भेरी अस्पतालमा बाहिरी जिल्लाका स्वाब नमुना थुप्रियो

देशभर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। एकातिर सरकारले कोरोना संक्रमण जाँचको दायरा बढाउन नसकेको आरोप खेपिरहेको छ भने अर्कोतर्फ संक्रमितलाई कसम खुवाएर घर पठाउनेदेखि लिएर आरडिटी परीक्षण तथा नयाँ मापदण्ड बनाएर लक्षण नदेखिएपछि पोजेटिभ रहेकै अवस्थामा पनि घर फर्काइरहेको छ।

आइतबार दाङको बेलझुन्डी आइसोलेसन अस्पतालबाट नरैनापुरका तीनजना कोरोना संक्रमितलाई डिस्चार्ज गरेर घर पठाएको ज्वलन्त उदाहरण छ। कोरोना संक्रमितलाई अस्पतालले घर पठाइदियो। पछि उनीहरूलाई घरबाट खोजेर ल्याएर फेरि नेपालगन्जमा आइसोलेट गरिएको छ।

कोरोना जस्तो महामारीका बेला आमनागरिकको स्वास्थ्यप्रति जिम्मेवार नबन्दा क्वारेन्टाइन र आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका व्यक्तिमा कोरोना संक्रमण देखिनुका साथै मृत्यु भइरहेको खबरसमेत बाहिर आइरहेको छ भने नागरिकमा भय, त्रास तथा सरकारप्रति असन्तुष्टि समेत देखिएको छ।

कोरोना भाइरस संक्रमितको सही समयमा पहिचान हुन नसक्नु, सबैको परीक्षण नगरिनु लगायतको सरकारको गैरजिम्मेवार रबैयाका कारण आम नागरिक कोरोनाको जोखिममा परेका छन्। अझ सरकारको लाचरीपन, गैरजिम्मेवारी तथा फोहोरी कार्यले त मृत्यु भइसकेको थुप्रै दिनपछि कोरोना संक्रमित पुष्टि हुनुले पनि नेपालमा कोरोनाको महामारीले अनिष्ट ल्याउन सक्ने आशंका बढ्दै गएको छ।

कोरोना भाइरस संक्रमण पुष्टि गर्न सरकारले देशभरका विभिन्न स्थानमा कोरोना जाँच केन्द्र स्थापना गरेर काम गरिरहेको छ। तर, सीमित स्रोत साधन तथा जनशक्तिका कारण कोरोना जाँचको कार्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेको छैन। सरकारको यस्तो रबैयालाई हेर्दा जनताको पीर नभई सत्ता बचाउने र सम्पत्ति लुट्नेबाहेक अरु केही नभएको प्रस्ट हुन्छ।

बाँकेको भेरी अस्पतालमा रहेको कोरोना संक्रमण जाँच केन्द्रमा यतिबेला परीक्षणका लागि आएको स्वाबको नमुना चाङले त्यस्तै पुष्टि गरेको छ। भेरी अस्पतालमा रहेको उक्त कोरोना जाँच केन्द्रले बाँकेको मात्र नभई आसपासका जिल्लाबाट आउने नमुनालाई समेत परीक्षण गर्ने गर्छ।

एक दिनमा बढीमा एक सय जनाको कोरोना नमुना परीक्षण गर्नसक्ने क्षमता रहेकोे नेपालगन्ज भेरी अस्पतालको कोरोना ल्याबले स्रोत साधन, परीक्षण किट तथा जनशक्ति अभावका कारण त्यो आँकडामा परीक्षण नभइरहेको प्रस्ट छ। यस्तो अवस्थामा बाँकेको मात्र होइन अन्य जिल्लाबाट आएका कोरोनाको नमुनाको परीक्षण हुन सकिरहेको छैन।

बाँकेको भेरी अस्पतालमा परीक्षण हुन आएका कोरोनाको नमुनाको चाङले ‘मेरो पालो कहिले आँउछ’ भन्दै कुरेर बसेको प्रस्ट छ। कोरोना संक्रमण जाँचका लागि बाहिरी जिल्लाबाट धेरै मात्रामा नमुना आउँदा बाँकेका नमुना परीक्षणसमेत प्रभावित बनेको छ।

बाहिरी जिल्लाबाट दैनिक रूपमा धेरै स्याम्पल आउँदा भेरी अस्पताल पिसिआर युनिटलाई काम गर्न गाह्रो भएको र कामको अत्यधिक भारका कारण बाँके जिल्लाका स्याम्पलको परीक्षणसमेत समयमै गर्न असहज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन्।

उनका अनुसार कोरोना जाँचका लागि आएका सबै स्याम्पललाई जतिसक्दो छिटो पालो मिलाएर जाँच गरिरहेका छौं। तर, पर्याप्त मात्रामा साधनस्रोत तथा अन्य स्वास्थ्य सामग्री अभावका कारण परीक्षण कार्य तीव्र हुन सकेको छैन।

भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले भन्छन्, ‘बाँके र बर्दियाका स्याम्पलको मात्र काम गर्न पाए भने पनि परिणाम दिन सहज हुन्थ्यो। तर, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लाबाट पनि दिनहुँ ठूलो मात्रामा नमुना परीक्षणका लागि स्याम्पल आइरहेका छन् यसले गर्दा कार्यभार बढेको छ। छिटो रिपोर्ट दिन गाह्रो भइरहेको छ।’

उनका अनुसार स्वास्थ्य सुरक्षा अपनाएर यतिबेला भेरी अस्पतालको पिसिआर मेसिनबाट चौबिसै घण्टा दुई सिफ्टमा परीक्षण भइरहेको छ। परीक्षण गर्दा नमुना नेगेटिभ आएको खण्डमा परीक्षणको दर बढ्छ। तर, पोजेटिभ देखिएमा समय बढी लाग्छ।

अझ पनि बाँकेका विभिन्न पालिकामा बनाइएका क्वारेन्टाइनमा रहेका थुप्रै मानिसको कोरोना जाँच हुन बाँकी नै रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय