हवाई संस्थानलाई घाटा नपरोस् भनेर भाडा समायोजन गरिएको हो: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले हवाई सेवा प्रदायक कम्पनीहरूलाई घाटा पर्ने भएकाले विदेशमा रहेका नेपाली कामदार फिर्ता गर्न भाडा समायोजन गरिएको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले व्यापारिक दृष्टिकोणबाट हेरेर भाडा समायोजन गरिएको बताएका हुन्।

‘एयरलाइन्स व्यवस्थापनको कुरा आउँछ, त्यो पनि एउटा व्यापारिक दृष्टिकोणबाट सञ्चालित छ, अहिलेको विशेष परिस्थितिमा सामाजिक दुरी कायम गरेर, बीचको एउटा सिट खाली राखेर विमान उठाउनु पर्ने भएकाले भाडा समायोजन गरिएको हो,’ उनले भने।

७०-७५ प्रतिशत सिट भरिएपछि मात्रै उडान गर्ने भएकाले त्यो संस्थानलाई घाटा नपरोस् र श्रमिकलाई पनि चाप नपरोस् भनेर भाडा समायोजन गरिएको यादवको जिकिर छ।

नियमित उडानमा पनि कोही दुई हजारमा उड्दा कसैले १२ हजार तिरिरहेको जिकिर गर्दै मन्त्री यादवले विशेष परिस्थितिमा पनि त्यही अनुसार भाडा तलमाथि भएको बताए।

भाडा समायोजनको विषय श्रमिकको हितमा रहेको दाबी गर्दै यादवले भने, ‘पर्यटन मन्त्री पनि यहाँ हुनुहुन्छ, उहाँले पनि यस विषयमा विशेष प्रकाश पार्नुहुन्छ।’

यसैबीच, मन्त्री यादवले वैदेशिक रोजगारीमा गएका नेपालीको उद्धार गर्ने काम सुरू भइसकेको बताएका छन्।

श्रमिक कल्याण कोषको रकम खर्च गरेर श्रमिक ल्याउने विषयमा सर्वोच्च अदालतले दिएको आदेश र सरकारको योजना अनुसार काम भइरहेको उनले बताए।

‘श्रम स्वीकृती लिएर गएका, कोषमा १५ सय र २५ सय योगदान दिएका कामदारहरू अप्ठ्यारोमा परेमा, महामारी र प्रकोपमा परेमा र खर्च नभएहरूका लागि ५ अर्ब रूपैयाँको कोष छ,’ यादवले भने, ‘हामीले त्यही अनुसार काम अघि बढेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय