गाउँमा क्वारेन्टाइन, न परीक्षण : गाउँपालिका भन्छ- लक्षण देखिएमात्र परीक्षण गर्छौं

जेठ १२ गते काठमाडौंबाट करिब ४० जना विद्यार्थी तथा सर्वसाधारण दार्चुलाको मार्मा गाउँपालिका पुगे। राजधानीबाट गाउँपालिका पुगेका उनीहरूको न स्वास्थ्य परीक्षण गरियो न त क्वारेन्टाइनमा नै राखियो।

जेठ १० गते राति काठमाडौंबाट हिँडेका उनीहरू १२ गते साँझ गाउँपालिका पुगेका थिए। गाउँपालिकाले कोरोना भाइरसको जोखिम थाहा हुँदाहँुदै सामान्य ज्वरो परीक्षण गरेर उनीहरूलाई त्यतिबेलै घर पठायो।

उनीहरूलाई कोरोना भाइरसको संक्रमण तथा लक्षण नभएको भन्दै क्वारेन्टाइनमा समेत राखिएन। घर गएपछि पनि उनीहरूको कुनै पनि स्वास्थ्य चेकजाँच तथा परीक्षण गरिएको छैन।

….

मार्मा गाउँपालिकाका विद्यार्थी तथा सर्वसाधारणसँगै अपी हिमाल गाउँपालिकाका करिब ८४ जना पनि थिए। अपी गाउँपालिकाले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखेर अन्तिम दिन आरडिटी परीक्षण गर्दा काठमाडौंबाट गएका दुई र धनगढीबाट आएका एकजनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भयो।

आरडिटीमा पोजेटिभ देखिएकाबाहेक अन्यलाई घर पठाएर संक्रमण देखिएका तीन जनालाई आइसोलेसनमा राखियो।

‘सँगै घर आएका दुई जनाको आरडिटी गर्दा कोरोना पोजेटिभ देखिएको छ हाम्रो पनि स्वास्थ्य परीक्षण गरिनुपर्ने हो तर गरिएको छैन. भाइरसको संक्रमण छ कि भन्ने चिन्ता लाग्छ,’ मार्मा गाउँपालिका पुगेका एक युवाले गुनासो गरे।

‘गाउँपालिकाले ज्वरो नापेर भाइरसको लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनमा नराखी घर पठाउँदा हामी पनि खुसी नै थियाैं तर अहिले डर लाग्न थालेको छ,’ उनी भन्छन, ‘सँगै आएकाको र्‍ययापिड टेस्ट गर्दा भाइरस पोजेटिभ देखिएपछि हाम्रा कारण घरपरिवार र आफन्तसमेत डराएका छन्।’

उनलाई स्वास्थ्य अवस्था ठिक भए पनि भाइरसको संक्रमण छ कि भन्ने शंका लागिरहन्छ। गाउँपालिकाले किट अभाव भएको बताइरहेको छ। उनी आफैं चाहेर पनि स्वास्थ्य परीक्षण गराउन सक्ने अवस्थामा छैनन्।

जेठ २५ गते क्वारेन्टाइनको अन्तिम दिन अपी हिमालले आरडिटी गर्दा तीन जनामा भाइरसको संक्रमण पोजेटिभ देखिएपछि मार्मा गाउँपालिका सचेत भएर उनीहरूसँग सम्पर्कमा भएकाको सोधीखोजी अर्थात कन्ट्रयाक्ट ट्रेसिङ गरेर गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने हो । तर गाउँपालिकाले त्यसतर्फ चासो नदेखाएको ती युवा बताउँछन् ।

मार्मा गाउँपालिकाभित्र राजधानी तथा कैलाली कञ्चनपुरबाट करिब तीन सय स्थानीय भित्रिएका छन् । त्यसमध्ये कसैलाई पनि क्वारेन्टाइनमा राखिएन भने स्वास्थ्य परीक्षण त टाढाको कुरा भयो। गाउँपालिकाले सबैको स्वास्थ्य परीक्षण गर्नुको सट्टा लक्षण देखिए वा स्वास्थ्य समस्या भएमात्र परीक्षण गर्ने बताइरहेको छ।

‘काठमाडौं तथा कैलाली कञ्चनपुरबाट आएकामा कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले ज्वरो नापेर घर पठाएका हौं,’ मार्मा गाउँपालिकाका स्वास्थ्य सहसंयोजक चक्रसिहं धामीले भने, ‘देशभित्रैबाट आएकालाई क्वारेन्टाइनमा राख्दा भारतबाट आउनेलाई ठाउँ नहुने र आरडिटी किट अभावमा उनीहरूलाई घर पठाएका हौं । क्वारेन्टाइनकै अभाव छ।’

भारतबाट आएका करिब २ सय ५० जना क्वारेन्टाइनमा छन् । स्वदेशबाटै आएकालाई राख्दा ठाउँ अभाव हुने र भारतबाट आएकाहरू बढी जोखिममा हुने भएकाले उनीहरूलाई प्राथमिकता दिइएको धामी बताउँछन्। साथै किटको अभाव रहेको पनि उनले बताए ।

मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले काठमाडौं, कैलाली, कञ्चनपुरबाट आएकामा कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले घर पठाएको बताए।
मार्माका स्थानीयसँगै गएका अपी हिमालका स्थानीयको आरडिटी गर्दा पोजेटिभ देखिँदासमेत मार्मा गाउँपालिका सतर्क भएको छैन। उसले गाउँपालिकाभित्र आएकाको न आरडिटी गरेको छ न त कन्ट्रयाक्ट ट्रेसिड नै गरेको छ।

“काठमाडौं तथा अन्य जिल्लाबाट आएकालाई घर पठाए पनि उनीहरूको निगरानीका लागि स्वयंसेविका, वडासदस्य परिचालन गर्नुका साथै स्वास्थ्यमा केही समस्या आए तुरुन्त सम्पर्क गर्न भनेका छौं, केही समस्या आए तुरुन्त आरडिटी परीक्षण गर्छौं,’ उनले भने।

सँगै गएकाको र्‍ययापिड टेस्ट गर्दा दुई जनामा भाइरस पोजेटिभ देखिएपछि गाउँपालिका सचेत सतर्क हुनपर्नेमा केही लक्षण देखिएपछि स्वास्थ्य परीक्षण अर्थात आरडिटी गर्ने बताइरहेको छ।

गाउँपालिकामा भारतबाट आएका २ सय स्थानीयलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ। उनीहरूको स्वास्थ्य परीक्षणका लागि २ सय आरडिटी किट छुट्याएर राखेको स्वास्थ्य सहसहसंयोजक धामीले बताए।

मार्मा गाउँपालिकाले भारतबाट आएका १ सय ८९ जनालाई क्वारेन्टाइनमा राखेको छ। जसमा सल्लेधार माविमा ४२, गुल्जरको दुर्गेश्वरीमा ३३, लटीनाथ माविमा २१, अपीपथ माविमा १८, जुढेमा १८, तपोवनमा ३५, दहमा २२ जना छन्।

लकडाउनका कारण राजधानी तथा अन्य जिल्लामा भएका स्थानीय विद्यार्थी तथा श्रमिकलाई समस्या भएको भन्दै गाउँपालिकाले उनीहरूलाई घर लैजान बसको व्यवस्था गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय