‘संक्रमित छौं’ भन्ने खबर पाउँदा पनि बिरामी जाँच्दै थिए चिकित्सक

भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालको ओपिडी वार्डमा सोमबार दिउँसो बिरामीको बाक्लै उपस्थिति थियो।

एउटा कोठामा एक चिकित्सकले नियमित बिरामीको जाँच गरिरहेका थिए। ती बिरामी जाँच गर्दागर्दै उनलाई भरतपुर अस्पतालबाट डा. कल्याण सापकोटाको फोन आयो।

बिरामी जाँच गर्दा ती चिकित्सकले फोन उठाए। त्यो फोन उनी र आम बिरामीका लागि शुभ सन्देश थिएन। ‘तपाईलाई कोरोना संक्रमण भएको अपुष्ट सूचना आएको छ। तपाई छुट्टै बस्नुस्।’

डा.सापकोटाले भनेको कुरालाई उद्धृत गर्दै कोरोना संक्रमित चिकित्सकले भने, ‘त्यसपछि एक्कासि बिरामी जाँच गर्न छाडेर कोठामा आएँ।’

त्यसपछि आधिकारिक रूपमा नै उनलाई कोरोना संक्रमण भएको सम्बन्धित व्यक्तिले जानकारी दिएका थिए।

नारायणी सामुदायिक अस्पतालमा उनले नियमित बिरामी जाँच गरिरहेका थिए। लकडाउनपछि चितवनमै रहेको घरबाहेक अन्यत्र नगएको उनले बताए। कोरोना भाइरसको संक्रमण कसरी आफूमा स-यो भन्ने उनी आफैंलाई थाहा छैन।

‘अस्पतालमा नियमित रूपमा नै बिरामी जाँच्ने गरेको थिएँ। यहाँ बारा पर्साका बिरामी पनि आउने गर्दथ्यो।’

संक्रमित चिकित्सकले भने, ‘उनीहरूबाट स-यो कि भन्ने शंका चाहिँ छ। तर यही हो भन्न सक्दिनँ।’

नारायणी सामुदायिक अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिबाट भने कोरोना नसरेकोमा उनी ढुक्क छन्। ती बिरामीसँग उनी त्यसरी सम्पर्कमा आएका थिएनन्। तर, कोराना बिरामी जाँच गर्दा नै सरेको हुनसक्ने उनले बताए।

उनी कोरोना पुष्टि भएको अघिल्लो दिन घरमा गएर आएका थिए। यस विषयमा परिवारलाई पनि जानकारी गराएको उनले बताए। सुरक्षाकर्मीलाई पनि यस विषयमा जानकारी गराएका छन्। उनको घरलाई अहिले प्रहरीले सिल गरेको छ। उनी भने भरतपुरमा भाडामा लिएको फ्ल्याटमा एक्लै बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।

‘म ठिक छु। अहिलेसम्म कुनै समस्या देखिएको छैन,’ उनले भने, ‘अहिले आराम गरेको छु।’

ती चिकित्सकले कोराना संक्रमित बिरामीलाई नआत्तिन र आत्मबल बलियो बनाउन सुझाएका छन्।

सोमबार उनीसहित चितवनमा तीन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो। एकजना चिकित्सक स्वाब दिएर काठमाडौं नै गएको खुलेको छ। एकजना नर्स रहेकी छन्। सोमबार मात्रै चितवनमा ३० जनाको कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसमध्ये एकजनाको मंगलबार बिहान मृत्यु भएको छ।

शव व्यवस्थापनको जिम्मा सेनालाई

चितवनमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ। मंगलबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका भरतपुर महानगरपालिका–११ का ६८ वर्षे पुरुषको धार्मिक विधिअनुसार परिवारको सहयोगमा नेपाली सेनाले शव व्यवस्थापन गर्ने भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उनको केही समयपछिसेनाले शव व्यवस्थापन गर्नेछ।

अहिले भरतपुर अस्पतालमा रहेको शव व्यवस्थापनका लागि सेनाले तयारी गरेको शर्माले जानकारी गराए।

जिल्ला विपत् व्यवस्थापन समितिले कोरोनाबाट मृत्यु भएका व्यक्तिको धार्मिक परम्पराअनुसार सेनाले शव व्यवस्थापन गर्ने निर्णय गरेको छ। त्यसमा क्षेत्र पनि तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी बताए। कोरोनाबाट मृत्यु भएकाको शव नारायणी किनारमा व्यवस्थापन गरिनेछ। धार्मिक पराम्पराअनुसार जलाउन र गाड्न मिल्ने गरी कार्यविधि बनाइएको उनले बताए।

नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका गुरुङ समुदायका व्यक्तिको मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय