आरडिटी विश्वासिलो छैन, पिसिआर टेस्ट बढाऔं: राष्ट्रियसभा सदस्य देवकोटा
नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटाले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग गरेकी छिन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विनियोजित बजेटको सैद्धान्तिक बहसमा सहभागी हुँदै नेतृ देवकोटाले आरडिटी परीक्षण विश्वासिलो नभएकाले तत्काल पिसिआर परीक्षणका दायरा बढाउन माग गरेकी हुन्।
सरकारले पछिल्लो ३ महिनामा १० अर्ब रूपैयाँ खर्च गरेपनि राहत, उद्धार र उपचारको काम परिणाममुखी हुन नसकेको उनले बताइन्।
‘क्वारेन्टाइनमा स्वस्थ्य मान्छे बस्यो भने बिरामी हुने अवस्था छ, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्था हुन सकेको छैन, सरकारको ध्यान त्यतातर्फ जानै सकेको छैन,’ देवकोटाले भनिन्।
सिप र ज्ञान सिकेर आएका नेपाली नागरिकहरूको व्यवस्थापन गर्नका लागि बजेटमा गरिएको व्यवस्था अपर्याप्त रहेको नेतृ देवकोटाको धारणा छ।
निम्न वर्गका नागरिकलाई निरूत्साहित गरेर उच्च वर्गलाई प्रोत्साहित गर्ने किसिमले बजेट आएको टिप्पणी गर्दै देवकोटाले यसबाट श्रमिक, किसान र आधारभूत तहका नागरिकलाई आहत पुगेको बताइन्।