‘कोरोना प्रकोपको बहानामा सरकारले गर्ने मनपरी खर्च रोक्न संयन्त्र बनाऔं’

नेपाली कांग्रेसका युवा नेता तथा राष्ट्रियसभा सदस्य प्रकाश पन्तले कोरोना भाइरसको महामारी बढ्दै जाँदा संसद चल्न नसक्ने अवस्थामा कसरी जाने भन्ने विषयमा कार्ययोजना पेश गर्न माग गरेका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्दै पन्तले सरकारले महामारी नियन्त्रणको बहानामा मनपरी गर्न सक्ने भएकाले संयन्त्र बनाएर दिशानिर्देश गर्नुपर्ने बताएका हुन्।

यसका लागि छुट्टै समिति बनाएर काम गर्न सकिने नेता पन्तको तर्क छ। ‘सरकारलाई सघाउने र निर्देशन दिने सम्बन्धमा त्यो महत्त्वपूर्ण हुन सक्छ,’ पन्तले भने।

पन्तले संविधानलाई सर्वस्वीकार्य बनाउनु पर्नेमा जोड दिएका छन्। पन्तले आवश्यक परिमार्जन गरी संविधानलाई सर्वस्वीकार्य बनाउन माग गरेका हुन्।

‘संविधान पूर्ण कार्यान्वयन भएको छैन, मौलिक हकका विधेयकहरू हतार–हतारमा आएपनि त्यसका नियमावली नबन्दा कार्यान्वयनमा निकै समस्या भएको छ,’ नेता पन्तले भने, ‘संविधानलाई सबैको सर्वस्वीकार्य बनाउन आवश्यक छ।’

स्थानीय तहलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराउँदै युवा नेता पन्तले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धका विषयमा पनि समस्या रहेको टिप्पणी गरे। पन्तले अधिकार क्षेत्रका विषयमा ऐनहरू बन्न बाँकी रहेको विषयमा ध्यानाकर्षण गराएका छन्।

मेलम्ची खानेपानी आयोजनाको विषयमा प्रश्न उठाउँदै तत्काल सबै नागरिकलाई खानेपानीको उपलब्धता सुनिश्चित गर्न नेता पन्तले सरकारसँग माग गरेका छन्।

कोरोना प्रकोपबाट उत्पन्न परिस्थिति र युवालाई रोजगारी दिनका लागि कृषिसहित सम्भाव्य क्षेत्रको अध्ययन गरी कार्यक्रम निर्माण गर्न पन्तले माग गरे।

त्यसैगरी, राष्ट्रियसभा सदस्य पन्तले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका मस्यौदा लेखन गर्ने कर्मचारीलाई विशेष तालिमको व्यवस्था गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय