विकटमा रमाएका एक सेवानिवृत्त डाक्टर

डा. न्हुच्छे डंगोल। नेपाली चिकित्सा क्षेत्रको एक स्थापित नाम हो। जसले चिकित्सा क्षेत्रमा जीवनका ४० वसन्तबहार बिताएका छन्।

उमेरले ६० पुगेका उनी असार १ गते जागिरबाट सेवानिवृत्त भए। तर, त्यही जोशमा सेवा गर्ने इच्छा भने उस्तै छ। भन्छन्, ‘बाँकी जीवन पनि सेवामै बिताउँछु।’

उनलाई पैसा कमाएर सम्पन्न हुने रहर कहिल्यै भएन। मनमा हुटहुटी हुन्थ्यो त कसरी जनतालाई स्तरीय स्वास्थ्य सेवा दिने। त्यसैले त उनी देशका दूरदराजका बस्तीमा पुगेर सेवा प्रदान गरिरहे। र, त्यतै रमिरहे।

४० वर्ष अनवरत सेवा गरेकाले डा. डंगोल केही महिना आराम गर्ने सोचमा छन्। त्यसपछिको समय उनी फेरि कुनै न कुनै रूपमा सेवामा फर्किने छन्। जसलाई उनी आफ्नो कर्म र धर्म मान्छन्।

चिकित्सा सेवालाई धर्म मान्ने डा. डंगोल थप जीवन पनि जनताको पीडामा मलम लगाउन चाहन्छन्।

‘सेवा नै मेरो आत्मसन्तुष्टिको आधार हो। निको भएका बिरामीको ओठमा एकसरो मुस्कान देख्दा मलाई निकै खुसी महसुस हुन्छ। मानिसको जीवन रक्षामा मिलेको आत्मसन्तुष्टि ठूलो हो,’ डा. डंगोलको भोगाइ छ।

४० वर्ष अनवरत सेवा गरेकाले डा. डंगोल केही महिना आराम गर्ने सोचमा छन्। त्यसपछिको समय उनी फेरि कुनै न कुनै रूपमा सेवामा फर्किने छन्। जसलाई उनी आफ्नो कर्म र धर्म मान्छन्।

गाउँमा रम्ने डाक्टर

डा. डंगोललाई सहरमै रमौं भन्ने कहिले लागेन। उनलाई सुदूरका जनताको स्वास्थ्य अवस्थाले सधैं पिरोलिरहेको हुन्थ्यो। त्यसैले उनी सहरभन्दा गाउँमै सेवा प्रवाह गर्न चाहन्थे। र, त्यसैमा असीमित खुसी भेट्टाउँथे।

दूरदराजका सर्वसाधारण तथा बिरामीले सेवा लिन सहर आउनुपर्ने बाध्यता अझै पनि छ। उपचारकै लागि सहर धाउनुपर्ने अवस्थाले उनको मन छुन्थ्यो। कट्कटी बिझ्थ्यो। त्यसैले उनले सेवाका लागि दुर्गम क्षेत्र नै रोजे।

सुर्खेतमा रहेर सेवा गर्दा कर्णालीका जनता सयौं माइल टाढाबाट उपचारकै लागि त्यहाँ पुग्ने गरेको दुःखका साक्षी हुन् उनी। सयौं किलोमिटरबाट गलेर आएका रोगी शरीरमा मलम लगाएका उनको हृदयले सधैं गाउँबस्तीमै सेवा गरिरहन चाह्यो। उनले कर्णालीमै ११ वर्ष सेवा व्यतित गरे।

उनी सेवाका लागि डोटी पनि पुगेका छन्। नजिकबाट छामेका छन् कर्णाली र सुदूरका जनताको स्वास्थ्य स्थिति।

कर्णाली भनेपछि धेरैले नाक खुम्च्याउँछन्। सबै त्यहाँ जान चाहँदैनन्। कर्णालीमा सरुवा हुनु भनेको राज्यले सजाय दिएको ठान्ने मानसिकता अझै सरकारी कर्मचारीमा व्याप्त छ।

तर, डा. डंगोलले त्यही भूमिमा बसेर वर्षौं सेवा दिए। खुला हृदयले गरेको उनको सेवाप्रति सरकारले पनि उचित कदर गर्यो। सन् २००६ मा उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै सरकारले अवार्ड प्रदान गर्दा उनी हर्षविभोर भए। जतिखेर उनी सुर्खेतमा सिनियर मेडिकल अफिसरका रूपमा कार्यरत थिए।

‘उपचारका क्रममा अनेकन प्रकारका बिरामी आउँथे। कोही जीवनको माया मारेर उत्तराद्र्धमा आइपुग्ने। यस्ता बिरामीलाई बचाउन सकिन्छ कि सकिँदैन भनेर चिन्ता लाग्थ्यो,’ उनले भने, ‘हामी पूरै कोसिस गरेर उपचारमा लाग्थ्यौं। र, बिरामी निको भएर घर फर्किएको पल गर्वले छाती फुल्थ्यो।’

उनले पाठेघर खसेर, पिसाबथैली फुटेर अन्तिम अवस्थामा अस्पताल आइपुगेका धेरै बिरामीलाई पुनर्जन्म दिएका छन्।

‘उपचारका क्रममा अनेकन प्रकारका बिरामी आउँथे। कोही जीवनको माया मारेर उत्तराद्र्धमा आइपुग्ने। यस्ता बिरामीलाई बचाउन सकिन्छ कि सकिँदैन भनेर चिन्ता लाग्थ्यो,’ उनले भने, ‘हामी पूरै कोसिस गरेर उपचारमा लाग्थ्यौं। र, बिरामी निको भएर घर फर्किएको पल गर्वले छाती फुल्थ्यो।’

इच्छाशक्ति भए जहाँसुकै काम गर्न सकिने उनको बुझाइ छ। सुर्खेतमा हुँदा आफूले प्रदान गर्ने सेवाले जनतामा खुसीको सञ्चार हुने र त्यसले आफूलाई निकै सन्तुष्ट पार्ने गरेको उनले सुनाए।

स्याङ्जा, डोटी र वीर अस्पतालमा काम गरेको भए पनि सुर्खेतमा हुँदा आफूले गरेको सेवाले सधैं सम्झाइरहने उनी बताउँछन्।

काठमाडौंको कालिमाटीका स्थायी बासिन्दा उनी देशका विकट ठाउँ जानलाई हच्किएनन्। स्याङ्जामा मेडिकल अफिसर, सुर्खेत र डोटीमा सिनियर मेडिकल अफिसर भएर कार्यरत रहे।

उनले १० वर्ष वीर अस्पतालमा कन्सल्टेन्ट, चिफ कन्सल्टेन्ट, चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संयोजक तथा आकस्मिक कक्षको प्रमुख भएर पनि काम गरे। तर, उनलाई सन्तुष्टि सुदूरका जनताको सेवा गर्नमै प्राप्त भयो।

‘आफ्नै स्वेच्छाले स्वास्थ्य सेवा रोजेको हुँ। सकुन्जेल काम गर्छु। उमेरले बाहिर जान त अब सायद नसकुँला। त्यसैले काठमाडौंमै रहेर भए पनि स्वास्थ्य सेवामा फर्किने छु।’

वीरमा लामो समय सेवा गरेका डंगोल वीरको सेवासुविधाप्रति भने सन्तुष्ट छैनन्। वीरमा लामो र झन्झटिलो प्रकृयाले गर्दा काम गर्न समस्या हुने गरेको उनको अनुभव छ।

बिरामीले पनि समयमा उपचार पाउन नसक्ने भएकाले यो प्रवृतिको अन्त्य हुनुपर्ने आवश्यकता उनी देख्छन्।

देशकै पुरानो तथा यथेष्ट सरकारी सुविधा भएको अस्पताल भए पनि वीरको इमर्जेन्सीमा पर्याप्त ठाउँ र वातावरणमैत्री नभएको डा. डंगोल बताउँछन्।

‘सबैभन्दा पुरानो र व्यवस्थित भनिएको वीरमा अहिलेसम्म ४ सय ५० बेडमात्रै छ। इमर्जेन्सीको अवस्था उस्तै भद्रगोल छ। दूरी कायम गरेर बेड मिलाउने हो भने इमर्जेन्सीमा १५ बेडसमेत राख्न मुस्किल हुन्छ। त्यसैले एउटैमा दुई–तीन जना राखेर उपचार गनुपर्ने बाध्यता हुन्थ्यो,’ डा. डंगोल भन्छन्, ‘बिरामीको चाप र संख्याका आधारमा वीरमा न्युनतम ३ हजार बेड हुनुपर्ने हो। तर, यसमा सरकार र सरोकारवाला निकायको कहिल्यै ध्यान पुगेन।’

आर्थिक अवस्था बलियो भएकाहरू निजी अस्पतालमा उपचार गराउन सक्ने भए पनि गरिब, विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाका लागि वीर अस्पताललाई सुधारेर व्यवस्थित बनाउन आवश्यक रहेको डा. डंगोलले बताए।

वि.सं. २०१६ सालमा जन्मेका डंगोल २०३६ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेका थिए। कीर्तिपुरको पाँगा हेल्थपोस्टबाट हेल्थ असिस्टेन्टका रूपमा स्वास्थ्य सेवा सुरु गरेका उनले २०४८ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएस गरेका थिए। २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाटै उनले एमडी गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय