अमेरिकाबाट फर्किन १६ सय डलर, यो सहुलियत भाडादर होः योगेश भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अमेरिका, बेलायत र अन्य देशबाट फर्किने नेपालीका लागि सहुलियतबाट तोकिएको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराई विदेशबाट आउने नेपालीबाट तीन गुणा बढी नलिएको प्रष्ट पारेका हुन्।

नेपालीले विभिन्न देशको समृद्धिका निम्ति काम गर्न गएको बताउँदै भट्टराईले त्यो देशले मानविय व्यवहार गर्ने तथा सकुशल फिर्ता पठाउने दायित्व हुने उल्लेख गरे।

सांसदहरूले नेपालीको फिर्तीको विषयमा कडा रूपमा प्रश्न उठाएपछि मन्त्री भट्टराईले विदेशमा कार्यरत नेपाली कामदारको दायित्व ती देशका सरकारले पनि लिनुपर्ने धारणा राखे।

‘हाम्रो संसदले, जनसमुदायले त्यो कुरा उठाउनुपर्छ कि, तपाईको खुशीका लागि नेपालीले रगत पसिना बगाए, आज अप्ठ्यारो परेका बेला तपाईले सडकमा फाल्न पाउनुहुन्न, आइएलओ र श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ‘संसदले त्यो कुरा उठाउनुपर्छ।’

नेपालबाट अमेरिका जानेले झण्डै ३ हजार डलरसम्मको टिकट काटेर गएको भट्टराईले बताए। ‘त्यो हाम्रो सरकारले तोकेको भाडादर होइन,’ उनले भने।

क्यानडा जाँदा ३५ सय डलर, अस्ट्रेलिया जाँदा २२–२५ सय डलरसम्म र जापान जाँदा १ हजारदेखि १५ सय डलरसम्म पनि भाडा तिर्नुपरेको उनले बताए।

तर, नेपाल फिर्तीका लागि त्योभन्दा धेरै काममा व्यवस्था मिलाइएको भट्टराईले बताए। ‘सकेसम्म सस्तोमा आउने व्यवस्था मिलाएका छौं, भाडादर तोकेका छौं, ट्राभल एजेन्सीले बढी भाडादर उठाएको भन्ने आएपछि मन्त्रालयबाट कमिटी बनाएका छौं,’ उनले भने।

मन्त्री भट्टराईले जापानबाट आउने नेपालीले ९ सय ३५ डलर तिर्नुपर्ने बताए। अस्ट्रेलियाका लागि १ हजार ६ सय १५ डलर, कोरियाका लागि ६ सय डलर, युएईबाट आउने नेपालीका लागि ३ सय ६० डलर तोकिएको बताए।

अमेरिकाबाट आउने नेपालीसँग १५ सयदेखि १६ सय डलरसम्म तोकिएको उनले बताए। युरोपबाट ११ देखि १२ सय डलरसम्म तोकिएको उनले बताए।

‘सरकारले तोकेको भाडादर यही हो, सहुलियतकै भाडादर तोकिएको हो, यो भाडादर कसरी महँगो भयो?,’ भट्टराईले प्रतिप्रश्न गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय