कर्णाली प्रदेशको बजेट : ५ सय बेडको सुविधा सम्पन्न अस्पताल, कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख
कर्णालीमा प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ को बजेटलाई स्वास्थ्यमा केन्द्रीत बनाएको छ। कोरोना भाइरसका कारण निकै प्रभावित बनेको कर्णालीलाई स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेको लागि बजेटलाई स्वास्थ्यमा केन्द्रीत गरेको प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए।
आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट प्रस्तुत गर्दै कोरोना कोषको लागि मात्रै १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको जानकारी दिए।
मन्त्री ज्वालाले कर्णालीको स्वास्थ्य क्षेत्रलाई प्रथामिकता दिएको प्रदेश सभालाई जानकारी दिएका हुन्।
आगामि आर्थिक वर्षमा नै कर्णाली प्रदेशमा ५ सय बेडको आइसोलोसन अस्पताल बनाइने बजेटमा उल्लेख छ। सो अस्पतालमा ४० सघन उपचार कक्ष (आइसियु) र २० भेन्टिलेटरसहितको सघन उपचार कक्ष बनाइने बताइएको छ।
हरेक जिल्ला अस्पतालमा कम्तीमा ५० वटा आइसोलेशन बेट, कम्तिमा १० सघन उपचार कक्ष र कम्तिमा ५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष तयार नर्गे गरी बजेट विनियोजित गरिएको मन्त्री ज्वालाले बताए।
त्यस्तै प्रदेश अस्पताललाई ३ सैय्याको शिक्षण अस्पताल बनाउने, राकम कर्णालीमा ट्रमा अस्पतालको स्थापना गर्ने, घुम्ति अस्पतालको अबधारण र दूर स्वास्थ्य टेलिमेडिसिन सञ्चालन गर्नेलगायतका नविन र दुरगामि कार्यक्रमसहित स्वास्थ्य क्षत्रका लागि करिव ९ प्रतिशत बजेट विनियोजित गरेको मन्त्री ज्वालाले प्रदेश सभालाई जानकारी दिए।
विकटता, विपन्नता र बेरोजगारीसँग जुधिरहेको कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएका व्याक्तिको परिवारलाई १ लाख रुपैयाँ राहतको घोषण गरिएको छ।