बाँकेमा कोरोना संक्रमित थपिँदै जाँदा क्यान्सरका बिरामी मर्कामा

बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सेवा लिन आउने क्यान्सरका बिरामीहरू मर्कामा परेका छन्।

प्रदेश सरकारको निर्देशनमा अस्पतालमा कोराना संक्रमितको उपचार सुरु गरिएको थियो। संक्रमित संख्या थप राख्दै गएपछि क्यान्सरका बिरामीले सेवा नै नपाउने अवस्था आएको छ।

अस्पतालको पहिलो र दोस्रो तलामा कोभिडका बिरामी राखिएको छ। तर, बिरामीको चाप बढेसँगै भूइँतलामा पनि संक्रमित राख्न माग आउन थालेको अस्पतालका निर्देशक डा. विश्वराज पौडेलले बताए।

भूइँतलामा हाल ल्याब र एक्स–रे मेसिन राखिएको छ भने क्यान्सरका बिरामीलाई अर्को भवनमा राखेर सेवा सुचारु भएको छ।

‘भेरी अस्पतालले व्यवस्थापन गर्ने गरी हामीले केही ठाउँ उपलब्ध गराएका थियौं। केही समयका लागि कोभिड संक्रमित राख्ने निर्णय भएको थियो,’ डा. पौडेलले भने,
‘संक्रमित थप्दै गएपछि क्यान्सरका बिरामीलाई सेवा नै दिन नसक्ने अवस्था आएको छ।’

सरकारले अर्को विकल्प सोच्नुपरेको बेला आएको उनको भनाइ छ। अस्पतालले क्यान्सरका बिरामीलाई निरन्तर सेवा प्रदान गरिरहेको छ। लकडाउन सुरु भएदेखि दुई सयभन्दा बिरामीले किमोथेरापी सेवा लिएको अस्पतालको तथ्यांक छ।

अरु बेला दैनिक ५० भन्दा बढीले सेवा लिने गरेकोमा हाल २० देखि ३० जनाले सेवा लिने गरेको निर्देशक डा. पौडेलले जानकारी दिए।

कोभिडका बिरामीलाई मध्यजर मात्र गरेर क्यान्सरका बिरामीको सेवामा अवरुद्ध हुन नहुने उनको भनाइ छ। ‘हिजोका दिनमा ४० बेडभन्दा बढी दिन सक्दनौं भनेर ठाउँ
उपलब्ध गराइएको थियो। संक्रमित संख्या थपिँदै जाँदा क्यान्सरका बिरामीले सेवा नपाउने निश्चित छ,’ उनले भने, ‘त्यसैले सरकारले अब केही विकल्पबारे सोच्नुपर्छ।’

कोभिडका बिरामीमा राखेपछि क्यान्सरका सेवा लिन पाउने बिरामीको संख्यामा पनि घटेको अस्पतालको तथ्यांक छ।

अस्पतालको भूइँतलामा भएको ल्याब, एक्स–रे, फार्मेसीमा सेवा लिनेलाई असर परिरहेको डा. पौडेलले बताए।

भेन्टिलेटर तथा आइसियू बेड तयार गर्नका भेरी अस्पतालका व्यवस्थापन टिमले दबाब दिइरहेको छ। तर, संघले जारी गरेको निर्देशिकामा हेर्दा यस अस्पताल लेभल १ को अस्पतालमा आइसोलेसनका बिरामी मात्र राखिन्छ। सरकारले लेभल २ अर्थात आइसियू तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामी प्रत्येक प्रदेशमा एक–एक वटा तोकिएको छ। जसअनुसार प्रदेश ५ मा बुटवल अस्पतालमा तोकिएको छ।

स्रोत र साधन उपलब्ध नभई आफूले आइसियू तथा भेन्टिलेटरको सेवा दिन नसकिएको उनको भनाइ छ।

देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दीर्घकालीन रूरुपमा सरकारले अन्य विकल्प गर्दा क्यान्सरका बिरामीले सहजमा रूपमा सेवा पाउने पौडेलले बताए।

अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि पश्चिम नेपालका प्रदेश ५ कर्णाली, सुदूरपश्चिम प्रदेशका क्यान्सर रोगीले सेवा लिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय