क्वारेन्टाइनका स्वयंसेवक, भान्सेसहित जनप्रतिनिधिमा कोरोना संक्रमण
दाङको बंगलाचुली गाउँपालिका–६ मा एक जना जनप्रतिनिधिसहित क्वारेन्टाइनमा स्वयंसेवक काम गर्ने एक जना र अर्का भान्सेलाई पनि कोरोना संक्रमण देखिएको छ। आइतबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा वडा नम्बर ६ मा ४४ जनामा कोरोना संक्रमण देखिएको थियो।
संक्रमित ४४ जना मध्य एक जना वडा सदस्य, एक जना क्वारेन्टाइन स्वयंसेवक र एक जना क्वारेन्टाइनमा भान्सेका काम गर्ने रहेका परेका छन्। क्वारेन्टाइन व्यवस्थापनमा खटिदै आएका ५४ वर्षीय पुरुष जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बेदुलाल जिसीले जानकारी दिएका छन्।
वडा अध्यक्ष जिसीका अनुसार वडा नम्बर ६ को आधारभूत विद्यालय रिभाव क्वारेन्टाइनमा खटिएका २४ वर्षीय र सोही क्वारेन्टाइनमा भान्सेको काम गर्दै आएका ३० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। उक्त क्वारेन्टाइनमा राखिएका ३५ जना मध्य शनिवार दुई जना कोरोना संक्रमण देखिएको थियो। उनीहरू भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए।
दाङका सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको बंगलाचुली गाउँपालिकाको वडा नम्बर ६ मा मात्र ४७ जना कोरोना संक्रमित रहेका छन्। बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका आइतबार ५६ जनामा कोरोना संक्रमण फेला परेको थियो। उनीहरूमध्य दाङका ४८ र प्युठानका ८ जना रहेका छन्।
संक्रमितमध्ये सबैभन्दा धेरै बंगलाचुली गाउँपालिकाको वडा नम्बर ६ का ४४ जना छन्। उनीहरूमध्ये ३२ जना पुरुष र १२ जना महिलाहरू रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्। जसमा ५ जना बालबालिकाहरू समेत रहेका छन्।