पोखराका ९० वर्षे वृद्धमा कोरोना संक्रमण, छैन ट्राभल हिस्ट्री
पोखराको एक सामुदायिक अस्पतालमा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ। उच्च रक्तचापसँगै युटिआई (पिसाबमा संक्रमण हुने) को समस्या २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल भर्ना भएका उनमा मंगलबार संक्रमण पुष्टि भएको हो।
उनी स्याङ्जाको वालिङ घर भई पोखरा-१४ भेंडीफारम बस्दै आएको पोखरा महानगरले जनाएको छ।
‘उहाँलाई सामान्य ज्वरो छ। खाना पनि खानुभएको छैन भन्ने कुरा आएको छ,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले हेल्थपोस्टसँग भने। संक्रमित वृद्धको कुनै ट्राभल हिस्ट्री नरहेको उनले बताए। आचार्यका अनुसार संक्रमित वृद्धलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
मंगलबार दिउँसो नै तनहुँका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। संक्रमण पुष्टि हुनेमा शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १२ र ४६ वर्षे पुरुष छन्। संक्रमितलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।
गण्डकी प्रदेशमा अहिलेसम्म २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ को मृत्यु भएको छ। वालिङ-३ घर भएका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो।