अस्पताल भन्छ- ९० वर्षे संक्रमितको अवस्था खतरामुक्त छ

पोखराका ९० वर्षे कोरोना संक्रमितको अवस्था सामान्य रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ। स्याङ्जाको वालिङ घर भई पोखरा १४ भेंडीफार्म बस्दै आएका वृद्धमा मंगलबार कोरोना पुष्टि भएको थियो।

क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले हेल्थपोस्टसँग भने, ‘९० वर्षका बुवाको अवस्था चिन्ता लिनुपर्ने खालको छैन। खाना खाइरहनुभएको छ।’

२६ जेठमा उपचारका लागि पोखरा पृथ्वीचोकस्थित सामुदायिक अस्पतालमा पुगेका उनमा ज्वरो देखिएपछि स्वाब परीक्षणका लागि पठाउँदा कोरोना पोजेटिभ आएको हो। संक्रमित वृद्ध कोरोनाबाट मृत्यु भएका वालिङका ५८ वर्षे पुरुषसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा बसेका थिए।

ती वृद्ध ज्वरो आएपछि २२ जेठमा क्षेत्रीय अस्पताल भर्ना भएका थिए। सोही दिन वालिङ ३ घर भएका ५८ वर्षे पुरुष पनि उपचारका वालिङबाटै पोखरा आएका थिए। दुवैलाई ज्वरो आएपछि क्षेत्रीय अस्पतालले कोरोनाको रिपोर्ट नआउँदासम्म शंकास्पद भन्दै प्रिआइसोलेसनमा राखेको थियो।

वालिङका पुरुषमा २५ जेठमा कोरोना पोजेटिभ देखिँदा सँगै बसेका ९० वर्षे वृद्धको भने रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमण नदेखिएपछि २५ जेठमै उनी घर फर्किएका थिए। तर भोलिपल्ट ज्वरो आएपछि पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल गए।

ती वृद्धसहित क्षेत्रीय अस्पतालको आइसोलेसनमा ९ संक्रमित उपचारत छन्। उपचाररत ९ जनाकै स्वाब परीक्षणका लागि बुधबार नै प्रयोगशाला पठाइएको छ। ‘९ जनाकै स्वाब संकलन गरेर पठाएका छौं। १/२ दिनमा रिपोर्ट आउला, नेगेटिभ आउनेलाई घर पठाउँछौं,’ सूचना अधिकारी आचार्यले भने।

क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गराउनेमा कास्कीको रुपा गाउँपालिकाका २ सहित पोखरा २७, ३०, ९ र १४ नम्बर वडाका पुरुष छन्। पोखरा–१४ का संक्रमित ९० वर्षे वृद्धबाहेक अरु संक्रमित २१ देखि ५९ वर्ष उमेर समूहभित्रका छन्। पोखराको उक्त आइसोलेसनमा उपचार गराउनेमा ३ संक्रमित बाहिरी जिल्लाका छन्।

दुर्घटनापछि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउन आएका पर्वतको कुश्मा ३ का ३५ वर्षे युवकमा ३० जेठमा कोरोना पुष्टि भएपछि उनको यहीँ उपचार भइरहेको छ। अर्का २ संक्रमितलाई भने श्वासप्रश्वासमा समस्या भएपछि स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालबाट २८ जेठमा पोखरा रेफर गरिएको हो।

६५ जनाको स्वाब संकलन

पोखराका ९० वर्षे कोरोना संक्रमितको सम्पर्कमा आएका ६५ जनाको स्वाब संकलन गरिएको छ। संक्रमित उपचार गराउन पुगेको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी र परिवारका सदस्य गरी ६५ जनाको स्वाब संकलन गरिएको हो।

‘प्रारम्भिक ट्रेसिङ गर्दा ६५ जना सम्पर्कमा आएको देखिएको छ। त्यसमा ५३ जना अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायतका कर्मचारी हुनुहुन्छ। बाँकी १२ जना परिवारका सदस्य हुनुहुन्छ,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने।

पोखरासहित गण्डकी प्रदेशमा अहिलेसम्म २ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। प्रदेशको २ जिल्ला मनाङ र मुस्ताङबाहेक ९ वटै जिल्लामा संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय