१४ दिन आइसोलेसन वार्डभित्र बस्दा डाक्टरको अनुहार पनि हेर्न पाइएन : संक्रमित पत्रकार

विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको अवस्थामा नेपालमा पनि कोरोना कहर विस्तारै उक्लिँदै छ। परीक्षण दायरा विस्तारलगायतका काममा सरकारको कामको प्रशंसा भए पनि अन्य तयारीबारे सरकारको आलोचना भइरहेको छ। संक्रमितको अवस्थाबारे सरकार गम्भीर हुन सकेको छैन। पहिलेचोटि नेपाली पत्रकारमा संक्रमण देखिएकामध्ये एक व्यक्ति हुन् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष। संक्रमित रहँदा उनले अस्पतालमा कसरी दिन बिताए?, संक्रमित व्यक्तिहरू कसरी निको हुँदैछन् ? लगायतका विषयमा केन्द्रित रहेत हेल्थपोस्ट नेपालका लागि उनै पत्रकार श्याम बन्जारासँग आरोहण शाहले गरेको कुराकानी:

कोरोना संक्रमित भएको खबर सुन्दा तपाईलाई कस्तो महसुस भयो अनि तत्काल के गर्नुभयो?

आजभन्दा एक महिनाअगाडि अर्थात वैशाख ३० गते मेरो जीवनमा कहिल्यै नमेटिने आगो सल्किएझैं कोभिड–१९ पोजिटिभ रिपोर्ट आयो। सुरुमा साँच्चिकै नै संक्रमण भएलगत्तै अब मानिस बाँच्दैन भन्ने खालको बजार हल्ला थियो। त्यसले मलाई पनि नछोएको होइन। तर विस्तारै यो लागेर मानिस नै मरिहाल्ने होइन र यसलाई उच्च मनोबलसाथ जित्न सकिन्छ भन्ने संकल्प लिएँ। त्यही संकल्पका लिएका कारण कोरोना जितेको छु।

अहिले उदाहरणीय व्यक्ति बनेको छु। संक्रमण भएको खबर पाएलगत्तै म आफैंले बारम्बार नारायणी अस्पतालमा स्थापित कोभिड अस्पतालको आइसोलेसनमा जान त्यहाँका मेडिकल सुपरिटेन्डेन्टलाई फोन गरे। अविलम्ब अस्पतालसम्म जाने व्यवस्था गरिदिन आग्रह गरें। २ बजे आएको थियो कोरोना पोजेटिभको रिपोर्ट। तर, व्यवस्थापकीय समस्याका कारण समयमा मलाई लिन आइएन। आफू कार्यरत कार्यालयमै बेलुका ९ बजेसम्म बसें। त्यसपछि बल्ल अस्पतालले एम्बुलेन्स पठायो र त्यहाँ गएँ।

आइसोलेसन अवस्था कस्तो थियो, संक्रमित व्यक्तिहरूको हेरचाह कसरी हुँदोरहेछ त?

अस्पताल पुगेपछि सामाजिक सञ्जाल र अन्य समाचारमा आइसोलेसनको मापदण्डबारे त पूर्वज्ञान थियो नै तर त्यहाँ पुग्दा त्यस्तो केही देखिनँ। ठानें घरभन्दा उपयुक्त कुनै पनि हालतमा अस्पताल हुन सक्दैन भन्ने भयो। तर विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको विद्यमान मापदण्डअनुरुप घरमा नै सुरक्षित भएर बस्ने अवस्था थिएन। बाध्यतावश बसियो।

संक्रमण देखा परेपछि आफ्नै पेशाकर्मी साथीहरूले समेत गर्ने व्यवहार र समूहगत रूपमा भाइरसका संक्रमण गरायो भन्ने अनेक खालका आक्षेपका कारण त झन् कति मानसिक तनाव सिर्जना भयो होला त्यसको अनुमान लगाउन सकिन्न।

कोरोना संक्रमणको उपचारमा खटिने चिकित्सक कति बेला आउलान् र चाँडोभन्दा चाँडो घर जान सक्ने गरी सतर्कता अपनाउन सकिन्छ भनेर चिकित्सकीय परामर्श कुरेर बसेको बस्यै हुनुपर्यो। आफू आउने दिनसम्म पनि आइसोलेसन वार्डभित्र डाक्टरको अनुहार हेर्न पाइएन।

आफ्नै सतर्कता, डब्लुएचओले जारी गरेको निर्देशन, खानपान, पर्याप्त मात्रामा तातोपानी, अदुवा, बेसार र दालचिनी मिलाएको उमालेको पानी पिउँदा १४ दिन अन्तरालमा दुईपटक परीक्षणको रिपोर्ट नेगेटिभ आयो। त्यसपछि कोरोना जितेर जेठ १२ गते घर फर्कंदा हर्षको सीमा रहेन। हिम्मत दरिलो बनायो भने भाइरसलाई पनि जित्न सकिन्छ भन्ने आत्मविश्वास बढ्यो।

भनेपछि तपाई आफ्नै किसिमको सावधानीबाट निको हुनुभयो?

हो, म आफ्नै सावधानीबाट निको भएँ। कोरोना भाइरसका कारण अहिले पूरै विश्व नै आक्रान्त बनेको बेला नेपालजस्तो अति कम विकसित मुलुकका लागि यसको नियन्त्रण झन् बढी चुनौतीपूर्ण हुनु अस्वाभाविक होइन। अन्य विकसित मुलुकको तुलनामा यहाँ राम्रो स्वास्थ्य सेवा छैन।

तथापि घरेलु उपचार जस्तै तातोपानी, अदुवा र बेसारपानी, कागती जस्ता रोग प्रतिरोधात्मक क्षमता विस्तार गर्ने तातो र झोलिलो पदार्थको पर्याप्त सेवन गरेको खण्डमा यसलाई परास्त सकिन्छ भन्ने आत्मविश्वास बढाएर कोरोनालाई जितियो। म त भन्छु, कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई अस्पतालभन्दा सुुरक्षित मापदण्डका साथ घरमै बस्ने ब्यवस्था गर्न सकिएको खण्डमा यसबाट चाँडै सफलता पाउन गर्न सकिन्छ। यो तथ्य विस्तारै विकसित हुन थालेको पनि छ।

कोरोनाको उपचार गरिरहँदा घरपरिवारलाई समाजले कसरी सहयोग गर्नुपर्छ?

कुनै प्रकारको लक्षणबिना नै पोजेटिभ रिपोर्ट आएपछि व्यक्ति आफू आश्चर्यमा पर्नु त स्वाभाविक नै हो। कोरोना भाइरस जो कोहीलाई पनि लाग्न सक्छ। यसले धनी, गरिब र भूगोल हेरेर संक्रमण गर्दैन भन्ने कुरा आत्मसाथ गरेर संक्रमित व्यक्तिको घरपरिवार र स्वयं आफूलाई गर्ने छिःछिः दुरदुरको व्यवहारमा जनचेतना माध्यमले हटाउँदै लैजान सकियो भने थप रोगप्रति जागरणको विस्तार हुनुका साथै नियन्त्रणका उपाय अवलम्बनमा थप विस्तार आउने कुरासमेत नकार्न सकिन्न।

संक्रमण कसैले चाहेर ल्याउने कुरा होइन। यो जो कोहीलाई पनि हुनसक्छ भन्ने कुरा आत्मसाथ गरेर यसबाट जोगिन शारीरिक र सामाजिक दूरी बढाउनुपर्छ । पन्जा, माक्स, नियमित साबुनपानीले हात धुने र बारम्बार सेनिटाइजरको प्रयोग गर्ने, अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने बानीलाई दिनचर्या बनाउन सकेको खण्डमा कोरोना संक्रमणबाट बच्न सकिन्छ।

वीरगन्ज खुला सीमा भएको हुनाले त्यसको कारण दैनिक रूपमा हजारौंको संख्यामा आवतजावत हुने कुरा आत्मसाथ गरेर यसको प्रभावकारी रूपमा नियन्त्रणको उपाय अवलम्बन गर्न समेत जरुरी छ। संक्रमण देखा परेपछि आफ्नै पेशाकर्मी साथीहरूले समेत गर्ने व्यवहार र समूहगत रूपमा भाइरसका संक्रमण गरायो भन्ने अनेक खालका आक्षेपका कारण त झन् कति मानसिक तनाव सिर्जना भयो होला त्यसको अनुमान लगाउन सकिन्न।

तपाई रिपोर्ट आउन बाँकी रहँदा पर्साका पत्रकारहरूको आन्दोलनको नेतृत्व गरिरहनुभएको थियो, तपाई संक्रमित भइसकेपछि अरुले कसरी लिए?

आफैं कोरोना संक्रमित भएर आइसोलेसनमा बसेपछि घरपरिवार, नियमित रूपमा सम्पर्कमा रहेका, आफूद्वारा सञ्चालित रेडियो, पत्रिका र अनलाइनमा कार्यरत सञ्चारकर्मी एवं कर्मचारीको टेस्टिङ पछि सबैको रिपोर्ट नआउन्जेलसम्म अवस्थाबारेमा त कल्पना समेत गर्न सकिनँ।

अझ सञ्चारकर्मीलाई स्थानीय प्रहरीले गरेको अभद्र व्यवहारको कारण उत्पन्न परिस्थितिले त सबै सञ्चारकर्मी आन्दोलित भएका बेला उनीहरूको समेत रिपोर्ट के आउने हो भन्ने कुराले आत्मबल कमजोर बनेको भए पनि जस्तोसुकै परिस्थिति सामना गर्नैपर्छ भन्ने मनोबल भने कमी आउन दिनु हुन्नथ्यो । त्यसलाई अक्षरशः पालना गरेर हिँडनुको विकल्प पनि थिएन। जब आफ्नो घरपरिवारका श्रीमती, दुवै छोरा, आफन्तसहित झन्डै १ सय ३० भन्दा बढी सञ्चारकर्मी, आफ्नो रेडियो र पत्रिकामा कार्यरत २३ पत्रकार तथा कर्मचारीको कोरोना परीक्षणको रिपोर्टको नेगेटिभ आयो। त्यसपछि ९५ प्रतिशत तनावमुक्त हुनु स्वाभाविक थियो।

अझ सबै पत्रकारलाई कोरोना संक्रमण गरायो, पूरै पर्सा यो संक्रमणको कारण भनेको नै पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा बन्यो । यसलाई जतिसुकै ठूलो सजाय दिए पनि कमै हुन्छ’ भन्ने खालको अभिव्यक्ति दिनेको मुखमा समेत कालो पोतियो।

आफ्ना कारण कोही पनि संक्रमित बन्लान् र जिन्दगीमा नै नमेटिने कंलकको टीका लाग्ला कि भन्ने त्रासबाट मुक्त भएपछि आफ्नो आत्मबल झन बढ्न थाल्यो । अब भने यो संक्रमण केही होइन सतर्कता अपनाउन सकियो खण्डमा स्वतः नै जित्न सकिन्छ र सामान्य जीवनमा फर्कन सकिन्छ भन्ने आत्मविश्वास बढेर आयो । हाल नियमित काममा फर्कने अवसरसमेत जुटेको छ ।

तपाई कोरोना जितेर आउनुभयो। अब कस्तो सावधानी अपनाउनु हुन्छ अनि के सुझाव दिनुहुन्छ ?

संक्रमण कसैले चाहेर ल्याउने कुरा होइन। यो जो कोहीलाई पनि हुनसक्छ भन्ने कुरा आत्मसाथ गरेर यसबाट जोगिन शारीरिक र सामाजिक दूरी बढाउनुपर्छ । पन्जा, माक्स, नियमित साबुनपानीले हात धुने र बारम्बार सेनिटाइजरको प्रयोग गर्ने, अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने बानीलाई दिनचर्या बनाउन सकेको खण्डमा कोरोना संक्रमणबाट बच्न सकिन्छ।

जो कोहीले यसबाट जित प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई भने कडाइसाथ पालना गर्न जरुरी छ। यसो गरेको खण्डमा आफू पनि सुरक्षित रहन सकिने र घरपरिवारसहित सिंगो समाजलाई समेत संक्रमणबाट जोगाउन सकिने भएकाले यो कडाइसाथ पालना गर्न सकिन्छ। मलाई कुनै पनि प्रकारको रोगको संक्रमण हुनै सक्दैन भन्ने गैरजिम्मेवारपन अपनाउन थालियो भने यसले अन्ततः आफैंलाई हराउने अवस्थासमेत सिर्जना हुन्छ।

आम जनस्तरबाट भने हदैसम्मको नियम पालना गरी अघि बढ्नुको विकल्प छैन। पर्याप्त मात्रामा स्वास्थ्यकर्मीको अभाव, अहिलेसम्म यसको नियन्त्रणका लागि विश्वासिलो औषधी उत्पादन हुन नसक्नु र उपचारमा समेत दक्षता अभाव महसुस भइरहेका बेला आफैं सतर्क हुनुको विकल्प छैन।

फ्रन्टलाइनमा खटिनेकर्मीमध्ये तपाई पनि एक हुनुहुन्छ? यो अवस्थामा कसरी अघि बढ्नुपर्छ?

फ्रन्टलाइनमा पल–पलको खबर दिइरहने सञ्चारकर्मीका लागि त यो संक्रमणबाट आफू पनि बच्ने र सिंगो समाजलाई बचाउनुपर्ने चुनौती छन् । यसलाई पालना गरेर भाइरसको संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले बारम्बार जारी गरेका जन चेतनामूलक सूचना जनस्तरसम्म लग्ने र त्यसबाट सिंगो मानव अस्तित्व जोगाउने दायित्व यतिबेला सञ्चारकर्मीको काँधमा आइपरेकाले अरूको मुख ताकेर नियन्त्रण उपायबारे आरोप प्रत्यारोप लगाउनुभन्दा कोही पनि असुरक्षित हुनसक्छ ।

यसका लागि जो जुन ठाउँमा बसेर पेशा र व्यवसाय गरिरहेका छन्। उनीहरू नियन्त्रणको साझा दायित्व सम्झेर भूमिका निर्वाह गर्न सकियो भने नेपालले चाँडै कोरोनामुक्त भएको अनुभूति गर्न पाउँछ।

अन्यथा भोलिका दिनमा कोरोना संक्रमणका कारण सामाजिक रूपमा विकास भएको नकारात्मक दृष्टिकोण, घरपरिवारलाई समाजले गर्ने व्यवहार, पसलमा समेत दैनिक उपभोगका लागि आवश्यक सामग्री किन्न जाँदा नदिने सामाजिक सोचको सिकार तपाई हामी जो कोही पनि बन्नसक्ने हुनाले त्यसबाट बचौं र बचाऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय