खाडीमा लाखौं नेपाली संकटमा, तत्काल स्वदेश फर्किन चाहन्छन् ४० हजार

सरकारले एक सय ९४ जना नेपालीलाई शुक्रबार स्वदेश ल्यायो। यूएईबाट एक शिशुसहित १ सय ६८ जना र म्यान्मारबाट २६ जना नेपाल फर्किए।

सोमबार मात्रै थप एक जना नेपाली जापानबाट नेपाल आइपुगे। युएईको शारजाह र दुबई विमानस्थलबाट नेपाल कामदार फर्किएपनि अझै लाखौं नेपाली सरकारको साथको अपेक्षा गरेर खाडीका सेल्टरहरूमा अत्यासलाग्दो दैनिकी काटिरहेका छन्।

विभिन्न देशमा रहेका नेपाली दूताबासका अनुसार मध्यपूर्वबाट स्वदेश फिर्तीका लागि ४० हजार नेपालीले आवेदन दिएका छन्।

दूताबास तथा गैरआवासीय नेपाली संघ एनआरएनएका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषदले नेपाल फर्किन चाहने नेपालीको तथ्याङ्क संकलन गरिरहेका छन्।

गैरआवासीय नेपाली संघका अनुसार संयुक्त अरब इमिरेन्ट्स (युएई) मा १८ हजार नेपालीले स्वदेश फर्किन आफ्नो नाम टिपाएका छन्।

त्यसैगरी, कतारमा ८ हजार ४ सय, साउदी अरबमा ६ हजार ५ सय तथा मलेसियामा ६ हजार २ सय नेपाली स्वदेश फर्किने तयारीमा रहेका छन्।

ओमनमा ७ सय र बहराइनमा ३ सय जना नेपाली स्वदेश फर्किने तयारीमा छन्। खाडीबाहेक संयुक्त राज्य अमेरिका, बेलायतसहित कयौं देशमा अलपत्र नेपालीहरूले स्वदेश फर्काउन सरकारलाई अनुरोध गरिरहेका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले पहिलो चरणमा ४० हजार नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी रहेको जानकारी आएको बताए।

‘नेपाल सरकारसँग पटक–पटकको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गरेको छ, अब विदेशमा अलपत्र रहेको सबैलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइनुपर्छ,’ पन्तले भने।

संघले नेपालीहरूलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छलफल गरेको थियो।

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरूले दिएको तथ्याङ्क अनुसार झण्डै ६ लाख नेपाली विभिन्न देशमा रोजगारी गुमाएर तथा अध्ययन सकेपछि स्वदेश फर्किने तयारीमा छन्।

तर, सरकारले स्वदेश फिर्तीका लागि पहल नगर्दा उनीहरू सम्बन्धित देशमै कष्टपूर्ण अवस्थामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय