जब डा. देवकोटाले परिचय दिँदा प्रवक्ता शब्द छुटाए…

‘नमस्कार ! कोभिड १९ को दैनिक विवरण लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट म प्रवक्ता विकास देवकोटा उपस्थित छु।’

नेपालमा कोरोना भाइरसको प्रकोप सुरु भएको केही समयपछि चलाइएको नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. विकास देवकोटाले सधैंजसो दोहोर्याउने यो वाक्यमा आइतबार एउटा शब्द थिएन।

‘प्रवक्ता।’

५ लाख ५६ हजारभन्दा बढी फलोअर्स भएको मन्त्रालयको पेजबाट हुने लाइभमा ७६ दिनदेखिको नियमित एउटा शब्द छुटेको कमैले मात्रै ख्याल गरे।

‘नमस्कार ! कोभिड १९ को दैनिक अपडेट लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट उपस्थित छु,’ भनेर आइतबार उनी फटाफट अगाडि बढे।

कोभिड–१९ को लाइभ सुनिरहेका श्रोता/दर्शकले शब्द छुटेको ख्याल नपाउँदै डा. देवकोटाले अपडेटको अन्त्यतिर आफैंले सुरु गरे, ‘अब मन्त्रालयको तर्फबाट केही व्यक्तिगत जानकारी दिन चाहन्छु,।’

आमजनतामा मन्त्रालयका तर्फबाट उपस्थित हुने व्यक्ति स्वतन्त्र र सन्तुलितभन्दा सरकारको कामको तीव्र प्रशंसा र बचाऊ गर्ने चाहिन्छ भनेर नै उहाँलाई हटाइएको हो।

उनले पत्रकार सम्मेलनलगायतका विषयमा जानकारी दिँदै विभिन्न संचारमाध्यम, मन्त्रालय नेतृत्वलाई समेत धन्यवाद दिएर मात्रै आइतबार लाइभ अपडेटमा आउने आफ्नो अन्तिम दिन भएको जानकारी गराए।

देशभर कोरोना संक्रमितको संख्या थपिँदै जाँदा मन्त्रालयले महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिहरूको सरुवा सुरु गरेको छ। केही दिनअघि स्वास्थ्य विभागको महानिर्देशक, केही निर्देशकको नेतृत्व हेरफेर भएकोमा मन्त्रिस्तरीय निर्णयबाट डा. देवकोटालाई समन्वय महाशाखाबाट गुणस्तर मापन तथा नियमन महाशाखामा सरुवा गरिएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देवकोेटाले सम्हाल्दै आएको महाशाखा र प्रवक्ताको जिम्मेवारी प्रसूति गृहबाट मन्त्रालयमा तानिएका निर्देशक डा. जागेश्वर गौतमलाई दिएका छन्।

संयोग कस्तो जुरेको छ भने डा. गौतमको ठाउँमा पनि कोरोना नियन्त्रणमा सुरुमै ठूलो संख्यामा बिरामी व्यवस्थापन गरेर प्रशंसित चिकित्सक डा. संगीता मिश्रालाई कोसी अस्पतालबाट सरुवा गरेर ल्याइएको छ।

सरकारले कोरोना महामारीको त्रास र भार थपिँदै जाँदा महत्त्वपूर्ण ठाउँमा गरेको जिम्मेवारी हेरफेरका निर्णयसँगै कतै प्रशंसा त कतै आलोचना भएको छ।

मन्त्रालयका अधिकारीहरूका अनुसार मन्त्रालयका जुनसुकै महाशाखाको जिम्मेवारी दिँदा पनि इमान्दारीपूर्वक काम गर्दै आएका देवकोटाको भूमिका परिवर्तनबाट भने मन्त्रालयका अधिकारी असन्तुष्ट छन्।

मन्त्रालयका अधिकारीहरूका अनुसार डा. देवकोटाको कामभन्दा आक्रोशबिनै र सन्तुलित ढंगले बोल्ने शैलीसँग मन्त्रीका सल्लाहकारहरूले चित्त नबुझाएपछि भूमिका फेरिएको हो।

‘आमजनतामा मन्त्रालयका तर्फबाट उपस्थित हुने व्यक्ति स्वतन्त्र र सन्तुलिनभन्दा सरकारको कामको तीव्र प्रशंसा र बचाऊ गर्ने चाहिन्छ भनेर नै उहाँलाई हटाइएको हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अलि कडा स्वभाव, चेतावनी र सरकारको बचाऊ सशक्त ढंगले गर्ने मान्छे खोजिएको देखिन्छ।’

पछिल्लोपटक डा. देवकोटाको सञ्चारमाध्यममा चर्चा हुँदा केही सल्लाहकारहरूले सरकारको कामको आक्रामक रूपमा बचाऊ गर्न नसकेको भन्दै मन्त्रालयमै टिप्पणी गरेका थिए।

डा. देवकोटाले पत्रकार सम्मेलनकै क्रममा मन्त्रालयले चैत ११ देखि लाइभ प्रशारण सुरु गरेको जानकारी दिएका थिए। उनले सधैंजस्तो नरमशैलीमा, ‘आज ७६ दिन भयो सायद। लाइभ अपडेटले व्यक्तिगत मलाई धेरै कुरा सिकाएको छ’ भने, ‘ यहाँहरूले सिकाउनु भएको छ। सञ्चारकर्मीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

उनले प्रवक्ताको रूपमा व्यस्त रहँदा बेलाबेलामा फोन नउठाएको गुनासो आउने गरेको स्वीकार्दै ‘परिस्थिति त्यस्तो थियो भनेर बुझिदिन’ आग्रह गरे।

त्यसलगत्तै उनले स्वास्थ्य जनसंख्या मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको जानकारी ७६ दिनदेखि आफूलाई दैनिक लाइभमा हेरिरहेका दर्शकलाई दिएका थिए।
‘म गुणस्तर तथा नियमन महाशाखा प्रमुखको रूपमा काम गर्नेछु। यहाँहरू सँगसँगै हुनेछु,’ उनले भने।

उनले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी परोपकार प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमले सम्हाल्नु हुने र उहाँ भोलिदेखि लाइभ अपडेटमा आउनुहुन्छ जानकारी पनि गराए।

डा. देवकोटाले ‘शो दिने’ मन्त्री, सचिवदेखि लाइभ र प्रवक्ताको रूपमा साथ दिने सञ्चारमाध्यमलाई समेत धन्यवाद दिए।

उनी लाइभ अपडेट सम्हाल्ने जिम्मेवारी पाएका डा. गौतमलाई सहयोग गर्न आग्रह गरेर बिदा भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय