यस्तो छ पोखराका ९० वर्षे संक्रमितको ट्रेसिङ

पोखराका ९० वर्षे कोरोना संक्रमित गण्डकी प्रदेशका कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्तिसँगै प्रिआइसोलेसनमा बसेको खुलेको छ। ज्वरो आएपछि २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा भर्ना भएका वृद्ध कोरोनाबाट मृत्यु भएकासँगै बसेको खुलेको हो।

संक्रमित वृद्ध कोरोनाबाट मृत्यु भएका वालिङ–३ का ५८ वर्षे पुरुषसँग ४ दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा बसेको थिए।

‘उहाँको क्षेत्रीय अस्पतालमा मृत्यु भएका संक्रमितसँग सम्बन्ध देखिएको छ। दुवै जना अस्पतालको प्रि–आइसोलेसनमा सँगै बस्नु भएको रहेछ,’ पश्चिमाञ्चल सामुदायिक अस्पतालका मेडिकल डाइरेक्टर डा. मीलन श्रेष्ठले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि उहाँ घर फर्किनुभयो। भोलिपल्ट ज्वरो आएपछि सिधै यहाँ आउनुभयो।’

संक्रमित वृद्ध ज्वरो आएपछि २२ जेठमा क्षेत्रीय अस्पताल भर्ना भएका थिए। सोही दिन वालिङ ३ घर भएका ५८ वर्षे पुरुष पनि उपचारका वालिङबाटै पोखरा आएका थिए। दुवैलाई ज्वरो आएपछि क्षेत्रीय अस्पतालले कोरोनाको रिपोर्ट नआउँदासम्म शंकास्पद भन्दै प्रि–आइसोलेसनमा राखेको थियो।

वालिङका पुरुषमा २५ जेठमा कोरोना पोजेटिभ देखिँदा सँगै बसेका ९० वर्षे वृद्धको भने रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमण नदेखिएपछि २५ जेठमै उनी घर फर्किएका थिए। तर भोलिपल्ट ज्वरो आएपछि पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल गए।

पहिले पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी पाएपछि ती वृद्धलाई भर्ना लिएको र फेरि स्वाब संकलन गरेर पठाउँदा पोजेटिभ आएको सामुदायिक अस्पतालका एमडी श्रेष्ठले बताए। वृद्धमा उच्च रक्तचापसँगै युटिआई (पिसाबमा हुने संक्रमण ) को समस्या समेत छ। पोखरा–१४ भेडिफारम बस्दै आएका वृद्धको स्थायी घर स्याङ्जाको वालिङ हो। उनलाई अहिले पश्चिमाञ्ल क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले समेत वृद्ध प्रदेशका पहिलो मृतकसँगै प्रि–आइसोलेसनमा बसेको पुष्टि गरेको छ। ‘९० वर्षे वृद्धमा कोरोना देखियो भन्ने आएको छ। उहाँ ज्वरो आएपछि प्रि–आइसोलेसनमा बस्नुभएको थियो। २५ गते रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका थियौं,’ क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले भने।

मंगलबार बिहान मात्र पोखराका २१ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो। पोखरा–३० घर भएका ती संक्रमित भारतबाट आएर महानगरको क्वारेन्टाइनमा बसेका थिए। गण्डकी प्रदेशमा अहिलेसम्म २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ को मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय