अध्यक्ष धामीले भने, ‘बाध्य भएर स्वास्थ्य परीक्षणबिना नै नागरिकलाई घर पठाउनुपर्ने बाध्यता छ।’

सरकारले समयमै क्वारेन्टाइनमा रहेका नागरिकको स्वास्थ्य परीक्षण नगर्दा बाजुराको बुढीगंगा नगरपालिकामा रहेका ६२ जनालाई घर पठाइएको थियो। एउटै क्वारेन्टाइनमा बसेका १९ जनामा कोरोना संक्रमण पुष्टि हुँदासमेत व्यवस्थापनमा समस्या भएपछि नगरपालिकाले ६२ जना नागरिकलाई स्वास्थ्य परीक्षणको रिपोर्ट नै नपर्खेर घर पठाएको थियो।

बुढीगंगा नगरपालिका धुरालसैन माविको क्वारेन्टाइनमा रहेका ६२ जनाकाे रिपोर्ट नआउँदै घर पठाएको हो।  उनीहरू सँगै बस्ने २ वर्षीया बालिकको मृत्यु हुनासाथै १८ जनामा भने कोरोना रिपोर्ट पाजेटिभ आएको थियो। यसरी संक्रमित सँगै बसेका नागरिकमा कोरोना पुष्टि हुँदा केही मानिसलाई घर पठाइँदा गाउँका मानिस भने त्रसित बन्न थालेका छन्।

क्वारेन्टाइनमा आएका मानिस गाउँमा आएर होम क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि त्यसो नगरी गाउँमा निर्धक्क घुमिरहेका कारण गाउँमा कोरोना फैलिने त्रास बढेको बुढीगंगा नगरपालिका–१ का राम थापाले बताए।

बुढीगंगा नगरपालिका नगर प्रमुख दीपकविक्रम शाहले क्वारेन्टाइनमा बसेका नागरिकलाई लामो समयसम्म राख्न नसकिने अवस्था आएपछि घर पठाउनुपरेको बताए।

सोमबार मात्रै कञ्चनपुरको लालझाडी गाउँपालिकाका १९ जनालाई पनि स्वास्थ्य परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएको थियो। यद्यपि उनीहरूको स्वाब संकल गरिएको भए पनि परीक्षणको नजिता आउन निकै समय लागेको भन्दै उनीहरूलाई घर पठाइएको थियो।

गाउँपालिका अध्यक्ष मदनसिंह बडायकले क्वारेन्टाइनमा रहेका नागरिकको व्यवस्थापन गर्न समस्या भएपछि रिपोर्ट नआउँदै घर पठाउनुपरेको बताए। ‘उनीहरूसँगै बसेका केही व्यक्तिमा कारोना पोजेटिभ देखिएको थियो,’ अध्यक्ष बडायकले भने, ‘तर सबैलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न सकेनौं। घर पठाउनुपर्ने बाध्यता भयो।’

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने भिटिएम किट उपलब्ध गराउने काम संघीय सरकारलेनै गर्दै आएका कारण केही समस्या भएको बताए। ‘हामीले सहजीकरण गर्दै समस्या नआउने वातावरण तयार पार्ने हो,’ कार्कीले भने, ‘सो काम हामीले गरिरहेका छौं, एक दुईदिनमै प्रदेशमा भिटिएम उपलब्ध हुने जानकारी पाएका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय