ईश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण उच्चस्तरीय समिति खारेज

रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति समिति खारेज भएको छ।

उच्चस्तरीय समितिले चित्तबुझ्दो काम नगरेको भन्दै प्रधानमन्त्रीले समिति नै खारेज गरिदिएका हुन्।

अब सो समितिको काम कोभिड-क्राइसिस म्यानेसमेन्ट सेन्टर (सिसिएमसी) लाई दिइएको छ। यसका लागि सिसिएमसी निर्देशक समिति गठन गरिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले समिति खारेज गरी त्यसको काम सिसिएमसीलाई दिएको हो। यसको नेतृत्व भने पोखरेलले नै गर्नेछन्।

रक्षामन्त्री पोखरेलनिकट स्रोतले उच्चस्तरीय समिति निष्कृय भइसकेको बतायो। यो समितिमा रहेका मन्त्रीहरूलाई सिसिएमसीमा काम गर्नेगरी राखिएको उक्त स्रोतले बतायो।
उच्चस्तरीय समिति पोखरेलको नेतृत्वमा थियो। यसले सिसिएमसीलाई कोरोना नियन्त्रणमा परिचालन गर्थ्यो।

अब उच्चस्तरीय समितिको काम सिसिएमसीले गर्छ। सिसिएमसी उच्चस्तरीय समिति मातहत थियो।

समिति मन्त्रिपरिषद मातहत थियो। अब सिसिएमसी सिधै मन्त्रिपरिषद मातहत आएको छ।

सिसिएमसीको प्राय: सबै काम नेपाली सेनाले गर्दै आएको थियो। तर, सिसिएमसीले निर्णायक थिएन। उसले आफ्ना निर्णय समितिमार्फत गराउँथ्यो।

उच्चस्तरीय समितिमा पनि सेना हावी भएको गुनासो मन्त्रीहरूले गर्दै आएका थिए। दुबै निकाय सक्रिय हुँदा समानान्तर गतिविधि भएकोसमेत गुनासो बढेपछि सिसिएमसीलाई नै मन्त्रिपरिषदले सशक्त बनाएको हो।

सिसिएमसीमा चार जना थप मन्त्री थपिएको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन र कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल सिसिएमसीमा थपिएका हुन्।

‘समिति निष्कृय छ, यसको बाँकी काम अब सिसिएमसीले गर्छ, सिसिएमसी नेतृत्व रक्षामन्त्रीले गर्नुहुन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।

उच्चस्तरीय समितिले लकडाउनलगायतका महत्वपूर्ण निर्णय गर्दै आएको थियो। समिति पुनर्गठन भएसँगै अब सिसिएमसीबाटै समितिले गर्ने काम हुन्छन्।

सिसिएमसीको कार्यालय छाउनीस्थित सेनाको ब्यारेकमा छ। कोरोना नियन्त्रणमा सिसिएमसी तथा विशेष गरी सेनाको भूमिका बलियो भएको भन्दै सरकारका मन्त्रीहरूकै असन्तुष्टि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय