१० अर्ब बजेटमा अनियमितता भए छानवीन गरे हुन्छः स्वास्थ्यमन्त्री ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को प्रकोप व्यवस्थापनका लागि १० अर्ब रूपैयाँ खर्च निकासा भएको बताएका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले निकासा गरिएको सबै पैसा खर्च भइसकेको भनेर प्रचार गरिएको विषय सत्य नभएको प्रष्ट पारेका हुन्।
‘राज्य विधिबाट चल्छ, त्यो विधि र प्रक्रियाभित्र जो कसैले पनि त्यसको जवाफदेहिताबाट बञ्चित हुन पाउँदैन, त्यो परिपाटी अहिलेको सरकारले कायम गर्ने छ,’ उनले भने।
१० अर्ब निकासा भयो भन्ने कुरा आएको उल्लेख गर्दै ढकालले यो रकम कोभिड प्रकोपकै व्यवस्थापनमा खर्च भएको बताए। ‘कोरोना प्रकोपको खर्चको विषयमा सदनमा र बाहिर पनि प्रश्न उठेको छ,’ उनले भने, ‘यो विषय स्वास्थ्य मन्त्रालयमा खर्च मसँग सम्बन्धित हुन्छ।’
मन्त्री ढकालले क्वारेन्टाइन व्यवस्थापनको खर्च पनि कोभिडसँगै सम्बन्धित हुने तर्क गर्दै राहत वितरणको खर्च फ्रन्टलाइनमा खटिनेहरूको खर्च पनि स्वास्थ्यसँगै सम्बन्धित रहेको बताए।
मन्त्री ढकालले कोरोना प्रकोपको व्यवस्थापनमा निकासा भएको खर्चमा अनियमितता भएको आशंका लागेमा छानवीन गर्न सकिने बताएका छन्।
‘संघ, प्रदेश र स्थानीय तहबाट खर्च हुन्छ, बजेट निकासा भएको हो खर्चको विवरण अहिले नै दिन सकिँदैन,’ ढकालले भने, ‘मन्त्रीले चेक काट्छ, आर्थिक कारोबारमा उसको भूमिका हुन्छ, खर्चको फाँटबारी हुन्छ, अडिट हुन्छ, त्यति गर्दा भएन भने संसदमा त्यसको छानवीन गर्ने समितिहरू पनि छन्, संवैधानिक अंगहरू पनि छन्।’
अनियमितता भएका कसैले छुट नपाउने बताउँदै स्वास्थ्यमन्त्री ढकालले निकासा हुने बित्तिकै त्यही मितिमा खर्च भएको हो भन्ने नबुझ्न आग्रह गरे।
ढकालले सीमित स्रोतसाधनका बाबजुद कोरोना प्रकोप फैलिन नदिएको बताए। ‘ठिकै स्रोतसाधन व्यवस्थापनभित्र काम गरेर पनि हामीले न्यून क्षतिमा यसलाई राख्न सकेका छौं, यो तपाई–हामी सबैको योगदानको प्रतिफल हो,’ उनले भने।
मृत्यु भइसकेको व्यक्तिहरूको कोरोना परीक्षण किन गरेको भनेर सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले अरूलाई सुरक्षित राख्न यसो गरिएको बताए।
‘मरेपछि किन पिसिआर भन्ने प्रश्न पनि उठेको छ, यो कोरोनाबाट संक्रमित हो भन्ने कुरा थाहा नपाएर पनि मान्छेको मृत्यु भएको छ, ‘चाहे त्यो पहिलो केसको कुरा होस् वा दोस्रो केसको, उहाँहरू कोरोनाबाट संक्रमित हो भन्ने कुरा कसैलाई थाहा थियो?,’ उनले भने, ‘थिएन, कोरोना यति निर्दयी छ, कि यसबाट मृत्यु भयो भने परिवारका मान्छे मलामी जाँदैनन्, त्यसैले मृतकको कोरोना टेस्ट गरिएको हो।’