धनुषामा २१ जनामा संक्रमण पुष्टि, सरोकारवालालाई थाहा छैन संक्रमितको ठेगाना

अन्य दिन जस्तै मंगलबारपनि ठीक चारबजे प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे मिडिया ब्रिफिङका लागि क्यामराअघि उपस्थित भए। मिडिया ब्रिफिङमा प्रायः उनी आफै आउँछन्। र, पछिल्लो २४ घण्टाको विवरण जानकारी गराउँछन्।

मंगलबारको मिडिया ब्रिफिङमा सचिव घिमिरेले पछिल्लो २४ घण्टामा प्रदेशभित्र १८५ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए। उनले जनाएअनुसार मंगलबार सबैभन्दा बढी महोत्तरीमा ८९ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी रौतहटमा ५२, धनुषामा २१, सर्लाहीमा १६, सप्तरीमा ३ र पर्सामा २ जनामा संक्रमण पुष्टि भएको उनले बताए। मिडिया ब्रिफिङको क्रममा घिमिरेले रौतहट, महोत्तरी र पर्साको ठाउँबारे स्पष्ट पारेपनि धनुषा, सर्लाही, सिरहा र सप्तरीका संक्रमितहरुको ठाउँबारे केही खोलाएनन्।

सामजिक विकास मन्त्रालय स्रोतअनुसार प्रयोगशालाबाट पठाइएको विवरणमा २१ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएपनि ठाउँमा धनुषामात्र खोलाइएको थियो। संक्रमित पुष्टि भएकाहरुको ठेगाना स्पष्ट नहुँदा मन्त्रालयका कर्मचारीदेखि सम्बन्धित सरोकारबलाहरु अलमलमा परेका छन्।
संक्रमण पुष्टि भएकालाई तत्काल आइसोलेसनमा भर्ना गर्नुपर्ने हुन्छ। तर, ठेगाना प्रष्ट नहुँदा संक्रमित खोज्न समस्या परेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमण पुष्टि भएकाहरुको ठेगाना प्रष्ट नहुँदा समस्या भएको बताए। ‘विवरणमा धनुषामात्रै लेखिएको छ, क्वारेन्टाइनको नामसमेत उल्लेख छैन्,’ उनले भने,‘प्रहरी लगाएर पत्ता लगाउने काम भइरहेको छ।’

‘धुलिखेल प्रयोगशालाबाट परीक्षण भएको देखिएको छ, पत्ता लगाउने काम भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने।
यसबारे जानकारी लिन सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय