झापामा पहिलो पटक महिलामा संक्रमण, १३ पालिकामा फैलियो कोरोना

झापामा पहिलोपटक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। गौरादह नगरपालिका- ९ बैगुनधुरा २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।

केही दिन अघि भारतबाट आएकी उनी गौरादह- १ को जनता मावि क्वारेन्टाइनमा बसेकी थिइन्। गौरादहको १ र ७ मा रहेका दुईवटा क्वारेन्टाइनका ४० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

जसमा एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए। योसँगै गौरादहमा संक्रमितको संख्या ४ पुगेको छ। त्यसमध्ये ३ जना गौरादह- ९ का भएको सो वडाका वडासदस कृष्ण गौतमले बताए। वडाका तीनै जना एउटै टोलका रहेको बताइएको छ।

त्यस्तै झापाको कन्काई नगरपालिकामा पहिलोपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कन्काई नगरपालिकाको कनकाई बहुमुखी कलेजको क्वारेन्टाइनमा बसेका तीन जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले बताए। उनीहरू भारतबाट आएका थिए।

संक्रमितहरू कनकाई नगरपालिका ३ का ३५ वर्षीय, ४ का १६ र ५ का १७ वर्षीय पुरुष रहेको जनाइएको छ।

मेचीनगरमा थप एकजनाका कोरोना संक्रमण पुष्टि भएको छ। मेचीनगर– ३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। मेचीनगरमा यसअघि एक जनामा संक्रमण देखिएको थियो।

झापाका १५ मध्ये १३ वटा पालिकामा कोरोना संक्रमण फेला परेको छ। बिर्तामोड र शिवसताक्षी नगरपालिका बाहेक सबै पालिकामा संक्रमण फैलिएको छ।

बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका पाँच जनामा कोरोना संक्रमण देखिए पनि उनीहरू त्यहाँका स्थानीय भने होइनन्। एकजना पाँचथर,तीन जना ताप्लेजुङका हुन्।

अर्का एक जना बिर्तामोड -२ का हुन्। उनी आफ्नो ठेगाना लुकाएर बुद्धशान्तिको क्वारेन्टाइनमा बसेको स्वास्थ्य सम्बद्ध अधिकारीले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय