‘कोरोना नियन्त्रणमा प्रदेश दुई सरकार गम्भीर भएन’

प्रदेश सरकारले आगामी वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी दलका साथै सत्तारुढ दलका सांसदसमेत असन्तुष्ट देखिएका छन्।

मुलुक कोरोनासँग जुधिरहेको बेला प्रदेश सरकारले महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखेर नीति तथा कार्यक्रममा अन्य कुरा राखेर पाना भर्ने काममात्र गरेको उनीहरूले आरोप लगाएका छन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका थिए।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले कोरोना महामारी नियन्त्रण र रोकथामलाई प्राथमिकतामा राखेर सरकारको नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरेका छन्। नीति तथा कार्यक्रमअनुसार बजेट आउने भएकोले आगामी बजेटमा पनि सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र नपर्ने निश्चित भइसकेको उनले बताएका छन्।

‘कोरोना संक्रमितको संख्या प्रदेश २ मा सबैभन्दा उच्च छ, क्वारेन्टाइन र आइसोलेसनको अवस्था लथालिङछ,’ उनले भने,‘पीसीआर परीक्षण चाहिए जत्ति हुनसकेको छैन्। तर, सरकारको ध्यान कोरोनाभन्दा अन्यतर्फ देखिएको छ।’

प्रमुख प्रतिपक्षी दल नेकपाका प्रदेशसभा सदस्य शत्रुध्न महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम समय सान्दर्भिक नरहेको बताएका छन्।

‘अहिले कोरोना नियन्त्रण प्राथमिकतामा पर्नुपर्दथ्यो, तर सरकारले नीति तथा कार्यक्रममा भएभरका संसारका सबै कुरा समावेश गरेको छ,’ उनले भने,‘परम्परा पूरा गर्न ल्याए जस्तो देखियो।’

सरकारले नीति तथा कार्यक्रम परिमार्जन नगरे पारित गर्न आफूहरूले सहयोग नगर्ने प्रदेश सांसद महतोले बताए। पाना भर्ने गरी सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार पैसा विनियोजन गर्ने हो भने एउटा कार्यक्रमले एक हजार रुपैयाँपनि नपाउने उनको दाबी छ।

प्रतिपक्षी दलका साथै सत्तापक्षधर प्रदेशसभा सदस्यसमेत सरकारको नीति तथा कार्यक्रमबाट सन्तुष्ट देखिएका छैनन्। जनता समाजवादी पार्टी (तत्कालीन राजपा) का प्रदेशसभा सदस्य मनिष सुमनले सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बताएका छन्।

सुमनले पनि सरकारले कोभिड–१९ लाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउन नसकेको बताए। सरकारको प्रचारमूखी कार्यक्रममा विश्वास गर्न नसकिने उनको भनाइ छ। कोरोनाका कारण प्रदेश नै अस्तव्यस्त बनिसकेको अवस्थामा सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्न नसक्नु दुःखद रहेको सुमन बताउँछन्।

‘प्रदेश सरकारले पछिल्लो नीति तथा कार्यक्रममा पनि ठुला अस्पताल बनाइने भनेको थियो, यसपटक पनि उस्तै कुरा दोहराएको छ,’ सुमन भन्छन्,‘पछिल्लो पटक भने जस्तो अस्पतालहरू कहाँ बनेको छ, प्रदेश सरकारले देखाइदिनु प-यो।’ आश्वासनमात्रै बाँड्दै हिंड्ने सरकारले यस वर्षपनि केही गर्ला जस्तो नलागेको उनको जिकिर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय