गरे के हुँदैन? कोरोना कहरमा प्रदेशकै भरोसा बन्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

स्थापनाको लामो समय अन्योल र विवादमा अल्झिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान वैश्विक कोरोना भाइरसको महामारीका समयमा सिंगो कर्णाली प्रदेशको भरोसा बनेको छ।
प्राज्ञिक रूपमा वामे सर्दै गरेको प्रतिष्ठानले अहिले जुम्लासहित कर्णालीका आठवटै जिल्लाको स्वास्थ्य सेवा प्रवाहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ।

आफ्नै पहलमा अन्य ठाउँको तुलनामा सबैभन्दा ढिला गरेर कोरोना परीक्षण सुरु गरेको प्रतिष्ठानस्थित प्रयोगशाला अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) पछि सबैभन्दा धेरै नमूना परीक्षण गर्ने संस्था बनेको छ।

केन्द्र सरकारले कर्णालीमा प्रयोगशालाको सम्भावना नदेखिरहेको अवस्थामा प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानले करिब ७० लाख खर्चिएर पिसिआर मेसिन खरिदसहित अन्य संरचना तयार पार्दै परीक्षण सुरु गरेको छ।

पूर्वाधार बनेपछि पनि न्युन जनशक्तिले अतिरिक्त समय खटेर उत्कृष्ट नतिजा दिन सकेको प्रतिष्ठान, शिक्षण अस्पताल निर्देशक डा. मंगल रावलले बताए। ‘प्रतिष्ठान र अस्पतालको सिंगो टिमको इच्छाशक्ति र प्रदेश सरकारको साथबाट हामीलाई सबैभन्दा बढी उर्जा मिलेको छ,’ डा. रावलले हेल्थपोस्टसँग भने।

उनका अनुसार प्रदेश सरकारकै सहयोगमा मेसिनसहित रिएजेन्ट र कीटसमेत किनेर सेवा सुचारु गरिएको छ। ‘अरु प्रदेशसँग एउटा संस्थाले नगरे पनि विकल्प थियो होला, हामीसँग नगर्ने छुट र विकल्प थिएन,’ डा. रावलले भने।

डा. रावलका अनुसार अहिले प्रतिष्ठानले सिंगो कर्णालीका १९ स्थानमा ३८ चिकित्सक खटाएर सेवा पुर्याइरहेको छ। ‘३–४ दिन हिँडेर जानुपर्ने ठाउँका स्वास्थ्यचौकीमा समेत चिकित्सक पुगेर सेवा दिइरहेका छन्,’ डा. रावलले सुनाए।

मुलुकका अन्य प्रदेशको तुलनामा ढिला कोरोना संक्रमण भेटिए पनि भारतबाट आउने क्रम बढेसँगै दैलेखलगायतका जिल्लामा ठूलो संख्यामा संक्रमित भेटिएको र सबै जिल्लामा जोखिम थपिएसँगै कर्णालीले चिकित्सकको उपस्थिति, परीक्षण तथा उपचारका पूर्वाधारसमेत विस्तार गर्दै लगेको प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले जानकारी दिए।

‘प्रयोगशालामा पहिला नै रहेका जनशक्तिले अतिरिक्त समय काम गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछाडि देशकै बढी नमूना जाँच गरेको छ,’

काफ्लेका अनुसार अहिले प्रतिष्ठान रहेको जुम्लाका आठवटै स्थानीय तहमा एक विशेषज्ञ र एक मेडिकल अफिसर खटाएर सेवा दिइरहेको छ।

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा गाउँगाउँमा रहेका क्वारेन्टाइनको स्वास्थ्य व्यवस्थापनसहित स्वास्थ्य संस्थाबाट सेवाप्रवाहका लागि सिंगो जुम्लासहित हुम्ला, मुगु, जुम्ला, कालिकोट र दैलेखमा समेत प्रतिष्ठानकै चिकित्सक पुगेर सेवा दिइरहेका छन्।

तीबाहेक प्रदेशभरका र अस्पताल आउन सहज नभएका बिरामीलक्षित गरेर टेलिफोनबाटै चिकित्सकीय परामर्श सेवासमेत सञ्चालन गरिरहेको छ।

जुम्लामा रहेको ३०० शैय्याको अस्पतालमा मात्रै १२० वटा शैय्या आइसोलेसनका लागि छुट्याइएको प्रतिष्ठानमा अक्सिजन सिलिन्डर, डिफिविलेटर, आवश्यक पिपिईलगायतका व्यक्तिगत सुरक्षा सामग्री जोहो गरिरहेको रजिस्टार काफ्लेले जानकारी दिए।

प्रतिष्ठानमा विशेषज्ञ र मेडिकल अफिसर गरेर ७२ चिकित्सकसहित ३ सय हाराहारीमा जनशक्ति कार्यरत छन्। पुरानै जनशक्तिले यसबीचमा ८ हजार ५ सयभन्दा बढी नमूना परीक्षण गरिसकेको छ।

‘प्रयोगशालामा पहिला नै रहेका जनशक्तिले अतिरिक्त समय काम गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछाडि देशकै बढी नमूना जाँच गरेको छ,’ रजिस्टार काफ्लेले भने, काफ्लेले भने, ‘महामारीका समयमा सिंगो टिम एक ढिक्का भएर लागेको छ।’

अस्पतालमा हाल ११ संक्रमित आइसोलेसनमा छन्। अधिकांस स्वास्थ्य जनशक्तिलाई अस्पतालमै बस्नेखाने व्यवस्थासमेत गरिएको छ। ‘दुर्गम ठाउँमा खुलेको र अन्य सामान्य अवस्थामा कम ध्यान पुगेको प्रतिष्ठानले संकटमा काम गरेर देखाउन सक्छ भनेर प्रमाणित गर्नु थियो र त्यो भएको छ,’ काफ्लेले भने।

डा. रावतका अनुसार महामारी सुरु भएसँगै सुरुमा भएकै स्रोत र साधनको समुचित प्रयोगसँगै नपुगेका कुराको व्यवस्थापन गरिएको थियो।

उनका अनुसार अहिले सञ्चालनमा रहेका ३ सय बेडलाई १ सय २० आइसोलेसनमा परिणत गरिएको र छिट्टै थप ८० बेड थप्ने योजना छ।

सुरुमा ३ शैय्यामात्रै आइसियू रहेकामा विस्तार गरेर १० पुर्याइएको र त्यसमा ९ वटा भेन्टिलेरसमेत रहेको प्रतिष्ठानले जनाएको छ। रजिस्टार काफ्लले अहिले प्रतिष्ठानमा ११ वटा मात्रै भेन्टिलेटर रहेको र थप गर्नका लागि विभिन्न पहल भइरहे पनि सफलता नमिलेको सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय