प्रदेश दुईको बजेटप्रति यसकारण सशंकित छ प्रतिपक्षी

आगामी आर्थिक वर्षको लागि प्रदेश २ सरकारले आज बजेट ल्याउँदै छ। असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेट ल्याउन लागेको हो।

बजेट आउनु एक दिनअघि आइतबार लामो बहस र छलफलपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अन्य वर्षझैं यस पटक पनि सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित गराउने प्रदेश सरकारको प्रयास भने सफल हुन सकेन। यसअघि दुईपटक प्रतिपक्षी दलको सहयोगमा प्रदेश सरकारले सर्वसम्मतिले बजेट पारित गराएको थियो।

यस पटक पनि सर्वसम्मति गराउने सोच प्रदेश सरकारको थियो। तर, प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्ष दल नेपाली कांग्रेसको नीति तथा कार्यक्रममाथि सुरुदेखिको विरोध अन्त्यसम्म कायम रह्यो। र, प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले मात्र पारित भयो।

प्रदेश कोरोना महामारीको सामना गरिरहेको बेला प्रदेश सरकारको प्राथमिकतामा पर्न नसकेको उनीहरुको आरोप छ। प्रदेशको आठबटै जिल्लामा कोरोना प्रवेश गरिसकेको अवस्थामा समेत सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न चासो देखाउन नसकेको भन्दै दुवै दलका सांसदले एक दर्जनभन्दा बढी संशोधनसमेत दर्ता गरायो। यद्यपि बहुमत नपुगेपछि संशोधन प्रस्ताव अस्वीकृत भएको छ।

तत्काल अन्त्य हुन नसक्ने कोरोनालाई लक्षित गरी नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि सरकारले भएभरको सबै थोक समावेश गरेको प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव बताउँछन्।

प्रदेशभित्र संक्रमितको संख्या थपिँदै गइरहेको बेला प्रदेश सरकारले एक वर्षभित्र गर्नै नसक्ने अन्य कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरेर औपचारिकतामात्र पूरा गरेको उनको भनाइ छ। नीति तथा कार्यक्रममा प्राथमिकतामा नपरेपछि बजेटमा पनि प्राथमिकतामा नपर्ने उनको दाबी छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि २९ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको बुझिएको छ। गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ कम गरेर प्रदेश सरकारले बजेट ल्याउन लागेको हो।

‘संक्रमित बढ्दै जाँदा सबै जिल्लामा आइसोलेसनको अभाव छ, २० दिनसम्म क्वारेन्टाइनमा बस्दासमेत स्वाब परीक्षण नहुँदा मानिसहरू आक्रोशित भइरहेका छन्,’ यादव भन्छन्, ‘सरकारको नीति तथा कार्यक्रममा कोरोना पर्न सकेन्। बजेट पनि सोही अनुसार आउने निश्चित छ।’ कोरोना अस्पताल निर्माण, आइसोलेसन बेडको विस्तार, व्यवस्थित क्वारेन्टाइनलक्षित गरेर नीति तथा कार्यक्रम र बजेट आउनु पर्दथ्यो उनले बताए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि २९ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको बुझिएको छ। गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपैयाँ कम गरेर प्रदेश सरकारले बजेट ल्याउन लागेको हो। गत वर्ष पुँजीगत र चालू गरी प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो।

कुल बजेटको १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने प्रावधान छ। तर, तोकिएअनुसार स्वास्थ्यतर्फ बजेट विनियोजन हुने सम्भावना न्यून रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ। सामाजिक विकास मन्त्रालयले स्वास्थ्यसहित शिक्षा क्षेत्रको समेत जिम्मेवारी वहन गर्नुपर्ने भएकोले स्वास्थ्यलाई मात्र १० प्रतिशत रकम विनियोजन गर्न समस्या रहेको बताइएको छ।

तर, नीति तथा कार्यक्रममा समावेश गरिएका अन्य कुरालाई तत्काल थाँती राखेर भएपनि कोरोना रोकथामका साथै रोजगारी सिर्जना हुनेखाले कार्यक्रम सरकार ल्याउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा बताउँछन्। ‘पूरा प्रदेश कोरोनाले अक्रान्त छ, हरेक दिन संख्या थपिँदै छ, तर, कसरी नियन्त्रण गर्ने प्रदेश सरकारलाई चासो छैन, उनी भन्छन्,‘दुई अर्ब खर्च भएको सुनिएको छ, कहाँ कसरी रकम खर्च भएको छ, सरकारले जवाफ दिनुपर्यो।’

नीति तथा कार्यक्रममै प्राथमिकतामा नपरेपछि कोरोनालाई लक्षित गरेर बजेट आउने सम्भावना पनि कमै देखिन्छ उनले बताए। ‘सोमबार बजेट आउँदै छ, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नपारिए नीति तथा कार्यक्रमजस्तै बजेट पास गराउन पनि हाम्रो असहयोग रहने छ,’ विश्वकर्माले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय