‘अस्पतालले जबरजस्ती हटाएपछि यसरी आत्मदाहको अवस्थामा पुगे सिद्धार्थ’

साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीका लागि सधैंको मिरमिरे चिन्ताको भारी बोकेर आउँथ्यो।

गरिबीले थिचिएका सिद्धार्थ केही दिनअघिसम्म अछामस्थित बयालपाटा अस्पतालमा दिनभर सरसफाइको काममा होमिरहेका भेटिन्थे।

दिनभर अस्पतालका रूम, बेड र झ्यालढोका पुछेर आफ्नो हड्डी खियाएरै परिवार पालिरहेका थिए।

तर, जेठ १२ गते अस्पतालले खर्च थेग्न नसक्ने भन्दै उनीलगायत ३३ कर्मचारीलाई जागिरबाट निकालिदियो।

कोरोना कहरबीच जारी लकडाउनमा दैनिकीको जोहो गर्न नै हम्मेहम्मे परेको अवस्थामा भएको सानो जागिर पनि गएपछि सिद्धार्थमा चिन्ताको सीमा नै रहेन।

घरमा निन्याउरा लालाबाला र श्रीमतीको मुखमा भात कसरी पार्ने भन्ने चिन्ताले उनलाई झनै सताउन थाल्यो।

लकडाउनले सबै काम बन्द छ। अन्त कतै काम गर्न जाने अवस्था पनि छैन।

यस्तो अवस्थामा के नर्गे के नगर्ने भन्दै दुई सन्तानका पिता सिद्धार्थ जेठ १२ गतेयताका १७ दिन तनावमा रहेको उनका साथीभाइहरू बताउँछन्।

उनीसहित अस्पतालबाट निकालिएका ३३ जनाले जागिर थमौतीका लागि हारगुहार गर्दै विभिन्न निकाय धाए।

साँफेबगर नगरपालिकाले पनि उनीहरूमाथि साँच्चै अन्याय भएको भन्दै विज्ञप्ति नै निकाल्यो।

नगरपालिकाका मेयर कुलबहादुर कुँवरले सरोकारवाला निकायसँग कुनै छलफल नै नगरी कर्मचारी निकालिएको भन्दै विज्ञप्ति जारी गरेर आपत्ति जनाए।

‘विश्व कोरोना महामारीको चपेटामा रहेको अवस्थामा स्वास्थ्यकर्मीको निकै आवश्यकता छ। यस्तो बेला स्वास्थ्यकर्मीलाई अवकाश दिनु उत्तम मान्न सकिँदैन’, नगरको विज्ञप्तिमा भनिएको छ।

नगरपालिकाले अस्पतालमा विद्यमान आर्थिक संकट समाधानका लागि विकल्प खोज्ने वचनसमेत दिएको थियो। त्यसका लागि राष्ट्रिय स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै सरोकारवाला पक्षसँग छलफल गरेर जिल्लाभित्र र बाहिरका स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारसँग बजेट माग गर्ने विकल्प बाँकी नै थियो।

त्यसका लागि पहल गर्ने वचन नगरपालिका प्रमुखले दिएका थिए। उनले अस्पताल प्रशासनलार्ई कर्मचारीलाई सेवाबाट नहटाउन आग्रह गरेको थियो। तर अस्पताल प्रशासनले त्यो कुरा सुन्दै सुनेन।

जिल्ला समन्वय समितिले पनि कोरोनाले महामारी र स्वास्थ्यकर्मी अभाव भइरहेको अवस्थामा करार अवधि थप गर्न आग्रह गरेको थियो। सरोकारवाला निकायसँग छलफल गरी समन्वय समितिले ‘करार नवीकरण नहुने प्रक्रियालाई स्थगित’ गर्न आग्रह गरेको थियो।

उसले अस्पतालमा आर्थिक समस्या भएकाले त्यसको व्यवस्थापनका लागि सम्पूर्ण राजनीतिक दल तथा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो।

तर, अस्पताल प्रशासनले कसैको कुरा मानेन। र, ३३ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई अवकाशपत्र थमायो। अस्पताल प्रशासनले स्थानीय सरकारलगायतको साथ पाउने अवस्था छँदाछँदै जबरजस्ती सेवाबाट हटाएकै कारण सिद्धार्थ आत्मदाहको अवस्थामा पुगेको उनका सहकर्मीहरू बताउँछन्।

यस्तो छ एकजना स्वास्थ्यकर्मीलाई थमाएको पत्र

………..
एकपछि अर्को प्रतिकूलताबीच पनि वर्षौदेखि पसिना बगाएरको अस्पताल प्रशासनको मन पग्लिहाल्ला कि भन्ने आशा बाँकी थियो होला सायद। करारको अवधि पनि अझै २ महिना बाँकी नै थियो। त्यही आशाले डोहोरिएर सिद्धार्थ सोमबार बिहानै अस्पताल पुगेका थिए।

अस्पताल पुगेर उनी काम सुरु गर्दै थिए।

तर अस्पतालका पुराना सहकर्मीहरू नै उनीप्रति अप्रिय बनेर प्रस्तुत भए– ‘तिमीहरूलाई कामबाट हटाइसकेको अवस्थामा फेरि किन आएको ?’

तनाव र अनिश्चयले गलिसकेका उनले आफूलाई सम्हाल्न सकेनन् सायद। उनी सरासर अस्पतालको गेटतिर गए र आफ्नो शरीरमा आगो लगाए।

आगोले उनको शरीरको अधिकांस भाग जलेको छ। नजिकै भएका बिरामी कुरुवा र केही कर्मचारीले कपडा, स्याउलाले हानेर आगो निभाउँदासम्म उनको शरीरका लुगा सल्किसकेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लैजाने तयारी भइरहेको छ।

अस्पतालबाट हटाइएपछि आत्मदाहको प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय