कोरोना फैलिन नदिन माडीमा उच्च सर्तकता

कोरोना भाइरसको महामारी जोखिम नियन्त्रण गर्न स्थानीय तहलाई निकै सकस परिरहेको छ। सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर राख्ने क्वारेन्टाइनसमेत केही स्थानीय तहले बनाउन सकेका छैनन्। तर, चितवनको माडी नगरपालिकाले विदेशबाट ल्याएर क्वारेन्टाइनमा राखिएका माडीका स्थानीयको पिपिआर परीक्षणका लागि स्वाब संकलन तीव्र पारेको छ।

आइतबार ७२ जनाको स्वाब संकलन गरिएको माडीले जनाएको छ। सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीका अनुसार वडा ३ मा रहेको माडी माविमा बसेका ५३ जनाको स्वाब संकलन भएको छ। उनीहरूलाई जेठ १७ र १८ गते सीमाबाट उद्धार गरेर राखिएको थियो। ७ स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी, मेस व्यवस्थापनमा खटिएका ९ र एक वडाध्यक्षको स्वाब संकलन गरिएको छ।

माडीमा हालसम्म १४ जनामा कोरोना संक्रमण देखिए पनि सबै क्वारेन्टाइनमै बसेका छन्। जेठ २६ गते सोमेश्वर मावि बरुवामा ६ र ३० गते दिवाकर स्मृति मावि रमाइलो डाँडामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। माडीका १२ विद्यालयलाई १ हजार ६ सय १० जना राख्न मिल्ने गरी क्वारेन्टाइन स्थल बनाइएको छ।

विदेशबाट ल्याइएकालाई आधारभूत विद्यालय गोविन्द बस्ती, सोमेश्वर मावि, दिवाकर स्मृति मावि , जनकल्याण मावि र माडी माविमात्र राखिएका थिए। जेठ ३० गते संक्रमण पुष्टि भएका ७ जनालाई माडी क्याम्पसमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ। अन्य ७ जना भरतपुर अस्पतालमा छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद सुवेदीले बताए।

माडीमा हालसम्म १४ जनामा कोरोना संक्रमण देखिए पनि सबै क्वारेन्टाइनमै बसेका छन्। जेठ २६ गते सोमेश्वर मावि बरुवामा ६ र ३० गते दिवाकर स्मृति मावि रमाइलो डाँडामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। माडीका १२ विद्यालयलाई १ हजार ६ सय १० जना राख्न मिल्ने गरी क्वारेन्टाइन स्थल बनाइएको छ।

माडी नगरले भारतमा रहेका नेपालीलाई जेठ ९ देखि उद्धार गर्न थालेको हो। ९ र १२ गते उद्धार गरिएकालाई आधारभूत विद्यालय गोविन्द बस्तीमा राखिएको थियो। १ सय जना राख्न मिल्ने उक्त क्वारेन्टाइनमा हालसम्म २४ जना रहिसकेका छन्। १० गते सोमेश्वरमा ७० जना, जेठ १३ र १६ गते दिवाकरमा ४९ जना, जेठ १७ र १८ गते माडी माविमा ५३ जना, जेठ २७ र ३१ गते २३ जना जनकल्याण माविको क्वारेन्टाइनमा राखिएका हुन्।

भण्डारीका अनुसार हालसम्म १ सय ९२ जनाको आरडिटी र २ सय ८६ जनाको पिसिआरमार्फत परीक्षण भएको छ। आइतबार ५ जनाको आरडिटी र ७२ जनाको पिसिआर परीक्षणका लागि नमुना संकलन गरी भरतपुर ल्याइएको छ।

११ दिनदेखि क्वारेन्टाइनमा बसेका माडी–६ का एक युवाको २४ गते भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गए पनि पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। उनी दिवाकार स्मृति विद्यालयको क्वारेन्टाइनमा थिए। ‘संक्रमण माडीको समुदायस्तरमा फैलिएको छैन,’ स्वास्थ्य शाखा प्रमुख सुवेदीले भने, ‘तर, हामीले उच्च सतर्कता अपनाएका छौं। क्वारेन्टाइन व्यवस्थापनमा कमजोरी हुन नदिन चासो दिइरहेका छौं।’

माडीका मेयर ठाकुरप्रसाद ढकालले संक्रमण देखिएकालाई माडीमै राखेर उपचार गर्न सकिने पूर्वाधार बनाइएको बताए। ‘माडी क्याम्पसमै आइसोलेसन कक्ष बनाएका छौं, १७ जना राख्न मिल्छ,’ उनले भने, ‘छिटै ३० जनासम्म राख्न मिल्ने बनाउने तयारी छ।’ बघौडा अस्पतालको सहयोगमा क्याम्पसका कक्षा कोठालाई नै आइसोलेसन कक्षमा विकसित गरिएको हो। उनीहरूको गतिविधि निगरानीका लागि सिसी क्यामेरासमेत जडान गरिएको छ।

‘संक्रमणमुक्त भएको पुष्टि भएपछि मात्रै घर जाने वातावरण बनाउन प्रतिवद्ध छौं,’ उनले भने, ‘बजेटको अभावमा परीक्षण नरोकियोस् भनेरै आवश्यक बजेट निकासा हुनेछ।’ उनले माडी भित्रिने सीमामा उच्च निगरानी गरिएको बताए।

मेयर ढकालले बघौडा अस्पतालमै सघन उपचार कक्ष (आइसियू) बनाउने योजना रहेको बताए। ‘केही दिनमा आइसियू तयार हुनेछ,’ उनले भने, ‘संक्रमित सबैलाई माडीमा राखेर उपचार राख्ने योजना छ।’ दीर्घरोगी र ज्वरो आएर संक्रमण पुष्टि भएमा हाल भरतपुर पठाउने गरिएको छ। उनले संक्रमण पहिचानका लागि किट अभाव हुन नदिन पिसिआर किटसमेत खरिद गरिएको बताए। उनका अनुसार पहिलो चरणमा २ सय किट खरिद भएको छ। नगरपालिकाले किट खरिद गर्न १० लाख बजेट विनियोजन गरेको छ।

‘संक्रमणमुक्त भएको पुष्टि भएपछि मात्रै घर जाने वातावरण बनाउन प्रतिवद्ध छौं,’ उनले भने, ‘बजेटको अभावमा परीक्षण नरोकियोस् भनेरै आवश्यक बजेट निकासा हुनेछ।’ उनले माडी भित्रिने सीमामा उच्च निगरानी गरिएको बताए।

माडीका ५ क्वारेन्टाइनमा हाल १ सय ८८ जना छन्। ७२ जना १४ दिन क्वारेन्टाइनमा बसेर पिसिआर परीक्षणमा संक्रमण नदेखिएपछि हाल होम क्वारेन्टाइनमा छन्। जनकल्याण माविमा रहेका २३ मध्ये ६ जना शनिबार आएका हुन्। २३ जनाको स्वाब परीक्षण बाँकी छ। नगरपालिकाले वडास्तरबाट संकलन गरेको तथ्यांकअनुसार ४ हजार बढी विदेशमा छन्। जसमध्ये भारतमा रहेका २ हजार ८ सयमध्ये १ हजार ६ सय जनाले तत्कालै आउने सूचना दिएका थिए। यही आधारमा क्वारेन्टाइनस्थल बनाइएको थियो।

नगरपालिकाले सीमा नाकाबाट उद्धार गर्न तीन सार्वजनिक बस प्रयोगमा ल्याएको छ। हरेक उद्धारपछि ती बसलाई तीन दिन राखेर डिस्इन्फेक्सन गरेपछि मात्रै पुनः उद्धारमा प्रयोग गर्दै आएको छ। चालकलाई पनि छुट्टै क्वारेन्टाइनमा राख्ने गरिएको छ। कुवेत र दुबईबाट सरकारले उद्धार गरेकामध्ये ३ माडीका महिला शनिबारमात्रै जनकल्याण क्वारेन्टाइनमा आइपुगेका छन्।

जनप्रतिनिधिको परीक्षण

सीमा नाकामै पुगेर स्थानीयको उद्धार गर्न खटिएका माडीका जनप्रतिनिधिको समेत स्वास्थ्य परीक्षण गरिएको छ। सुनौली, कृष्णनगर नाकामै पुगेर उद्धार कार्यमा खटिएका जनप्रतिनिधिको समेत कोरोना संक्रमण भए नभएको जाँच गरिएको छ।

मेयर ठाकुरप्रसाद ढकाल, उपमेयर ताराकुमारी काजी महतो, १ का वडाध्यक्ष कृष्ण पौडेल, ५ का वडाध्यक्ष रामबन्धु पोखरेल, २ का वडाध्यक्ष ईश्वरीप्रसाद ढकाल, ९ का वडाध्यक्ष शिवहरि सुवेदीको पिसिआर परीक्षण भएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ। जनतासँग निकट भएर काम गर्नुपर्ने भएकाले सम्भावित जोखिम ख्याल गर्दै जनप्रतिनिधिको समेत स्वास्थ्य जाँच भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय