चितवनमा कन्ट्रयाक ट्रेसिङको काम तीव्र

चितवन जिल्लामा कोराना भाइरसबाट संक्रमित भएका व्यक्तिको सम्पर्कमा आएकाहरूको खोजी तीव्र पारिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा संक्रमित स्वास्थ्यकर्मी र मृतक एक व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी थालिएको हो। अहिलेसम्म २ चिकित्सक, नर्स र मृतक एक पुरुषसँग सम्पर्कमा रहेका गरी १ सय ६८ जनाको पहिचान गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए।

नारायणी अस्पतालमा कार्यरत चिकित्सकसँग सय जना बिरामीले सेवा लिएको खुल्न आएको छ। त्यस्तै मृतक पुरुषसँग ४९ जना सम्पर्क रहेको भेटिएको छ। त्यसमध्ये स्वास्थ्यकर्मी सहित २८ जना प्रत्यक्ष सम्पर्कमा रहेका छन् भने २१ जना परिवारका व्यक्तिहरू सम्पर्कमा रहेको प्रमुख तिवारीले जनाए।

अर्का चिकित्सकसँग १० जना व्यक्ति सम्पर्कमा आएको खुलेको छ भने नर्ससँग १० जना छन्। कोरोना संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई जिल्ला स्वास्थ्य कार्यालयले होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।

‘कोरोना संक्रमित व्यक्तिसँग सम्पर्क भएका व्यक्तिहरूको खोजिरहेका छौं। क्वारेन्टाइनबाहेकका तीन चिकित्सक र मृतक पुरुषका सम्पर्कमा रहेकाको ट्रेसिङ भइरहेको छ,’ प्रमुख तिवारीले भने, ‘कोरोना संक्रमित व्यक्तिलाई छुट्टै बस्न निर्देशन दिएका छौं।’ उनीहरूको १४ दिनपछि पिसिआर टेस्ट गरिनेछ।

उनले चितवनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिन लागेकाले सचेत रहन आमनागरिकलाई आग्रह गरे। चितवनमा कोरोना संक्रमण देखिएकामध्ये चारजना कुनै पनि देशबाट नआएको खुलेको छ।

सोमबार निधन संक्रमित पुरुष पनि स्वदेशमा नै रहेको बुझिएको छ भने तीनजना स्वास्थ्यकर्मी पनि चितवनकै विभिन्न अस्पतालमा कार्यरत थिए।

कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई पनि घरमै बस्न जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ। कोरोना संक्रमित नर्सको घरलाई पनि ‘सिल’ गरिएको छ। अन्य संक्रमित भने भारतबाट आएर चितवनका विभिन्न क्वारेन्टाइनमा बसेका थिए।

जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौँ गएका चिकित्सकमा कोरोना संक्रमण देखिएपछि प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरू पनि संक्रमणको जोखिममा परेका छन्।

ती चिकित्सक जेठ २३ गते प्रशासनमा आफैं अनुमतिपत्र लिन आएको जिप्रका चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी गराए। त्यसक्रममा प्रत्यक्ष रूपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग ती चिकित्सकको भेट भएको थियो।

हाल मृत्युसंस्कार र विदेश जानेका लागि अनुमतिपत्र दिनेबाहेक अन्य सेवाग्राहीको काम रोकिएको छ।

चितवनमा संक्रमित संख्या २७ पुग्यो

चितवन जिल्लामा मात्रै कोरोना संक्रमित हुनेको संख्या २७ पुगेको छ। बुधबार बिहान भरतपुर महानगरपालिका–५ र कालिका नगरपालिका–६ का पुरुषमा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमित संख्या २७ पुगेको हो।

कोरोना पोजेटिभ देखिएकामध्ये एकजनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ। भरतपुर महानगरमा १५, माडीमा ६, राप्ती नगरपालिकामा २ र स्वास्थ्यकर्मी ३, कालिका नगरपालिकामा १ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो। राप्ती नगरपालिकाका दुईजना भने निको भएर घर फर्किएका छन्।

यस्तै चितवनमा ३० जना कोरोना संक्रमितको उपचार भएको छ। उनीहरूको भरतपुर कोरोना अस्पतालमा २३ र भरतपुर अस्पतालमा ७ जनाको उपचार भइरहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए। यहाँ उपचार भएकामध्ये ६ जना बाहिरी जिल्लाका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय