अस्पतालबाट नागरिकमा सर्यो कोरोना
सेती प्रादेशिकको डाइलासिस सेवा लिने धनगढीका एकजनामा कोरोना पुष्टि भएको छ। धनगढी-३ विशालनगर बस्ने अन्दाजी ४० वर्षीय पुरुषमा शनिबार कोरोना पुष्टि भएको हो।
उनी घरबाट अन्यत्र कतै नगएको र डाइलासिस सेवा लिन अस्पतालमात्रै गएको उनकी श्रीमतीले बताइन्।
सेती प्रादेशिक अस्पतालमै डाइलासिस सेवा लिएकी धनगढी-४ महिमा टोलकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको थियो। शनिबार कोरोना पुष्टि भएका ती पुरुष र मृतक महिलाले एउटै डाइलासिसबाट सेवा लिँदै आएका थिए।
अस्पताल प्रशासनले भने बाहिरबाट कोरोना सरेको हुन सक्ने जिकिर गर्दै आएको छ।