कोरोना प्रकोपबारे सरकारको ध्यानाकर्षण गराउन कांग्रेसले देशविदेशमा एकैसाथ कार्यक्रम गर्ने

नेपाली कांग्रेसले कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन स्वदेश र विदेशबाट एकैसाथ कार्यक्रम गर्ने भएको छ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरेर सामाजिक दूरी कायम गर्दै कोरोना प्रकोपबाट उत्पन्न परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन असार २ गते देशविदेशमा कार्यक्रम गर्ने तय भएको जानकारी दिएका हुन्।

लकडाउन भएको ८०औं दिन पुग्दा नागरिकहरूमा संत्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्तता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बन्दै जानु आदि कार्यको विरोध स्वरुप कांग्रेस उक्त कार्यक्रम गर्न लागेको हो।

विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरू खानाको अभावमा भोकका कारण मृत्युवरण गरिसकेको र यो अवस्था भयावह हुने यथार्थताप्रति सरकार उदासिन र असंवेदनशील रहनु, भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परी आफ्नो मातृभूमिमा फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्कने वातावरण बनाउन नसक्नुले सरकार असफल भइसकेको निष्कर्ष कांग्रेसले निकालेको छ।

दिनानुदिन धरासायी बन्दै गइरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुनर्उत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याएको, रोजगारी सिर्जनाको लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याइएको तथा श्रमिक, बेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरूलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नुले सरकारको अकर्मन्यता पुष्टि भएको ठहर गरेको छ।

‘लकडाउनका कारण स्कूल कलेज बन्द भइ विद्यार्थीहरूको शैक्षिक भविष्य अन्यौल भएको बेला गम्भीर रुपमा राष्ट्रिय विमर्शका साथ ठोस दृष्टिकोण र आवश्यक कार्ययोजना निर्माण गर्न सरकार असफल हुनु, देशको यस्तो विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपाल सरकारका प्रधानमन्त्रीलाई जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेको विज्ञप्तिमा उल्लेख छ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम कांग्रेसले तय गरेको छ।

कांग्रेस संघीय संसद संसदीय दलको तर्फबाट प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने, कांग्रेसका प्रदेशसभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरूमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ।

नेपाली कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तय भएको पौडेलले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय