‘हटस्पट’ बनेको नरैनापुर कोरोना मुक्त
नेपालगञ्जको नरैनापुर केही दिन पहिलेसम्म कोरोनाको हट स्पट बनेको थियो। तर, अहिले स्थिति शान्त बन्दै गएको छ।
भौतिक पूर्वाधार, सडक बिजुलीबत्ती, शिक्षा तथा स्वास्थय सबैमा पछाडि परेको नरैनापुरमा अचानक भारतबाट आएका नेपालीहरूलाई व्यवस्थितरुपमा क्वारेन्टाइनमा राख्न नसक्दा कोरोनाको ‘हटस्पट’ बन्यो।
पहिलो पटक ८ जनामा देखिएको संक्रमण दोस्रो ४७, तेस्रो पटक १२ हुँदै १ सय १८ जनामा देखियो। कोरोनाबाट एक जना युवाको मृत्युसमेत भयो। चौतर्फी त्रासपूर्ण माहोलको सृजना भयो। संक्रमित भेटिएकाहरूलाई आइसोलशन अस्पताल लैजानलाग्दा कैयो पटक तनाव र झडपको भयो।
अवस्था गाउँपालिकाको नियन्त्रण बाहिर गएपछि स्थानीय निकायले केन्द्र सरकार गुहारेका थिए। फलस्वरुप गाउँपालिकामा निषेधाज्ञा जारी गर्दै सेनासमेत परिचालन गरियो। एक महिना त्रासकै बीच बित्यो।
तर, यतिबेला नरैनापुर कोरोना मुक्त बनेको छ भने स्थानीयले सन्तोषको स्वास फेरेका छन्। कोरोना संक्रमित सबै निको भएर घर फर्किएकोमा गाउँपालिकाले खुशी व्यक्त गरेको छ।
शनिबार पछिल्लो पटक नरैनपुरका २४ जना संक्रमितको रिपोर्ट निगेटिभ आएर डिस्जार्च भएसँगै नरैनापुर कोरोनामुक्त भएको गाउँपालिकाका सुचना अधिकृत लक्ष्मीकान्त मिश्रले बताए।
गाउँपालिका अध्यक्ष मोहम्द ईस्तियाक अहमद शाह पनि कोरोना नियन्त्रणमा निकै खटिएका थिए। गाउँपालिकामा आफूहरूले नसोचेको संख्यामा भारतबाट मान्छे आएर समस्या थपिएको अध्यक्ष शाले बताए।
बाँकेमा भने कोरोना संक्रमितको संख्यामा कमी आएको छैन। र, क्वारेन्टाइनको व्यवस्थापन अझै प्रभावकारी बन्न सकेको देखिदैन। अहिलेसम्म नरैनापुरमा करिब एक हजार ३ सय जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन्। यस्तै अझै पनि विभिन्न ५ क्वारेन्टाइनमा १ सय ३५ जना बसिरहेका छन्।
यी मध्ये ५० जनाको स्वाब संकलन भइसकेको गाउँपालिकाले जनाएको छ।