व्यापारी आफूखुसी पसल खोल्दै, प्रहरी बन्द गराउँदै

व्यापारीले आफूखुसी पसल खोल्न थालेपछि प्रहरीले लकडाउनमा थप कडाई गरेको छ।

लकडाउनको समय लम्बिँदै जाँदा न्युरोड लगायतका अन्य स्थानका व्यापारीले पसल खोल्न थालेका छन्। मंगलबार बिहान पसल बन्द गराउन गएका प्रहरी र व्यापारीबिच न्युरोडमा केहि विवादसमेत भएको थियो।

यसरी व्यापारीले पसल खोल्न पाउनुपर्नेभन्दै पसल खोलिरहेका छन् भने सरकारको आदेशबिना पसल खोल्न नपाइँने भन्दै प्रहरी बन्द गराउन लागिपरिरहेको छ।

जेठ २२ गते उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुखले लकडाउन खुकुलो बनाउन आफूहरूले सरकारसँग समन्वय गरी निश्चित समयमा पसल खोल्न आग्रह गर्ने बताएपनि अहिलेसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन।

‘व्यापारीको गुनासो सुनेर लकडाउन केहि खुकुलो बनाई उनीहरूको सहजीकरणका लागि सरकारसँग समन्वय गर्छौं भनेका हौं, प्रशासनले पसल खोल्न तथा लकडाउन खुकुलो भयो भनेको छैन्’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने,‘लकडाउन खुकुलो बनाउने खोल्ने अधिकार सरकारसँग छ। सरकारले आदेशविना न लकडाउन खुल्छ न आफूखुशी पसल।’

अति आवश्यक बाहेक अन्य पसल बन्द रहने प्रस्टसँग उल्लेख भएपनि सर्वसाधारणले आफूखुशी पसल खोलिरहेको दाहालले बताएका छन्। सरकारको आदेशबिना लकडाउन नखुल्ने र लकडाउन महामारी नियन्त्रण तथा सबैको स्वास्थ्यका लागि गरिएको भन्दै उनले सबैले सरकारको निर्णय मान्नुपर्ने बताए।

प्रहरीले कोरोना भाइरसको जोखिम नघटेको र लकडाउनका सम्बन्धमा सरकारले मोडालिटी परिवर्तन नगरेको भन्दै व्यापारीलाई पसल बन्द गर्न आग्रह गरि लकडाउनमा कडाई गरिरहेको छ।

‘बिहान बेलुका अतिआवश्यक बस्तु पाइने पसलहरू खोल्न दिएका छौं, तर दिनभर आफूखुसी पसल खोल्न थालेपछि कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले तोकेको समयभन्दा बाहेक बन्द गर्न आग्रह गरिरहेका छौं’, नेपाल प्रहरीका प्रवक्ता डिआएजी निरज बहादुर शाहीले भने,‘सरकारले लकडाउनको मोडालिटि परिवर्तन नगरिकनै व्यापारीहरू आफूखुसी पसल खोल्न थालेपछि बन्द गराउन लागेका हौं।’

सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरेसम्म लकडाउनमा कडाई गरिने शाहीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय