नर्सको कण्ठबाट निस्केको ‘शिरमा फूल’ भाका, घरमा दिइन् ‘सरप्राइज’
भनिन्छ, साहित्यकारको मन कोमल हुन्छ अनि स्वास्थ्यकर्मीको कठोर।
सायद थुप्रै खाले बिरामीका पीडामा मलम लगाउन बलियो मुटु चाहिने भएकाले भनिएको होला स्वास्थ्यकर्मीको मनलाई कठोर।
यदि त्यो मन कठोर हुन्थेन भने जटिल प्रकारका अप्रेसन र उपचार नै सम्भव हुँदैन थियो होला।
कठोर मन बनाएर उपचार गर्ने स्वास्थ्यकर्मीको बोली भने नरम हुन्छ। त्यसैले त धेरै खाले रोगलाई स्वास्थ्यकर्मीको बोलीले नै परास्त गरिदिन्छ।
मीना कार्की। पेसाले उनी नर्स। बिरामीको हेरचाह गर्नु उनको कर्तव्य।
तर उनको बालपनदेखिको सौख गीत गाउने र गायिका बन्ने।
त्यसैले त अहिने पनि जब एक्लै हुन्छिन् तब गुनगुनाउन सुरु गरिहाल्छिन्।
कार्यालय, घर होस् वा रेस्ट रूम एक्लै हुँदा गाउने मन लागिहाल्छ।
सानैदेखि गीत संगीतमा रुचि हुँदाहुँदै पनि गाउन नपाएकी उनका दबिएका रहर र इच्छा बाहिर आउँछन्। सम्हाल्न सक्दिनन्।
भित्रको कुण्ठा बाहिर निस्किन दबाब दिन्थ्यो। उनी भित्रभित्रै जहिल्यै गाइरहेकी हुन्थिन्।
सानैदेखि गाउने चाहना हुँदाहुँदै पनि उनले न मौका पाइन् न घरपरिवारको साथ।
तर उनले आफूभित्रको इच्छा मर्न दिइनन्। वर्षौंसम्म एक्लै गुनगुनाइ रहिन् आफ्नो सपना पूरा हुने आसमा।
जब कोही गायिका स्टेजमा प्रस्तुति दिन जान्थे उनी आफूलाई स्टेज उक्लिएको महसुस गर्थिन्।
सोच्थिन यतिको त म पनि गाउँथे होला।
गीत भनेपछि हुरुक्कै हुने उनी।
स्कुलमा कुनै क्रियाकलाप हुँदा गीत गाउनैपर्ने। मीठो स्वर भएकाले सबैले गाउन पनि बोलाइहाल्ने।
स्कुलमा पढाइका साथै खेलकुद तथा अन्य क्रियाकलापमा समेत मीना अब्बल थिइन्।
यति हुँदा पनि उनले गाउने मौका अहिलेसम्म पाइकी थिइनन्।
यतिबेला बालपनदेखिको अधुरो सपना पूरा भएको छ उनको।
नर्स मीनाले सदीक्षा गीतिएल्बम बजारमा ल्याएकी छिन् यतिबेला। त्यसमा ‘शिरमा फूल’ बोलको शीर्ष गीत छ। यसै एल्बमका बाँकी तीन गीत भने सार्वजनिक गरिएको छैन।
आफूलाई वर्षौंदेखि अधुरो ठानिरहे पनि अहिलो सपनाले पूर्णता पाएको आभास गरेकी छन्।
‘वर्षौदेखि मनभित्र थुनिएर र दबिएको रहरले पूर्णता पाएको छ, खुसी महसुस गरेकी छु,’ कार्की भन्छिन्, ‘बाल्यकालदेखि गुम्सिएर र दबाएर राखेको सपना पूरा भएको छ।’
शिरमा फूल एल्बमका चारवटै गीतमा नर्स मीनाको आफ्नै स्वरमा छ।
कोरोना भाइरसको महामारीसँग अग्रभागमा लडिरहेका नर्सका लागि पनि गीत गाउँदैछिन् उनी।
नर्सहरूलाई हौसला उत्प्रेरणा, संयमता र धैर्य दिने कर्तव्य र दायित्व सम्झाउने गीत पनि उनले बजारमा ल्याउने तयारी गरिरहेकी छन्।
दिनभर बिरामीको हेरचाहामा खटिने उनी फुर्सद हुँदा गीत गाइहाल्छिन्। क्याबिनमा मात्रै होइन बिरामी तथा स्टाफसामु पनि गीत गाइदिन्छन् उनी।
अस्पतालमा साथीभाइसँग र बिरामीका अगाडि गीत गाए पनि आफ्ना श्रीमान र छोरीका अघि भने कहिल्यै गाइनन्। गाउन मन छ पनि भनिनन्।
श्रीमान तथा छोरीलाई उनी गीत गाउँछिन् भन्ने छनकसम्म थिएन।
यसको एउटै कारण थियो मीना छोरी र श्रीमानलाई सरप्राइज दिन चाहान्थिन्।
‘अस्पताल तथा स्टाफमाझ गीत गाउने गरेको भए पनि श्रीमान तथा छोरीलाई गाउँछु भन्नेसम्म थाहा थिएन। अहिले सबैले राम्रो रहेछ भनेर साथ सहयोग र हौसला दिइरहेका छन्,’ उनी भन्छिन्।
उनका श्रीमान र छोरीलाई भने उनको गीत बजारमा आउँदैछ भनेर एल्बम विमोचन कार्यक्रमको दिनमात्रै थाहा भएको थियो।
कार्कीले एल्बम विमोचन समारोहमा श्रीमानको अफिसबाट को–कोलाई बोलाउने भनेर छलफल गर्दा मात्रै उनीहरूले थाहा पाएका थिए।
बिरामीहरूका अगाडि पनि थुप्रै गीत गाएको र उनीहरू खुसी भएको मीना सम्झिन्छन्।
नर्स मिनाले स्कुलमा गीत गाउन सुनेका र देखेका नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले उनको स्वरको तारिफ गर्दै काठमाडौं जान सुझाएका थिए। जतिबेला उनी १५ वर्षकी थिइन्। तर उनले सोचेजस्तो भएन। गीत गाउन मन थियो र कहाँ जाने, के गर्ने केही थाहा थिएन।
सुर्खेतमा माध्यमिक तहसम्मको पढाइ पूरा गरेकी उनलाई गाउन मन थियो। तर गाउँघरमा छोरी मान्छेले गीत गाउनु हुन्न भनेर कुरा काट्थे। गाउँलेले कुरा काट्ने भएपछि आमाबा पनि केही बिच्किएका थिए।
स्कुल पढ्दापढ्दै १७ वर्षको उमेरमा उनको बिहे भयो। १९ वर्षमा छोरी जन्माइन्। छोरी जन्मिएपछि उनले एसएलसी पास गरेकी थिइन्।
बिहेबारी भएपछि घरबारसम्हाल्नुपर्ने अवस्था आयो। त्यही बेलादेखि उनको सपना दबिएर बस्यो।
एसएलसीपछि उनले छोरी हुर्काउन सँगै र पढाइलाई निरन्तरता दिइन्।
उनले बेंग्लोरको मिरन्डा कलेज अफ नर्सिङबाट नर्सिङमा मास्टर्स गरेकी छन्। आफ्नो ब्याचका छात्रवृत्तिमा पढ्न गएका १२ जनामध्ये उनी उक्लै पास भएकी थिइन्। मीना आफ्नो शैक्षिक जीवनमा श्रीमानको ठूलो सहयोग रहेको बताउँछिन्।
स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको २० वर्षपछि उनको सपनाले पूर्णता पाउँदा दंग छिन्।
उनी पाटनस्थित मानसिक अस्पताल कार्यरत छिन्। यसका अलावा उनी अल्का अस्पतालमा पनि काम गर्छिन्। साथै मानसिक रोग अस्पतालकी सिनियर नर्स पनि हुन्।
सरकारी सेवाबाट २० वर्षे सेवाअवधिका कारण सेवानिवृत्त भए पनि उनी अझै मानसिक अस्पतालमा काम गर्छिन्।
कोरोना भाइरसको महामारी फैलिएसँगै स्वास्थ्यकर्मी जोखिममा परेका भए पनि उनी पेसामा खटिइरहेकी छन्।
‘महामारीको समयमा कर्तव्यविमुख भएर घर बस्नु पनि भएन, स्वास्थ्यकर्मी तथा नर्सले नै पछि हटे स्वास्थ्य क्षेत्र झन जोखिममा पर्छ,’ नर्स तथा गायिका कार्की भन्छिन्, ‘महामारीको बेला नर्सलार्ई काउन्सिलिङ गरेर हौसला, उत्प्रेरणा र संयमता सिकाउन जरुरी छ, दिनहुँ नर्सलाई सम्झाउने बुझाउने काम गरिहन्छु, आफू पनि सकिँदासम्म बिरामीको सेवा गर्छु।’
काम गरिरहेका दुईमध्ये एक संस्थाको काम छाडेर आफ्नो खुसीका लागि संगीत यात्रा अघि बढाउने उनको सोच छ। ‘जागिर खाएँ, पेन्सन पाएँ, अब दुईमध्ये एक ठाउँको जागिर छाडेर संगीतमा लाग्छु। मेरो बच्चादेखिको खुसी तथा चाहना पूरा गर्छु,’ नर्स मीना योजना सुनाउँछिन्।