रौतहटमा पनि स्वास्थ्य अधिकृतलाई जागिरबाट हटाइयो

हेल्थपोस्ट/जनकपुर
प्रकाशित
२०७७ जेठ ३० गते १७:२४

रौतहटको मौलापुर नगरपालिकाले एकजना मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ। कोरोना संक्रमणको बेला काममा असहयोग गरेको भन्दै नगरपालिकाले मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई बर्खास्त गरेको हो।

कोरोना तिब्र रुपमा बढिरहेको बेला दिइएको जिम्मेवारी पूरा नगरेपछि नगरपालिकाको पतौरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.हरिशंकर प्रसादलाई बर्खास्त गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहले जानकारी दिए।

बर्खास्त गरिएका डा.प्रसादलाई नगरपालिकाले चैत महिनामा करारमा भर्ना गरेको थियो।

आफूपनि क्वारेन्टाइनमा नजाने र अन्य स्वास्थ्यकर्मीलाई समेत क्वारेन्टाइनमा नजान उकसाएको पाइएपछि बाध्य भएर उनलाई बर्खास्त गर्नुपरेको स्वास्थ्य संयोजक साहले बताए।
‘क्वारेन्टाइनभित्र गए संक्रमण हुने भनेर उहाँ कहिल्यै बिरामी जाँच्न जानु भएन्, अन्य स्वास्थ्यकर्मीलाई पनि उकसाउनु भयो,’ साहले भने,‘पटक पटक उहाँलाई आग्रह गर्दासमेत मान्नु भएन्। चारदिन बिना स्वास्थ्यकर्मीकै क्वारेन्टाइन चलाउनु पर्‍यो।’

प्रसादले पदीय मर्यादाविपरित काम गर्दै कोरोना संकटको बेला असहयोग गरेकोले नगरपालिकाले स्पष्टिकरणसमेत सोधेको थियो। ‘पदीय मार्यदाविपरित काम गरेकोले तपाईंलाई किन कारबाही नगर्ने भनेर हामीले स्पष्टिकरण सोधेका थियौं,’ स्वास्थ्य संयोजक साह भन्छन्,‘तर उहाँले सन्तोषजनक जबाफ दिनसक्नु भएन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय