प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट, सांसदहरुलाई २ अर्ब ३५ करोड
प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री यादवले आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पूँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ।
आयतर्फ आन्तरिक स्रोतबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारको अनुदान १३ अर्ब ४० करोड ५९ हजार र नगद मौज्दात ६ अर्ब ९१ करोड २९ हजार विनियोजन गरिएको छ।
सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि दुई अर्ब ३५ करोड र विपद् व्यवस्थापनका लागि ५ करोड र कुपोषण न्युनीकरणका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिँदै २५ हजार छोरीलाई शिक्षा बीमा, मुद्दती कार्यक्रमका लागि ३० करोड ६४ लाख ७७ हजार र अन्य कार्यक्रमका लागि २४ करोड ८६ लाख विनियोजन गरिएको छ।
कोरोना रोकथाम तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदृढीकरण गर्न सरकारले ७० करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ भने प्रादेशिक क्यान्सर अस्पताल निर्माणको लागि २ करोड, ट्रमा सेन्टरको लागि २ करोड र सरुवा रोग तथा महामारी रोग नियन्त्रणका लागि १ करोड बजेट विनियोजन गरेको छ। यसैगरी जनकपुर प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन ४५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारले खाद्य सुरक्षा तथा थप आय सिर्जनाको माध्यमबाट प्रदेशभरका किसानहरुको जीवन सुधारका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक नालासहितको दुई लेन कालोपत्रे ५ किलोमिटर सडक निर्माण गर्न ६४ वटा सडकका लागि ६७ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ। खानेपानी, ढल तथा अन्य सार्वजनिक शौचालय निर्माणको लागि ३२ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।