पिसिआर ल्याब सञ्चालन गर्न सहकारीहरूको ७ लाख सहयोग, २५ लाख दिने घोषणा

झापामा पिसिआर ल्याब स्थापनार्थ जारी ‘एकका लागी एक’ अभियानलाई जिल्लाका सहकारी संघसंस्थाले एकै दिन ७ लाख १२ हजार रुपैयाँ उपलब्ध गराएका छन्।

सो अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको ल्याब स्थापना गर्न सहकारी संघसंस्थाले २५ लाख रुपैयाँसहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

झापाका चार सहकारी सहारा नेपाल साकोसले १ लाख ५ हजार, पूर्व नेपाल सहकारीले १ लाख २ हजार, पब्लिक साकोसले १ लाख १ हजार र हाम्रो नेपाल साकोसले १ लाख १ हजार रुपैयाँ उपलब्ध गराएका हुन्।

त्यस्तै, झापा जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकबाट समान १ लाख १ हजार रुपैयाँ उपलब्ध भएको छ। झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार संघको समन्वयमा अभियानलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागिएको हो। एक साताभित्र रकम संकलन गरिसक्ने गरी संघले अन्य सहकारीसँग पनि समन्वय गरिरहेको छ।

सामाजिक अभियान भएकाले झापाका सहकारी तथा सहकारीसँग सम्बद्ध देशभरका केन्द्रीय संघहरूलाई स्वेच्छिक रुपमा सहयोग गर्न जिल्ला संघले अपिल गरेको छ।

रकम हस्तान्तरण कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष तथा बैंकका पूर्वअध्यक्ष रमेश पोखरेल, नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारी, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिनाकुमारी ढकाल, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सहयोगको लागि अपिल गरेका थिए।

झापामा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको अभियानका सहसंयोजक विनोद बस्नेतले जानकारी दिए। ल्याब सञ्चालन गर्न अन्तर्राष्ट्रिय झापाली समाजले पनि ३० लाख रुपैयाँको हाराहारीमा सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ।

ल्याब सन्चालन गर्ने एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ल्याब सञ्चालनको जिम्मेवारी लिन झापाका कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई अभियानले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय