प्रयोगशालाको फ्रिजमा थुप्रिँदै स्वाब, परीक्षण बढाउन जनशक्ति जुटाउँदै प्रदेश सरकार

हेल्थपोस्ट नेपाल

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट ३४ जनाको स्वाबको पोखरा पठाएको एक साता भइसकेको छ। तर पालो नआउँदा नमुना स्वाब प्रयोगशालाकै फ्रिजमा थन्किएका छन्।

क्वारेन्टाइन अवधि पूरा गरे पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसिरहेका ३४ जना घर जान पाएका छैनन्। ‘स्वाब पठाएको एक साता भयो। रिपोर्ट आएकै छैन। यहाँ त २१–२२ दिनदेखि बसेकाहरू रिपोर्ट नआउँदा घर जान जानै पाएनन्,’ गाउँपालिकाका स्वास्थ्य महाशाखा प्रमुख पदम पाण्डे्यले भने, ‘स्वास्थ्य कार्यालय र प्रदेशमा सोध्दा पालो आउँदै छ भन्नुहुन्छ।’

कालीगण्डकीसहित जिल्लाका अन्य पालिकाका गरी ३ सय ३३ जनाको स्वाब पोखरा पठाइएको भए पनि रिपोर्ट आएको छैन। रिपोर्ट नआउँदा बाहिरबाट घर फर्किएकाको क्वारेन्टाइन बसाइ लम्बिएको छ।

१० दिन पहिलदेखि पठाइएको पर्वतका १ सय ४१ जनाको स्वाब पनि पोखराकै प्रयोगशालामा थन्किएको छ। ‘पर्वतका सबै पालिकाको क्वारेन्टाइन कुश्मामा बनाइएको छ। यहींबाट स्वाब संकलन गरेर पठाएको १० दिन पहिलेदेखिको १ सय ४१ स्वाबको रिपोर्ट आएको छैन,’ स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. शिशिर देवकोटाले भने।

प्रयोगशालाको क्षमताभन्दा स्वाब संख्या धेरै हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका स्वाब परीक्षणमा ढिलाइ भइरहेको छ। प्रदेशका विभिन्न जिल्लाबाट परीक्षणका लागि पोखरा पठाइएका २३ सय ८२ स्वाब पेन्डिङमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

दुवै मेसिन पूर्ण सञ्चालनमा आएपछि प्रयोगशालाको फ्रिजमा राखिएका साढे २३ सय स्वाब परीक्षण गर्न एक साता समय लाग्ने प्रमुख सुवेदीले बताइन्।

पोखरास्थित क्षेत्रीय अस्पतालको प्रयोगशालामा चैत तेस्रो सातादेखि कोरोना परीक्षण हुँदै आएको छ। परीक्षणको दायरा बढाउन २ दिनयता प्रदेश सरकारले खरिद गरेको पिसिआर मेसिनबाट पनि परीक्षण थालिएको छ। उक्त मेसिन रामघाटस्थित प्रदेश क्षयरोग केन्द्रमा जडान गरिएता पनि आवश्यकताअनुसार कर्मचारी नहुँदा स्वाब पालोमा छ। सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लाबाट प्राविधिक झिकाएको र उनीहरू आएपछि परीक्षण द्रूत गतिमा हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले बताइन्।

‘विभिन्न जिल्लाबाट साथीहरू आउने क्रम जारी छ। उहाँहरू आएर सिफ्ट मिलाएपछि परीक्षण दर बढ्छ,’ उनले भनिन्, ‘जिल्लाबाट साथीहरू आएपछि दुईदिन उहाँहरूलाई सिकाउनलाई जान्छ। त्यसपछि दुवै मेसिन दुई सिफ्टमा चलाउँछौं।’

दुवै मेसिन पूर्ण सञ्चालनमा आएपछि प्रयोगशालाको फ्रिजमा राखिएका साढे २३ सय स्वाब परीक्षण गर्न एक साता समय लाग्ने प्रमुख सुवेदीले बताइन्।

क्षयरोग केन्द्रमा जडित पिसिआर मेसिनका लागि समेत दुई सिफ्टमा काम गर्नेसहित कुल ३६ जना प्राविधिक आवश्यक पर्ने प्रमुख सुवेदीले बताइन्। ‘एउटा पिसिआर सञ्चालन गर्न सबै गरेर ९ जना चाहिन्छ। दुई सिफ्टमा गर्दा एउटै प्रयोगशालामा १८ जना चाहियो। नयाँ प्रयोगशालामा समेत दुई सिफ्ट गर्दा ३६ जना चाहिन्छ,’ उनले भनिन्।

गण्डकी प्रदेशका ११ वटै जिल्लाको स्वाब परीक्षणका लागि पोखरा ल्याउने गरिएको छ। नवलपुरको स्वाब भरतपुरको प्रयोगशालामा परीक्षण गरिन्छ। अरु जिल्लाले समेत पोखराबाहेक अरु प्रयोगशालामा स्वाब पठाउने गरेका छन्।

नयाँ मेसिन पूर्ण क्षमतामा सञ्चालनमा आएपछि दैनिक साढे ४ सय स्वाबको रिपार्ट दिनसक्ने प्रदेश प्रयोगशालाले जनाएको छ। स्वाबलाई प्रयोगशालाका ९ वटा फ्रिजमा राखिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश प्रयोगशालाको गरी ६ वटा फ्रिज पहिल्यै थियो। स्वाब थुप्रिने क्रम बढेपछि ३ वटा नयाँ फ्रिज किनिएको हो।

स्वाबलाई तापक्रम मिलाएर केही समय फ्रिजमा राख्दा परीक्षणमा कुनै असर नपर्ने अनुवांशिक विज्ञ श्रीराम बास्तोला बताउँछन्। ‘स्वाब संकलन गरिएको दिनअनुसार केही दिन तापक्रम मिलाएर राख्दा भाइरस जीवित हुँदासम्म खासै असर पर्दैन। तर धेरै दिन राखिराख्दा रिपोर्ट डिग्रेड हुनसक्छ,’ उनले भने।

गण्डकी प्रदेशका ११ वटै जिल्लाको स्वाब परीक्षणका लागि पोखरा ल्याउने गरिएको छ। नवलपुरको स्वाब भरतपुरको प्रयोगशालामा परीक्षण गरिन्छ। अरु जिल्लाले समेत पोखराबाहेक अरु प्रयोगशालामा स्वाब पठाउने गरेका छन्।

पोखरास्थित प्रयोगशालाबाट रिपोर्ट ढिलो आउन थालेपछि स्याङ्जा, गोरखा र तनहुँका पालिकाले आफैं पिसिआर मेसिन किनेर सञ्चालन गर्ने निर्णय गरेका छन्। स्वाबको रिपोर्ट आउन ढिलो हुने र क्वारेन्टाइनमा राख्दा आर्थिक भार बढेपछि तीन जिल्लाका पालिकाले यस्तो निर्णय गरेका हुन्। ती पालिकाले प्रदेश सरकारसँग कर्मचारी माग्ने निर्णय गरिएको भए पनि प्रदेश आफंै कर्मचारी संकट झेलिरहेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशका विभिन्न जिल्लामा अहिले ५२ सय ३८ जना बसिरहेका छन्। प्रदेशका ११ जिल्लाका ७ सय ७१ ठाउँमा क्वारेन्टाइन बनाइएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए। ती क्वारेन्टाइनमा बसेका ३ हजार ७ सय ८८ जना घर फर्किएका छन्। प्रदेशभर ९ हजार ९ सय ६ बेड क्षमताको क्वारेन्टाइन बनाइएको निर्देशनालयको तथ्यांक छ।



Leave a Reply

Your email address will not be published.