अहिलेसम्म चार चिकित्सकसहित ३४ स्वास्थ्यकर्मीमा कोरोना

कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारण मात्रै नभई स्वास्थ्यकर्मी संक्रमित हुने क्रम दिनानुदिन बढिरहेको छ।

महामारीसँग लड्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोनाको जोखिम उच्च छ। नेपालमा अहिलेसम्म ६ हजार २ सय ११ जनामा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको छ। त्यसमा १९ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ३४ जना स्वास्थ्यकर्मी पनि रहेका छन्।

पछिल्लो दिनमै सात स्वास्थ्यकर्मी संक्रमित भएको पुष्टि भएको छ। त्यसमा जेठ ३२ गते डडेल्धुरा अस्पतालमा कार्यरत नर्समा पोजेटिभ देखिएको थियो। त्यसै दिन पर्सामा १ स्वास्थ्य सहायक, ३ अहेब र १ अनमी गरी ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ रहेको पाइएको छ। त्यस्तै सोमबार असार २ गते सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्समा पनि पोजेटिभ देखिएको थियो।

मंगलबारसम्म संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीमा ४ चिकित्सक, १२ नर्स, ४ हेल्थ असिस्टेन्ट, २ ल्याब टेक्निसियन, १ फर्मासिस्ट, ५ कम्युनिटी मेडिसिन असिस्टेन्ट, ३ अहेब र ३ अनमी छन्।

प्रदेश नम्बर १ मा हालसम्म चार स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमित चारैजना जिल्ला अस्पताल धनकुटामा कार्यरत हुन्। त्यसमध्ये दुई हेल्थ असिस्टेन्ट र दुई नर्स छन्।

प्रदेश २ मा १३ स्वास्थ्यकर्मी भाइरसबाट संक्रमित भएका छन्। त्यसमा नारायणी अस्पतालमा कार्यरत नर्स र एक फर्मासिस्टले कोरोना जितिसकेका छन्। आइतबार सप्तरीका हेल्थ असिस्टेन्टमा भाइरस पोजेटिभ रहेको पुष्टि भएको छ। पर्सामा आइतबार (जेठ ३२) थप पाँच स्वास्थ्यकर्मीमा संक्रमण रहेको पुष्टि भएको हो।

वागमती प्रदेशमा अहिलेसम्म ८ स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसमा चार चिकित्सक र चार नर्स छन्। काठमाडौं मेडिकल कलेजका एक चिकित्सक र दुई नर्समा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। मनमोहन सामुदायिक अस्पतालमा काम गर्ने सुनसरीकी एक नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार चितवनको नारायणी सामुदायिक अस्पतालमा काम गर्ने दुई चिकित्सक र एक नर्समा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा पहिलो पटक ललितपुरका एकजना चिकित्सकमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।

गण्डकी प्रदेशमा अहिलेसम्म स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन।

प्रदेश नम्बर ५ मा २ नर्स र ३ स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

वैशाख ३० गते तौलिहवा अस्पतालमा ३४ वर्षीया नर्समा पहिलोपल्ट संक्रमण देखिएको थियो। उनी हाल निको भएर घर फर्किसकेकी छन्।

जेठ ८ मा खजुरा गाउँपालिकाकी स्टाफ नर्समा कोरोना संक्रमण देखिएको थियो। खजुरा, गाउँपालिका वडा–३ की ४२ वर्षीया स्टाफ नर्समा संक्रमण पुष्टि भएको हो। उनी हाल निको भई काममा फर्किसकेकी छन्।

त्यस्तै लुम्बिनी अस्पतालका एक स्वास्थ्यकर्मी र जेठ १८ मा दाङका दुई स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ।

कर्णाली प्रदेशमा अहिलेसम्म स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन।

सुदूरपश्चिम प्रदेशमा २ नर्स र १ ल्याब असिस्टेन्ट गरी तीन जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय