पोखराका ६ सय ८० सुत्केरीलाई पौष्टिक आहार, साढे १३ लाख खर्च

पोखरा महानगरपालिकाले लकडाउनमा सुत्केरी भएका ६ सय ८० महिलालाई पौष्टिक आहार वितरण गरेको छ। चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिनसम्मका महिलालाई महानगरले पौष्टिक आहार बाँडेको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन्। उनका अनुसार लकडाउन खुकुलो भएसँगै असार १ गतेदेखि उक्त कार्यक्रम रोकिएको छ।

लकडाउनमा महिलाहरु माइतीघर जान नपाउने र आफ्नाहरु आउन नपाउने भएकाले अभिभावकीय जिम्मेवारी स्वरुप महानगरले पौष्टिक आहार वितरण थालेको थियो।

महानगरले सुत्केरीलाई १ किलो घिउ, १ किलो हरलिक्स, १ लिटर तेल, एउटा साबुन र नगद ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। पौष्टिक आहार वितरण कार्यक्रमका लागि १३ लाख ६० हजार रुपैयाँ खर्च गरेको भण्डार शाखाका कर्मचारी रेवती भण्डारीले जानकारी दिए।

महिलालाई छुट्टै क्वारेन्टाइन

पोखरा महागनरपालिकाले विदेशबाट आउने महिलालाई राख्न छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ। ५० जना राख्न सक्ने क्षमता भएको पोखरा ३ को बुद्ध हस्पिटललाई महानगरले महिला क्वारेन्टाइन बनाएको हो।

महिला/पुरुषलाई सँगै राख्दा बलात्कारका घटना सार्वजनिक भएपछि महानगर हच्किएको हो। ‘महिला/पुरुषलाई एउटै ठाँउमा राख्दा बलात्कार लगायतका थुप्रै कुरा बाहिर आएका छन्,’ उपप्रमुख मन्जुदेवी गुरुङले भनिन्, ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेका छौं।’

उपप्रमुख गुरुङ, पोखरा ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजु, महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइराला सहितको टोलीले बुधबार उक्त अस्पतालको अनुगमन गरेको छ।

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत महिला राखिने उपप्रमुख गुरुङले बताइन्। परिवार सहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने व्यवस्था गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय