‘टेकाे’ भाँचिएकाे टेकु अस्पताल

कोरोना भाइरसको महामारीकै बेला सरकारले सार्वजनिक गरेको २०७७/०७८ को वार्षिक बजेटमा सरकारले केन्द्रमा तीन सय र प्रदेशमा कम्तीमा ५० शैय्याकाे सरुवा रोग अस्पताल बनाउने घोषणा गर्‌यो।

तर ८६ वर्षदेखि सञ्चालनमा रहेको नेपालको एक मात्रै सरुवा रोग अस्पतालको बारेमा बजेटमा एक शब्द उल्लेख भएन।

भएकै सरुवा रोग अस्पतालको विस्तार, स्तरोन्नतिबाट तत्काल धेरै सेवा पुर्‌याउन सकिने अवस्थामा सरकारले नयाँ बनाउने भनेर घोषणा गरेको अस्पतालबारे धेरै कुरा अन्याेलमै छ।

प्रदेश तहमा समेत सरुवा रोग अस्पताल बनाउने भनेर गरिएको घोषणाले सरुवा रोगलाई प्रथामिकता दिएको देखिए पनि सञ्चालनमै रहेकाे ‘शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल’ भने बेवास्तामा परेको छ।

सरकारले सरुवा रोगको विषयमा यस अगाडि ध्यान नदिएको र कोभिड-१९ महामारीपछि बल्ल सरुवा रोग उपचारका विशिष्टीकृत संस्थाको महत्त्व विस्तारै बोध हुन थालेको डा. भण्डारी बताउँछन्।

मुलुकमा पछिल्ला दिनमा दैनिक तीनदेखि चार सय हाराहारीमा कोरोना भाइरसका बिरामी थपिँदै गर्दा आगामी दिनमा उपचारका लागि भरपर्दो विकल्प खोजी भइरहेको छ। तर, सरकारले एक मात्रै सरुवा रोग अस्पताललाई सामान्य लक्षण देखिएका बिरामीलाई मात्रै उपचार गर्न सक्ने दोस्रो तहको अस्पतालको रूपमा मात्रै सूचीकृत गरेको छ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पछिल्ला दिनमा नसर्ने रोगलाई विश्वव्यापी स्वास्थ्य समस्याको रूपमा लिएर त्यसैमा लगानी थपिने र सरुवा रोगका नयाँ संस्था बन्ने त परेको कुरा भएको संस्था पनि बेवास्तामा पर्ने गरेको बताए।

सरकारले सरुवा रोगको विषयमा यस अगाडि ध्यान नदिएको र कोभिड-१९ महामारीपछि बल्ल सरुवा रोग उपचारका विशिष्टीकृत संस्थाको महत्त्व विस्तारै बोध हुन थालेको डा. भण्डारी बताउँछन्।

डा. भण्डारी पनि पहिला नै सुविधासम्पन्न अस्पताल भएको भए सरकारले यति धेरै बजेट खर्च गनुपर्ने अवस्था नआउने बताउँछन्।

अहिले पनि भएकै पूर्वाधारहरूका प्रयोगबाट आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनको सन्दर्भमा भन्दा पनि महामारीको प्रतिकार्यको रुपमै सरुवा रोग अस्पताल विस्तारको काम थाल्नुपर्ने विज्ञहरू बताउँछन्।

यसरी सुरु भएको थियो अस्पताल

विसं‌‌ १९९० मा हैजा तथा झाडापखालाका बिरामीको उपचारका लागि कलेरा अस्पतालको नामबाट खुलेको सो अस्पताल २०५३ माघ ११ देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको रूपमा रुपान्तरण भएको थियो।

अस्पतालले ८६ औं वर्ष पार गरिसकेको छ। तर, समयअनुसार अस्पतालले काँचुली फेर्न सकेको छैन।

प्रत्येक वर्ष कुनै न कुनै जिल्ला सरुवा रोगको प्रकोपबाट प्रभावित बनिरहेका छन्। २०६६ सालमा मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लाहरूमा झाडापखाला, हैजाले हजारौं मानिसले ज्यान गुमाए। केही वर्षयता प्रत्येक वर्ष डेंगु तथा स्क्रब टाइफसजन्य रोगका कारण थुप्रैको ज्यान गइरहेको छ। सर्पदंश र कुकुरले टाेकेका बिरामी त्यत्तिकै आउँछन्।

हाल मुलुकले कोरोना भाइस (कोभिड १९) को महामारी झेलिरहेको छ। सरुवा रोगको एक मात्र भरोसाको केन्द्र रहेको अस्पताल जीर्ण छ।

२०७२ सालमा गएको भूकम्पका कारण अस्पतालको भवन चिरा-चिरा भएको छ। त्यही चिरा-चिरा भएको ४६ वर्ष पुरानो भवनबाट अस्पतालले सेवा प्रदान गर्दै आएको छ। तर, सरकारको अस्पतालको भौतिक संरचना तथा थप सेवा विस्तारको तर्फ ध्यान जान सकेको छैन।

कोरोना आयो, एचआइभी एड्स, क्षयरोग, रेबिजका बिरामी अलपत्र

आर्थिक वर्ष २०७७–२०७८ को लागि सरकारले यो अस्पतालका लागि १७ करोड ७३ लाख बजेट छुट्याएको छ। १० करोडभन्दा बढी कर्मचारी तलबमा खर्च हुने अस्पतालको तथ्यांक छ। बाँकी रहेको रकम विद्युत, खानेपानी, औषधी खरिदमा सकिने अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले बताए।

सरकारबाट प्राप्त भएको रकम तलबमा सकिने गरेकाले थप सेवा विस्तारमा केही उपलब्धि नभएको खतिवडाको भनाइ छ।

२०७२ सालमा गएको भूकम्पका कारण अस्पतालको भवन चिरा-चिरा भएको छ। त्यही चिरा-चिरा भएको ४६ वर्ष पुरानो भवनबाट अस्पतालले सेवा प्रदान गर्दै आएको छ। तर, सरकारको अस्पतालको भौतिक संरचना तथा थप सेवा विस्तारतर्फ ध्यान जान सकेको छैन।

कोरोना संक्रमितको उपचारको कारणले अस्पतालले दिने अन्य सेवा दिन अहिले प्रभावित छन्।

भवन अभाव भएकै कारणले बिरामीलाई अन्य अस्पतालमा सिफ्ट गर्नुपरेको डा. भण्डारी बताउँछन्। ‘एचआइभी एड्स, क्षयरोग, रेबिजका बिरामीलाई अन्य अस्पतालमा सिफ्ट गनुपरेको छ,’  डा. भण्डारीले भने, ‘अन्य अस्पतालबाट राम्रो सेवा नपाइरहेको गुनासो सुनिरहेको छु।’

२०६० सालदेखि एचआइभी एड्सका बिरामीका लागि एआरभी औषधी वितरण पनि सुरु भएको थियो। पहिला २५ जनाबाट एआरभी वितरण सुरु गरेको अस्पतालबाट अहिले वार्षिक दुई हजारभन्दा बढीले औषधी सेवा लिइरहेका छन्।

यो अस्पतालले सरुवा रोगहरु टाइफाइड, टिटानस, ज्वरो, कालाजार, मलेरिया, जनावरका टोकाइ जस्तैः सर्पदंश, कुकुरले टोकेको, मुसा आदिले टोकेकालाई सेवा उपलब्ध गराउँदै आएको थियो।

कोरोना संक्रमितका कारण अस्पतालले दिने सेवाबाट हजारौं वञ्चित हुन पुगेका छन्।

अस्तव्यस्त अस्पताल

अहिले यो अस्पतालको क्षमता सय शैय्या हो। कोभिडका बिरामीका लागि अस्पतालमा हाल २४ आइसियु, ३० आइसोलेसन र बाँकी जनरल शैय्या छन्। अस्पतालको भौतिक संरचनाको लागि सरकारले केही पहल गरेको छैन। बजेटको लागि प्रत्येक वर्ष अस्पताल मर्मतको लागि रकम माग गर्दै आएका छौं,’ खतिवडाले भने, ‘तर, कहिले पनि सरकारले प्राथमिकतामा राख्न सकेन।’

अस्पतालमा हाल जनरल बेड निकै पुराना छन्। बेडहरू च्यातिएका तथा सामान्य खालका रहेको देख्न सकिन्छ।

संसारभरका देशमा सरुवा रोगका चुनौतीलाई सामना गर्न विशेषज्ञ जनशक्ति तयारीमा राज्यले विशेष ध्यान दिने गरेको छ। तर, नेपालमा सरुवा रोगका विशेषज्ञको कमी छ। भएका पनि सरकारी सेवामा आकर्षित हुन सकेका छैनन्।

२०७३ माघ १० गतेबाट मात्रै अस्पतालले मन्त्रालयबाट सिटी स्क्यान पाएर सेवा सुरु गर्यो। तर, रेडियोलोजिस्टको दरबन्दी नै नभएको कारण सेवालाई निरन्तरता दिन सकेको छैन।

‘कोभिडको बिरामीका लागि २० वटा आइसियू बेड थप गरेको छौं,’ खतिवडाले भने, ‘तर आइसियूमा चाहिने एनेस्थेसियाको दरबन्दी छैन।’

२०६२ सालदेखि दरबन्दी थप हुन सकेको छैन। भएका दरबन्दी पनि धेरै खाली नै रहेका छन्। हाल टेकुमा १ सय ६७ जनाको दरबन्दी छ। त्यसमध्ये पनि ग्यास्ट्रो मेडिसिन, कार्डियोलोजी, जनरल प्राक्टिस इमर्जिङ मेडिसिन, प्याथोलोजिष्ट, एनेस्थेसिया, रेडियोलोजिष्ट, डर्माटोलोजिष्ट जस्ता दरबन्दी रिक्त नै छन्।

अस्पतालमा शल्यकक्ष अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ। कुकुरले टोकेर घाउ भएका, बिरामीको सामान्य शल्यक्रिया गर्न र घाउ सिलाउन आवश्यक हुन्छ। तर, अस्पतालसँग विशेष अभाव तथा शल्यक्रिया कक्षका बिरामीलाई रेफर गर्ने बाध्यता छ।

अस्पतालमा बिरामीको चाप बढ्दो

विभिन्न समस्याको बाबजुद पनि अस्पतालमा बिरामीको चाप बढ्दै गएको तथ्यांकले देखाएको छ। अस्पतालको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा तीन लाख ८१ हजार ८४ जनाले ओपिडी सेवा लिएका छन्। आर्थिक वर्ष २०७१/७२ मा अस्पतालबाट ३१ हजार ७ सय ७० जनाले ओपिडी सेवा लिएका थिए।

त्यसैगरी, २०७२/७३ मा ५१ हजार २ सय २, २०७३/७४ मा ६५ हजार २ सय ५, २०७४/७५ मा ९४ हजार ४ सय ७७ र २०७५/७६ मा १ लाख ३ हजार ३ सय ५० जनाले ओपिडी सेवा लिएका थिए।

आकस्मिकतर्फ भने पछिल्ला पाँच वर्षमा ३० हजार ९ सय १० जनाले सेवा लिएको अस्पतालको तथ्यांक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय