प्रदेश दुईमा आइसोलेसन बेडभन्दा कोरोना संक्रमित धेरै

प्रदेश २ मा कोरोना संक्रमितको संख्या हरेकदिन बढ्दो क्रममा छ। भारतमा रहेका नेपालीहरू फर्किने क्रम सुरु भएसँगै प्रदेशभित्र संक्रमितको संख्या बढ्दै गएको हो। प्रदेश २ कोरोनाको उच्च जोखिममा रहेको पूर्वानुमान गरिएको थियो।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश २ मा आइसोलेसन बेडको समेत अभाव हुनथालेको छ। ‘लकडाउन’ लागु भएको तीन महिना पुग्न केही दिनमात्र बाँकी छँदासमेत प्रदेश सरकारले आइसोलेसन बेडको उचित व्यवस्थापन गर्न सकेको छैन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ कर्मचारीले आइसोलेसन बेडको संख्या कम हुँदै गएपछि संक्रमित पुष्टि भएकाहरूलाई क्वारेन्टाइनमा राख्नु परेको बताए। ‘कतिपय जिल्लाहरूमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ, संक्रमितहरूलाई आइसोलेसनमा राख्न बेडको अभाव भएको छ,’ ती कर्मचारीले भने,‘पूर्वतयारी नहुँदा यस्तो अवस्था आएजस्तो लागेको छ।’

सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजा ९१३ पुगिसेको छ।

तर, प्रदेशको विभिन्न जिल्ला गरी जम्मा आइसोलेसन बेडको संख्या १ हजार ४११ मात्र छ। कोरोना संक्रमित संख्याको तुलनमा आइसोलेसन बेड कम भएपछि संक्रमण पुष्टि भएकाहरू क्वारेन्टाइनमै बस्न बाध्य भएका छन्। सरकारकै तथ्यांकअनुसार पाँच सयभन्दा बढी संक्रमितहरू आइसोलेसनसम्म पुग्न सकेका छैनन्।

महोत्तरीमा १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तर, त्यहाँ आइसोलेसन बेडको संख्या १५६ मात्र छ। महोत्तरीमा ८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश २ को रौतहटमा संक्रमितको संख्या ६७० पुगिसेको छ। तर, त्यहाँ आइसोलेसन बेडको संख्या मात्रै ३११ छ। सामाजिक विकास मन्त्रालयले रौतहटमा २०९ जना आइसोलेसनमा रहेको जनाएको छ।

यसैगरी सर्लाहीमा ४८२ जनामा संक्रमण पुष्टि भइसकेको छ भने त्यहाँ आइसोलेसन बेड जम्मा २८० रहेको मन्त्रालयको तथ्यांकमा जनाइएको छ। सर्लाहीमा २४१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

धनुषामा पनि संक्रमितको तुलनामा आइसोलेसन बेड अपुग देखिएको छ। १२७ वटा आइसोलेसन बेड रहेको धनुषामा संक्रमितको संख्या १५९ पुगिसकेको छ। तर, मन्त्रालयले जनाएअनुसार धनुषामा जम्मा ७६ जनालाई आइसोलेसनमा राखिएको छ।

महोत्तरीमा १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तर, त्यहाँ आइसोलेसन बेडको संख्या १५६ मात्र छ। महोत्तरीमा ८० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारको खेलाचीका कारण प्रदेशभित्र कोरोनाले भयावह रुप लिँदै गरेको प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा बताउँछन्। प्रदेश सरकारले कोरोनालाई लक्षित गरेर पूर्वतयारी गर्न नसकेको उनको आरोप छ।

सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रममा समेत कोरोनालाई प्राथमिकतामा राख्न नसक्नु दुर्भाग्यपूर्ण रहेको विश्वकर्माको भनाइ छ।

‘कोरोनाकै नाममा प्रदेश सरकारले दुई अर्ब खर्च गरिसकेको सुनेको छु, तर, काम केही भएको जस्तो लागेको छैन्,’ विश्वकर्मा भन्छन्,‘ सरकारले आइसोलेसन र क्वारेन्टाइनसमेत व्यवस्थित गर्न सकेको छैन्। दुई अर्ब रुपैयाँ कहाँ खर्च भयो सरकारले प्रदेशसभामा हिसाब दिनु पर्दछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय